टेकराज भुसाल
अर्घाखाँची । विद्यार्थीहरू दशैँ बिदामा छन्। तर, भूमिकास्थान नगरपालिका–३ मा रहेको अन्नपूर्ण माध्यमिक विद्यालयको टमाटर खेतीबाट उत्पादित टमाटर बिक्री गर्न विद्यालयका प्राचार्य सुवासचन्द्र बन्जाडे आफैँ बजारमा खटिनुभएको छ।
भूमिकास्थान नगरपालिकाले सञ्चालन गरेको ‘पढ्दै, कमाउँदै, रमाउँदै’ कार्यक्रमअन्तर्गत विद्यालयले उत्पादन गरेको टमाटर बिक्री गर्न थालिएको हो। शनिबार त्रयोदशीका अवसरमा मलाग्रीमा लागेको दशैँ मेलामा प्राचार्य बन्जाडे आफैँ टमाटर बिक्री गर्न व्यस्त देखिनुभएको थियो।
सामान्यतया विद्यालयमा विद्यार्थीहरूले आफूले उत्पादन गरेका टमाटर आफैँ बिक्री गर्ने गरेका छन्। तर, अहिले दशैँ बिदा परेकाले विद्यार्थीहरू घरमा रहेका बेला उत्पादित टमाटर बजारसम्म पुर्याउने र बिक्री गर्ने जिम्मेवारी प्राचार्य बन्जाडेले सम्हाल्नुभएको हो।
विद्यार्थीलाई किताबको ज्ञानमा मात्र सीमित नराखी पढाइसँगै व्यावहारिक सीप, श्रमप्रतिको सम्मान र उद्यमशीलताको भावना विकास गराउने उद्देश्यले विद्यालयले टमाटर खेती गर्दै आएको छ। यस कार्यक्रमले विद्यार्थीलाई कृषि उत्पादनदेखि बजारीकरणसम्मको अनुभव दिलाउन सहयोग पुर्याएको विद्यालयले जनाएको छ।
विद्यालयका प्राचार्य सुवासचन्द्र बन्जाडेका अनुसार गत वर्ष टमाटर खेतीबाट ६० हजार रुपैयाँ नाफा भएको थियो। उक्त रकम विद्यालयको उद्यम कोषमा जम्मा गरिएको उहाँले बताउनुभयो।

‘पढ्दै, कमाउँदै, रमाउँदै’ कार्यक्रमले विद्यार्थीलाई पढाइसँगै उत्पादनमूलक काममा जोड्ने र भविष्यमा आत्मनिर्भर बन्न प्रेरित गर्ने अपेक्षा गरिएको छ। विद्यालयमा सिकेको सीपलाई व्यवहारमा उतार्दै विद्यार्थीले उत्पादन गरेका कृषि उपज बिक्रीसमेत गर्न थालेपछि शिक्षालाई व्यावहारिक र जीवनोपयोगी बनाउने प्रयासले सार्थकता पाउँदै गएको देखिन्छ।
प्राचार्य आफैँ दशैँ मेलामा टमाटर बिक्री गर्न खटिनुले विद्यालयको उत्पादनलाई बजारसम्म पुर्याउने जिम्मेवारी शिक्षकले समेत लिने गरेको देखाएको छ। विद्यार्थीले उत्पादन गर्ने, आफैँ बिक्री गर्ने र त्यसबाट आम्दानीको अनुभव लिने यो अभ्यासले उनीहरूमा श्रमप्रतिको सम्मानसँगै व्यावसायिक सोच विकास गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
यसरी अन्नपूर्ण माध्यमिक विद्यालयले पढाइलाई कक्षाकोठाभित्र मात्र सीमित नराखी कृषि उत्पादन र बजारीकरणसँग जोडेर विद्यार्थीलाई व्यावहारिक ज्ञान तथा उद्यमशीलताको अनुभव प्रदान गर्ने प्रयास गरिरहेको छ।





