तौलिहवा । कपिलवस्तु जिल्लाका क्रियाशील विद्यार्थी सङ्गठनहरू चालु वर्षको शैक्षिकसत्र खेर नफाल्ने प क्षमा देखिएका छन् । त्यसका लागि उनीहरूले शैक्षिकसत्र खेर नजाने गरी पठनपाठन सञ्चालनको माग गरेका छन् ।
आइतवारजिल्लामा बसेको उनीहरूको बैठकले कोरोना सङ्क्रमण तत्काल नियन्त्रण नहुने र अझै केही समय त्यसको प्रकोप रहने अनुमान गर्दै वैकल्पिक सिकाइ प्रभावकारी नभएको अवस्थामा तथा शैक्षिकसत्र खेर जाने देखिएकाले आवश्यक स्वास्थ्य सतर्कता अपनाउँदै सबै विद्यालय, क्याम्पसको पठनपाठन सञ्चालनको वातावरण तयार गर्न अनुरोध गरेका छन् ।
कक्षा १२ तथा क्याम्पसतहका नियमित कक्षा रोकिएको, परिक्षा सञ्चालनको ठोस मापदण्ड र योजना बनाई परीक्षा सञ्चालन गर्न उनीहरूको अनुरोध छ। यस्तै, विद्यार्थी सङ्गठनहरुले कोरोनाका कारण अलपत्र परेका विद्यार्थी, गरिब तथा विपन्न मजदुरहको कोठाभाडा र राहत प्याकेज घोषणा गर्न, निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहको तलबको व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन् ।
यस्तै, निजी विद्यालय, क्याम्पसहरूले अनलाइन कक्षाको नाममा बन्दाबन्दीको समयावधिमा भौतिक रूपमा कक्षा सञ्चालन नगर्दै विद्यार्थी र अभिभावकबाट कुनै शुल्क असुल नगर्न र शुल्क असुल गर्ने विद्यालयलाई कारबाहीको पनि विद्यार्थी सङ्गठनले माग गरेका छन् । सरकारी विद्यालयले अङ्ग्रेजी माध्यममा पठनपाठनको बहानामा विद्यार्थी तथा अभिभावकबाट चर्को शुल्क असुल गर्ने कार्य भएकाले सरकारी विद्यालयले विभिन्न बहानामा यसरी असुल गरिएको शुल्क तत्काल रोक्न पनि उनीहरूले आग्रह गरेका छन् ।
यस्तै, कोरना भाइरस नियन्त्रणका लागि औषधि खरिद, क्वारेन्टिन र अन्य व्यवस्थापन भएको भनिएका अनियमित तथा भ्रष्टाचारको छानबिन तथा संलग्नलाई कारबाहीको पनि माग गरेका छन् ।
बैठकपछि जारी गरिएको प्रेसवक्तव्यमा अखिल (छैठौं) को अध्यक्ष रिषभ आचार्य, अनेरास्ववियुका संयोजक बाबुराम अर्याल, नेबिसंघका उपसभापति अनिल क्षेत्री, अखिल क्रान्तिकारी अध्यक्ष विज्ञान क्षेत्री र समाजवादी विद्यार्थी युनियनका अध्यक्ष मोहित मिस्रको हस्ताक्षर रहेको छ ।