काठमाडौँ । बिनू केसी ‘खुसी’ को स्मृतिदिवसको अवसरमा स्मृतिग्रन्थ लोकार्पण गरिएको छ ।
स्मृतिशेष बिनूकी ससुरासमेत रहनुभएका नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहको प्रमुख आतिथ्यमा २०८३ मङ्सिर ९ गते बुढानीलकण्ठमा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा स्मृतिग्रन्थको लोकार्पण महामन्त्री सिंहले गर्नुभएको थियो । त्यससँगै सङ्क्षिप्त मन्तव्य राख्दै उहाँले आफै क्यान्सरपीडित भएर पनि बिनूले समाजसेवा गरेको बताउनुभयो । 
कैयौँ विकसित देशहरूले स्वास्थ्योपचारलाई नि:शुल्क बनाइसकेको सन्दर्भ प्रस्तुत गर्दै उहाँले नेपालमा अन्य खर्च कटौती गरेर भए पनि स्वास्थ्य सेवा सुलभ बनाउन सरकारले ध्यान दिनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
स्मृतिग्रन्थप्रति आफ्नो धारणा राख्दै डा. कौशिला रिसालले वैचारिक हिसाबले वामपन्थी र साहित्यिक चरित्रका हिसाबले प्रगतिशील बिनूका रचना सबैका लागि प्रेरणादायक भएको दाबी गर्नुभयो ।

बिनूमा सकेसम्म पीडा नदेखाउने स्वभाव रहेको बताउँदै उहाँले दुई सय २४ पृष्ठको उक्त पुस्तक पठनीय बनेको बताउनुभयो ।
कार्यक्रममा मन्तव्य राख्दै बिनूकी ज्वाइँसमेत रहनुभएका राजमो महासचिव मनोज भट्टले बिनूलाई व्यवहारकुशल हुनुका साथै सामाजिक सेवाभावयुक्त व्यक्तित्वको रूपमा अथ्र्याउनुभयो ।

बिनूकै कारण मोहनविक्रम सिंहको परिवारमा मसालको राजनीतिक क्रियाशीलतालाई सहजता प्रदान गर्न सम्भव रहेको उहाँको भनाइ थियो ।
नेपाल क्यान्सर सर्भाभर्स सोसाइटी आयोजक रहेको सो कार्यक्रमको अध्यक्षता सोही संस्थाका अध्यक्ष प्रमिता खनालले र सञ्चालन सचिव प्रमिता केसीले गर्नुभएको थियो ।
कार्यक्रमको पूर्वाद्र्धमा बिनूसित सम्बन्धित वृत्तचित्र प्रस्तुत गरिएको थियो । त्यससँगै रक्तिम सांस्कृतिक अभियानका महासचिव हेमराज आश्रमले श्रद्धाञ्जली गीत प्रस्तुत गर्नुभएको थियो ।
पुस्तकभित्र बिनूकी पति समीर सिंहद्वारा लिखित लेखको वाचन सञ्चालक प्रमिता केसीले गर्नुभएको थियो ।
स्मृतिशेष बिनूको १८ वर्ष लामो क्यान्सरको उपचारको क्रममा ५१ वर्षको उमेरमा गत २०८२ कात्तिक २० गते असामयिक निधन भएको थियो ।
२०५८ सालमा मङ्सिर २४ गते समीर सिंहसँग विवाह भएको निजको परिवारमा एक छोरा रहेका छन् । स्मृतिशेष बिनू सर्भाभर्स सोसाइटीकी संस्थापक कोषाध्यक्षसमेत हुनुहुन्थ्यो ।
