काठमाडौं । सिन्धुलीको एक सामुदायिक विद्यालयका प्रधानअध्यापकमाथि एसईईमा कम अंक दिएको भन्दै विद्यार्थीले कुटपिट गरेका छन् ।
सुनकोसी गाउँपालिका–७ मझुवास्थित गणेश माविका प्रधानाध्यापक नेत्रबहादुर सुनुवार र अंग्रेजी विषय पढाउने शिक्षक चित्रबहादुर भण्डारीमाथि विद्यार्थीले कुटपिट गरेका हुन् ।
आइतबार विद्यार्थीले विद्यालयमै गएर शिक्षकमाथि निर्घात कुटपिट गरेका प्रहरीले जनाएको छ । कुटपिटमा संलग्न विद्यार्थी फरार छन्।
नौ जनाको समूहमा आएका विद्यार्थीमध्ये तीन जनाले शिक्षकद्वयमाथि कुटपिट गरेका प्रहरीले जनाएको छ । विद्यार्थीको कुटपिटबाट प्रधानाध्यापक सुनुवार र शिक्षक भण्डारीको नाक, मुखसहित शरीरका विभिन्न अंगमा चोट लागेको छ ।
यस वर्षको एसइईमा गणेश माविबाट छात्रछात्रा गरी ६० जना सहभागी थिए। उनीहरुमध्ये नौ जनाको रिजल्ट ‘सी’ आएको विद्यालय प्रशासनले जनाएको छ । यस वर्ष विद्यालयले पठाएको नम्बरर्क आधारमा परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थीको ग्रेड निर्धारण गरेको थियो ।
रिजल्ट ‘सी’ आएका विद्यार्थीले शिक्षकलाई कुटेका हुन् । नतिजा सी आए पनि विज्ञान विषयबाहेक अन्य विषय पढ्न पाइने भन्दा भन्दै कुरै नसुनी विद्यार्थीले आफूहरुमाथि कुटपिट गरेका पीडित शिक्षकहरुले बताएका छन् ।
कुटपिटबाट घाइते शिक्षकको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । फरार विद्यार्थीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।