काठमाडौँ । नेपाली बजारमा दैनिक उपभोग्य खाद्यान्न, तरकारी तथा फलफूलको मूल्य बढ्दा सर्वसाधारणको भान्सा महँगिएको छ। गत वर्ष २०८२ असोज १ को तुलनामा यस वर्ष २०८३ असोज १ सम्म सुकेको प्याजको मूल्य १४८.६१ प्रतिशतले बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति तथा नेपाल खुद्रा व्यापार संघको मूल्यसूचीअनुसार चामल, दाल, खानेतेल, गोलभेँडा, काउली, स्याउ र केराको मूल्यसमेत बढेको छ।
गत वर्ष प्रतिकिलो ३६ रुपैयाँ रहेको सुकेको प्याजको मूल्य यस वर्ष ८९ रुपैयाँ ५० पैसा पुगेको छ। यसैगरी स्टिम जिरा मसिनो चामल प्रतिकिलो ९५ रुपैयाँबाट बढेर ११० रुपैयाँ, लङ ग्रेन बासमती चामल १७० बाट १९५ रुपैयाँ र मासको दाल २०० बाट २२० रुपैयाँ पुगेको छ।
खानेतेलमा पनि उल्लेख्य मूल्यवृद्धि भएको छ। भटमासको तेल प्रतिलिटर २४५ रुपैयाँबाट बढेर ३०० रुपैयाँ र सनफ्लावर तेल २४५ बाट ३१५ रुपैयाँ पुगेको छ। काउलीको मूल्य प्रतिकिलो ७५ बाट ११० रुपैयाँ, स्याउ ३२० बाट ३७५ रुपैयाँ र केराको मूल्य दर्जनको १३० बाट १७५ रुपैयाँ पुगेको छ। तर, चिनीको मूल्य ११० रुपैयाँमै स्थिर छ भने चिउरा र मसुरोको दालको मूल्य घटेको तथ्यांकले देखाउँछ।
अर्थशास्त्री डा. चन्द्रमणि अधिकारीका अनुसार खाद्यवस्तुको मूल्यवृद्धिले न्यून तथा मध्यम आय भएका परिवारलाई बढी असर पार्छ। आम्दानीको ठूलो हिस्सा खानपिनमै खर्च गर्नुपर्दा शिक्षा, स्वास्थ्यलगायत अन्य आवश्यकतामा खर्च गर्ने क्षमता घट्ने उनको भनाइ छ। चाडपर्वका बेला मासु, प्याज तथा अन्य खाद्यवस्तुको माग बढ्ने भएकाले मूल्यवृद्धिले उपभोग र चाडपर्व मनाउने क्षमतासमेत प्रभावित पार्ने उनले बताए।
उपभोक्तावादी प्रेमलाल महर्जनले पछिल्लो करिब छ महिनादेखि बजारमा एकपछि अर्को वस्तुको मूल्य बढिरहेको बताए। ग्यासको अभाव, कालोबजारी, बर्डफ्लुको प्रभाव तथा चामल, दाल र तेलको मूल्यवृद्धिले उपभोक्ता थप मारमा परेको उनको भनाइ छ। बजार अनुगमन र व्यवस्थापन प्रभावकारी नहुँदा तस्करी, कालोबजारी तथा बिचौलियाको प्रभाव नियन्त्रण गर्न नसकिएको उनले आरोप लगाए।
नेपाल चामल, तेल, दाल उत्पादक संघका द्वितीय उपाध्यक्ष राहुल अग्रवालले धानको मूल्य बढ्नु, आयातमा निर्भरता र पुरानो धानको मौज्दात घट्नुले चामलको मूल्यमा असर पारेको बताए। उनका अनुसार गत वर्षको तुलनामा धानको मूल्य प्रतिक्विन्टल करिब एक हजार रुपैयाँसम्म बढेको छ। नयाँ धान कात्तिकको मध्यदेखि वा मंसिरबाट बजारमा आउन थालेपछि आपूर्ति बढेर चामलको मूल्य घट्न सक्ने उनले बताए।
फलफूल तथा तरकारी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष खोमप्रसाद घिमिरेले बाढीका कारण चीनबाट हुने फलफूल आयात प्रभावित हुँदा स्याउलगायतका फलफूलको मूल्य बढेको बताए। वैकल्पिक मार्गबाट सामान ल्याउनुपर्दा आपूर्तिमा ढिलाइ भएको भए पनि नयाँ खेप नेपाल भित्रिन थालेपछि बजार सहज हुने उनको दाबी छ।
यसैबीच, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन तीव्र बनाएको जनाएको छ। विभागका निर्देशक अनिल किराँतीका अनुसार अस्वाभाविक मूल्यवृद्धि देखिएमा व्यवसायीलाई जरिवाना तथा आवश्यक निर्देशन दिने गरिएको छ। यद्यपि, सरकारले मूल्य नतोकेका वस्तुको बिक्री मूल्य निश्चित गरेर निर्देशन दिन नसकिने उनले स्पष्ट पारे।
लगातारको मूल्यवृद्धिले सर्वसाधारणको क्रयशक्तिमा दबाब बढाएको छ। विशेषगरी चाडपर्वको मुखमा दैनिक उपभोग्य वस्तु महँगिँदा न्यून तथा मध्यम आय भएका परिवारको घरायसी बजेट थप प्रभावित हुने देखिएको छ।





