बुटवल । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गरिएकोप्रति लुम्बिनी बचाउ अभियानले आपत्ति प्रकट गरेको छ ।
स्थानीयको भावना र बौद्ध दर्शनको मर्म विपरीत आनीको नियुक्ति गरिएको भन्दै अभियानले यसमा आर्थिक पहुँचलाई प्राथमिकता दिइएकोसमेत आरोप लगाएको हो ।
मन्त्रिपरिषद्को असोज ३१ गतेको बैठकले आनीलाई कोषको उपाध्यक्ष नियुक्त गरेको थियो तर लुम्बिनी विकास कोषजस्तो संवेदनशील धार्मिक तथा सांस्कृतिक संस्थाको नेतृत्व चयन गर्दा स्थानीयको भावना, बौद्ध दर्शनको मर्म र परम्परागत प्रक्रियालाई बेवास्ता गरिएको भन्दै अभियानले असन्तुष्टि व्यक्त गरेको छ ।
अभियानका सहसंयोजक रामविकास चौधरीले आनीको नियुक्तिले लुम्बिनीवासीलाई दु:खी बनाएको दाबी गरेका छन् ।
उनले कोषको उपाध्यक्ष चयनमा बौद्ध दर्शन र स्थानीय जनभावनाभन्दा आर्थिक पहुँचलाई हाबी गराइएको आरोप पनि लगाएका छन् ।
बौद्ध दर्शनले सादगी, त्याग र सांसारिक मोहमुक्त जीवनशैलीलाई महत्त्व दिने भए पनि भिक्ष्ॉणीको सार्वजनिक जीवनशैली र सेवासुविधालाई लिएर बेलाबेलामा आलोचना हुने गरेको अभियानका अगुवाले दाबी गरे ।
नवनियुक्त आनीको नाममा विदेशबाट आएको रकमको स्रोत पारदर्शी नभएको, सम्पत्ति शुद्धीकरण र नागरिकता छानबिनमा मुछिएका विवादित व्यक्तिको नियुक्तिले संस्थाको प्रतिष्ठामा आँच आउने टिप्पणी अभियानको छ ।





