काठमाडौँ । बडादशैँको अवसरमा प्रधानमन्त्री बालेन्द्र शाहले शुभकामना दिनुभएको छ । २०८३ असोज ३१ गते सामाजिक सञ्जालमा पोस्ट राख्दै उहाँले शुभकामना दिनुभएको हो ।
यस्तो शुभकामनाको पूर्ण पाठ
आदरणीय आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरू,
तपाईंहाम्रो घरआँगनमा नेपालीको महान् चाड बडादशैँले प्रवेश गरिसकेको छ । आज सप्तमी तिथि अर्थात् फूलपाती, दशमी तिथि अर्थात् विजयादशमीको दिन टिका ग्रहण गर्ने मुख्य दिन रहे तापनि नवरात्रको सुरुवात विधिपूर्वक घटस्थापना गरेर यसअघि नै भइसकेको छ । सर्वप्रथम म यस पावन उत्सवको अवसरमा सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु । विश्वभर छरिएर रहेको नेपाली समुदायलाई एकताबद्ध गर्ने चाडका रूपमा रहेको बडादशैँले हरेक घरमा उत्सव र उमङ्ग ल्याओस् ।
नेपाली समाजमा सदियौँदेखि दशैँको विशेष महत्त्व रहिआएको छ । धार्मिक, सामाजिक तथा सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण चाडका रूपमा रहेको दशैँ एकता, आत्मीयता र भलाकुसारीको सङ्गमका रूपमा नेपालीमाझ स्थापित रहेको छ । बडाको हातबाट टिका र जमरा ग्रहण गरेर आशीर्वाद थाप्ने परम्परा सानालाई माया र ठुलालाई आदर गर्ने हाम्रो मौलिक परम्पराको प्रतिबिम्बसमेत हो ।
देशभित्रका विभिन्न स्थानबाट मात्र होइन, देशबाहिरबाट समेत आफ्नो घरआँगनमा फर्कने, आफ्ना परिवार र आत्मीयजनसँग भलाकुसारी गर्ने, खानपान गर्ने र रमाइलो गर्ने अवसरका रूपमा दशैँ युगौँदेखि परिचित छ; मानौँ : दशैँको माहोलको आकाश नै अलग हुन्छ, धर्तीको सुगन्ध छुट्टै हुन्छ अनि वातावरण त्यसैत्यसै उल्लासमय र उमङ्गले भरिपूर्ण हुन्छ । यस अवसरमा सबैभन्दा लामो सार्वजनिक बिदा छुट्याइने भएकाले पनि होला, दशैँ निस्फिक्री रमाउने चाडका रूपमा रहँदै आएको छ । ससाना बाबुनानीका लागि त झनै विद्यालय बिदा भएपछि खाने, खेल्ने र नयाँनयाँ लुगा लगाएर मामाघर जानेजस्ता फुरुङ्ग पार्ने गतिविधिले अर्कै उत्साह ल्याउने गर्दछ र त्यसले पनि वातावरणलाई थप पुलकित पार्ने गर्दछ । आर्थिक गतिविधिका हिसाबले समेत बडादशैँ नेपालीमाझ सबैभन्दा चलायमान पर्वका रूपमा रहेको छ ।
हामी नेपालीले विभिन्न विषम र सङ्कटपूर्ण परिस्थितिबाट गुज्रँदै पनि चाडपर्वका अवसरमा धार्मिक, सांस्कृतिक तथा सामाजिक मूल्यमान्यता र मौलिकताको जगेर्ना गर्दै अविच्छिन्न रूपमा चाडपर्व मनाउँदै आएका छौँ । कुनै बेला विनाशकारी भूकम्पले थलिएको अवस्थामा पनि, अनि कुनै बेला कोभिडजस्तो महामारीको बिचमा पनि दशैँ आयो र गयो । अघिल्लो वर्ष जेनजी आन्दोलन र त्यसपछिको तनावपूर्ण परिस्थितिको केही समयमै हामीमाझ दशैँ आयो । हामीले आफ्नो रीतिथिति र परम्पराअनुसार