काठमाडौं । हलचोकस्थित एपिएफ क्लबको मैदानमा आइतबार सम्पन्न फाइनल खेलमा भारतले बंगलादेशलाई २–१ ले पराजित गर्दै सो उपाधि हात पारेको हो । यस अघि सम्पन्न दुई संस्करणमा नेपालले उपाधि जितेको थियो । तेस्रो संस्करणको उपाधि जितेसँगै भारतले साफ अन्डर–१८ च्याम्पियनसिपमा उपाधि जित्ने नयाँ टोली भएको छ ।
भारतलाई जित दिलाउन बिक्रम प्रताप सिंह र रबि बहादुर रानाले एक एक गोल गरे । बंगलादेशका एसिन अर्फातीले एक गोल फर्काए । निकै प्रतिस्पर्धात्मक बनेको फाइनल खेलको पहिलो हाफमै ३ खेलाडीले रातो कार्ड सामना गर्दैै मैदान बाहिरिएका थिए ।
सुरुआतबाट नै दबाबमा राखेको भारतले दोस्रो मिनेटमा प्रताप सिंहको गोलबाट अग्रता लिन सफल भएको थियो । खेलको २२ औं मिनेटमा भारत र बंगलादेशका एक÷एक खेलाडी झगडामा उत्रिएपछि रेफ्रिले उनीहरुलाई रातो कार्डको दर्शन गराउँदै मैदान बाहिर पठाएका थिए । भारतका गुर्किरात सिंह र बंगलादेशका मोहमद रिडोयलाई दोस्रो पहेलो कार्ड दिँदै मैदानबाट बाहिर पठाएका हुन् । पछि परेको बंगलादेशले खेलमा फर्किन आक्रामक खेल्दा ३८ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्यायो ।
अर्फातीले गोल गर्दै बंगलादेशलाई खेलमा फर्काएका थिए । बराबरी गोल फर्काएपछि खुसी मनाउने क्रममा जर्सी फुकालेपछि दोस्रो पहेलो कार्डसहित रातो कार्ड पाउँदा उनि मैदानबाट बाहिरिएका थिए । जुन बंगलादेशका लागि महंगो सावित हुन पुग्यो ।
दुई खेलाडीले रातो कार्डको सामना गर्दै मैदान बाहिरिँदा ९ खेलाडीमा सिमित बनेको बंगलादेश विरुद्ध कम खेलाडी भएको फाइदा भारतले इन्जुरी समयमा मात्र लिन सफल भयो । थपिएको समयमा भरत रानाले गोल गर्दै टोलीको जित लाई निश्चित गरे । उनको त्यो गोल सँगै भारतले उपाधि उचाल्न सफल भयो ।
प्रतियोगिता अन्तर्गत आइतबारै तेस्रो स्थानका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको प्रतिस्पर्धामा माल्दिभ्सले भुटानलाई १–० ले पराजित ग¥यो । माल्दिभ्सको जितमा इब्राहिम इमरानले ७५ औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो ।
एन्फाले सहभागित ६ टोलीलाई दुई समूहमा विभाजन लिगकम नकआउट प्रणालिमा लिग सञ्चालन गरेको थियो । प्रतियोगितामा गत अघिल्ला दुई संस्करणको उपाधि विजेता नेपाल समूह चरणबाट बाहिरिएको थियो । नेपाल समूह चरणबाटै बाहिरिएसँगै मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले राजीनामा दिएका थिए ।

