नयाँ दिल्ली, २३ नोभेम्बर । भारतस्थित नेपालीहरूका विभिन्न समस्या समाधान गर्न चार नेपाली संगठनले नेपाल सरकारसमक्ष सातबुँदे मागपत्र प्रस्तुत गरेका छन्।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, नेपाली समाज भारत, प्रवासी नेपाली संघ भारत र नेपाली जनसम्पर्क समिति भारतले संयुक्त रूपमा तयार पारेको उक्त संयुक्त वक्तव्य नेपालका प्रधानमन्त्रीलाई सम्बोधन गरी तयार गरिएको हो।
प्रधानमन्त्रीसँग भेट गरी ज्ञापनपत्र बुझाउने प्रयास गर्दा प्रधानमन्त्री कार्यालय तथा नेपाली राजदूतावास, नयाँ दिल्लीबाट समय उपलब्ध नगराइएपछि प्रेस वक्तव्यमार्फत ज्ञापनपत्र सार्वजनिक गरिएको जनाइएको छ ।
ज्ञापनपत्रमा नेपालको राष्ट्रिय सार्वभौमिकता, अखण्डता र राष्ट्रिय हितको संरक्षण गर्दै असंलग्न परराष्ट्र नीतिको पालना गर्न, लोकतान्त्रिक अधिकार तथा संविधानप्रदत्त मौलिक हकको रक्षा गर्न र जनविरोधी गतिविधि रोक्न माग गरिएको छ ।
त्यसैगरी, भारतमा रहेका नेपालीहरूलाई मतदानको अधिकार तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न, आधारकार्डका लागि व्यवस्था मिलाउन, दोहोरो नागरिकताका कारण उत्पन्न कानुनी समस्या समाधान गर्न र नेपाली विद्यार्थी तथा बिरामीमाथि लगाइने अतिरिक्त शुल्क तथा विभेद अन्त्य गर्न माग गरिएको छ ।
वक्तव्यमा भारतमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई रोजगारी तथा शैक्षिक प्रमाणपत्रको मान्यताका दौरानमा हुने विभेद अन्त्य गर्न पनि जोड दिइएको छ । साथै, भारतमा यात्रा गर्ने क्रममा बस, रेल तथा सीमा नाकाहरूमा नेपालीहरूले भोग्नुपरेका लुटपाट, दुर्व्यवहार र अन्य असुरक्षाका घटनाहरू रोक्न आवश्यक पहल गर्न नेपाल सरकारको ध्यानाकर्षण गराइएको छ ।
चारवटै संगठनले भारतमा रहेका नेपालीहरूको हकहित, सुरक्षा र सम्मानजनक जीवनयापन सुनिश्चित गर्न नेपाल सरकारले कूटनीतिक पहल गरी प्रस्तुत मागहरू शीघ्र सम्बोधन गर्न आग्रह गरेका छन्।