मनायौँ । यो वर्ष पनि रसुवा, नुवाकोट, गोरखालगायतका ठाउँमा भएका प्रलयकारी विनाशको शोक आलो रहँदै दशैँ आइपुगेको छ । ज्यान गुमाउनुभएकाको चिरात्माको शान्ति तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्न चाहन्छु । सिङ्गो देशका तर्फबाट शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु । सरकारले तदारुकताका साथ विस्थापित नागरिकको पुन:स्थापनातर्फ काम गरिरहेको छ भन्ने जानकारी पनि गराउन चाहन्छु ।
असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा पनि दशैँ मनाइने गरिन्छ । आसुरी प्रवृत्तिमाथि दैवी विजयको धार्मिक मान्यता बोकेको दशैँको अवसरमा म सम्पूर्ण नेपालीमा सत्यको बाटोमा हिँड्ने अभिप्रेरणा मिलोस्, सामाजिक रूपमा आसुरी प्रवृत्तिको पराजय होस् र आत्मिक रूपमा हामी हरेकले आफूभित्रको महिषासुर र रावणलाई चिन्न सकौँ तथा तिनमाथि विजय प्राप्त गर्न सकौँ भन्ने शुभभाव व्यक्त गर्न चाहन्छु । मानव दु:खका प्रमुख कारणका रूपमा रहेका काम, क्रोध, लोभ, ईष्र्या र अहङ्कारमाथि विजय प्राप्त गर्न सकौँ भन्ने शुभकामना पनि व्यक्त गर्न चाहन्छु ।
पारिवारिक मिलन र आफन्तजनको सामीप्यमा हर्षोल्लासका साथ मनाइनुपर्ने चाडपर्व हिजोआज रित्ता र उजाडिँदै गएका गाउँका घरआँगनमा निरस देखिँदै गइरहेको तितो यथार्थलाई पनि यतिबेला म स्मरण गर्न चाहन्छु । हरेक दिन बाध्यताले विदेशिनुपर्ने दाजुभाइ तथा दिदीबहिनीका पीडा र चाडपर्वका अवसरमा पारिवारिक मिलनका लागि घर फर्कने चाहना हुँदाहुँदै पनि फर्कन नपाई परदेशमा रित्तो निधार लिएर बस्न बाध्य हुनुपर्ने लाखौँ नेपाली दिदीबहिनी तथा दाजुभाइको नियति बदल्न हामी सबैको हातेमालोबाट सम्भव छ भन्नेमा दृढ विश्वास व्यक्त गर्दै सरकार देशको समृद्धि र आमनागरिकको सुखद जीविकाप्रति प्रतिबद्ध रहँदै अगाडि बढिरहेको छ भन्नेमा आश्वस्त पार्न चाहन्छु ।
आर्थिक रूपमा हरेक नागरिकको सम्पन्नताले नै चाडपर्वको रौनक अझै थपिन्छ । आर्थिक कारणले नै दशैँजस्तो महान् पर्व कसैका लागि बोझ बन्नुहुँदैन भन्नेमा हामी सचेत छौँ । आर्थिक सम्पन्नताको बाटोमा यथोचित पाइला अघि बढाउँदै देशलाई सुशासनको मार्गमा हिँडाउन वर्तमान सरकार अहोरात्र खटिरहेको जानकारी पनि गराउन चाहन्छु ।
दशैँको अन्तर्यमा रहेको सत्यको विजयलाई आत्मसात् गर्दै सत्यको बाटोमा र सुशासनको बाटोमा हिँड्न माता दुर्गाभवानीको सत्प्रेरणा र कृपा हामी सबैमा सदैव परिरहोस् भन्ने शुभेच्छासहित सबै जनामा बडादशैँको सुअवसरमा आरोग्य, सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । सभ्य र भव्य रूपमा दशैँ मनाऔँ ।
माता दुर्गाभवानीले हामी सबैको रक्षा गरुन् । सबैको जय होस् ।





