खिमराज चालिसे
चण्डीगढ, भारत । भारतको चण्डीगढबाट विगत २८ वर्षदेखि सम्पर्कविहीन रहेका काठमाडौँस्थित मूलपानीका स्थायी बासिन्दा केशव घिमिरेको खोजीका लागि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले पहल गरेको छ ।
काठमाडौँको मूलपानी स्थायी घर भएका घिमिरे सन् १९९८ मा भारतको चण्डीगढस्थित सेक्टर–१५ को स्कुटर मार्केटबाट सम्पर्कविहीन भएका थिए । वि.सं. २०३४ माघ १३ गते जन्मिएका घिमिरे हाल ४९ वर्ष पुगेको परिवारले जनाएको छ ।
केशव घिमिरे सम्पर्कविहीन भएको २८ वर्ष बितिसकेको छ । यस अवधिमा उनका बुबाआमा दुवैले संसार छाडिसकेका छन्। तर, उनका दुई भाइ र एक बहिनीले भने अझै पनि उनी फर्किने आशामा बाटो हेरिरहेका छन् ।
लामो समयदेखि परिवारसँग सम्पर्कविहीन रहेका केशवको खोजीमा परिवारले निरन्तर चासो राख्दै आएको छ। उनका मामाका छोरा दाजु ज्ञानप्रसाद लामिछानेका अनुसार केशवको प्रतीक्षामा रहेका परिवारका सदस्यका आँखा अझै पनि उनलाई सम्झँदा रसाउने गर्छन् ।
आफ्ना भाइ केशव घिमिरेको खोजीमा सहयोग गरिदिन ज्ञानप्रसाद लामिछानेले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलगायत देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूसमक्ष हार्दिक अपिल गर्नुभएको छ ।
केशव घिमिरेलाई कतै देख्नुभएमा वा उहाँका बारेमा कुनै जानकारी प्राप्त गर्नुभएमा नजिकको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
फेलापार्नुहुने महानुभावले दिदी विमला घिमिरे (नेपाल)ः +९७७ ९८५१००८४००, ज्ञानप्रसाद लामिछाने (भारत)ः +९१ ७६९६६३१७५७, सञ्चारकर्मी खिमराज चालिसेः +९१ ८९६८५०३०५० मा जानकारी दिनुहुन विनम्र अनुरोध गरिन्छ ।
केशव घिमिरेको खोजी अभियानमा सहयोग गरी लामो समयदेखि बिछोडमा रहेको परिवारसँग पुनर्मिलन गराउन योगदान पुर्याइदिन परिवारले सबैसँग आग्रह गरेको छ ।





