
देशैभरिका निजी तथा सरकारी शिक्षण संस्थान गत ६ महिनादेखि बन्द अवस्थामा छन् भने धेरैजसो विद्यालयहरू क्वारेन्टाइनमा परिणत भएका छन् । लामो समयदेखि कोभिडको सामना गरिरहँदा तुलनात्मक रूपमा विद्यार्थीहरूको मस्तिष्क सिथिल भएको छ ।
धेरैजसो विद्यालयले वैकल्पिक शिक्षाको नाममा अनलाइन कक्षा सञ्चालन गरेको पाइन्छ । तर यो शिक्षाप्रणाली सबैको पहुँचमा छैन भन्दै चर्काे विरोध पनि आएको देखिन्छ ।

यो अवस्थामा पनि इलामको चुलाचुली–२ मा सञ्चालित जनता माध्यमिक विद्यालयले भने विभिन्न मापदण्ड बनाई भौतिक रूपमा कक्षा सञ्चालन गर्न थालेको छ । लक्ष्मिप्रसाद बन्यारिया प्रधान अध्यापक रहनुभएको सोही विद्यालयले विद्यालय व्यवस्थापन समिति, शिअस, आमा समूह, पुर्व विद्यार्थी समाज, बुद्धिजीवी, अभिभावकका साथै शिक्षकहरूको संयुक्त बैठकले असोज ११ देखि सिकाइ सहजीकरण गर्ने निर्णय गरेको हो । उक्त बैठकले दुई सिफ्टसहितको जोर बिजोर बार लागु गर्ने तथा नियमित ज्वरो मापन गर्ने, माक्स, स्यानिटाइजर प्रयोग गर्ने र समाजिक दुरी कायम गर्ने निर्णय गरेको हो ।

बिजोर बारअन्तर्गत आइतबार, मङ्गलबार र बिहिबार र जोर बारअन्तर्गत सोमबार, बुधबार र शुक्रबार रहने छ भने १० बजेदेखि १२ः४० सम्म पहिलो सिफ्ट र १ बजेदेखि ४ः४० सम्म दोस्रो सिफ्ट रहने छ ।
शिक्षक प्रदिप लावती भन्नुहुन्छ– हामीले कोरोना भाइरसलाई बुझेर सम्पूर्ण रूपमा सचेत भएर कक्षा सञ्चालन गरेका हौँ । अब देशैभरका विद्यालय सञ्चालनमा ल्याउनुपर्दछ । विद्यालय सञ्चालन भएको दुई दिन भयो, विद्यार्थीहरू निकै उत्साहित भएको पाइएको छु ।