नुवाकोट, १ कात्तिक । भोटेकोशी बाढीबाट विस्थापित भई नुवाकोटको विदुर नगरपालिकाका विभिन्न स्थानमा अस्थायी बसोबास गरिरहेका रसुवाको उत्तरगया गाउँपालिका–१ का बासिन्दा विषाक्त घरेलु मदिराको जोखिममा परेका छन् । विस्थापित बस्ती र आसपासका क्षेत्रमा अखाद्य वस्तु प्रयोग गरी बनाइएको अवैध मदिराको बिक्रीवितरण बढेपछि प्रहरीले नियन्त्रण अभियान चलाएको छ ।
प्रहरीले विदुर नगरपालिका–५ का चार स्थानमा रहेका विस्थापित बस्तीलाई लक्षित गरी बिक्रीवितरण भइरहेको करिब एक हजार लिटर अवैध मदिरा बरामद गरी नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक इकवाल हवारीका अनुसार मदिरा उत्पादनमा युरिया मल, चप्पल–जुत्ता, मरेका जीवजन्तुका कुहिएका सिनोलगायत अखाद्य वस्तु प्रयोग गरिएको पाइएको छ ।
बाडाचौतारो, रत्तकाली आधारभूत विद्यालय पिपलटार, माझीटार डाँडागाउँ र पोष्टबहादुर बोगटी पार्कमा करिब दुई हजार विस्थापित डेढ महिनादेखि अस्थायी रूपमा बस्दै आएका छन् ।
उत्तरगया गाउँपालिका–१ का पूर्ववडाध्यक्ष बमबहादुर तामाङले बाढीमा आफन्त र परिवारका सदस्य गुमाएर पीडामा रहेका विस्थापितलाई मनोसामाजिक परामर्श तथा उपचार आवश्यक रहेको बताए । यस्तो अवस्थामा विषाक्त मदिराको सेवन बढ्नुले उनीहरूको स्वास्थ्य र जीवनमा थप जोखिम निम्त्याएको भन्दै उनले मदिराको बिक्रीवितरण नियन्त्रण गर्न प्रहरीलाई आग्रह गरेको जानकारी दिए ।
२०७२ सालको भूकम्पपछि साविक हाकु गाविसबाट विस्थापित भई बेत्रावती नजिकैको खाल्टे क्षेत्रमा बस्दै आएका यी बासिन्दा भदौ १० गतेको भोटेकोशी बाढीपछि पुनः विस्थापित भएका हुन् । उपलब्ध विवरणअनुसार उत्तरगया गाउँपालिका–१ बाट विस्थापित ३४४ परिवारका ३१५ जनाले बाढीमा ज्यान गुमाएका छन् भने गाउँपालिका–१ का ४९५ जना मृतक वा बेपत्ताको विवरणमा समेटिएका छन् ।
विस्थापनको दोहोरो मार खेपिरहेका बासिन्दाका लागि सुरक्षित आवास, स्वास्थ्य सेवा र मनोसामाजिक सहयोगसँगै विषाक्त मदिराको उत्पादन तथा बिक्रीवितरण नियन्त्रण गर्नु थप चुनौती बनेको छ ।





