काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैँको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।
बडादशैँका अवसरमा २०८३ असोज ३१ गते शुभकामना सन्देश जारी गर्दै राष्ट्रपतिले बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक नेपालका प्रत्येक जातजातिका आआफ्नै परम्परा रहेता पनि यस पर्वले पारिवारिक मिलन, सामाजिक मेलमिलाप, क्षमा, सद्भाव र भाइचारालाई मजबुद बनाउन महत्त्वपूर्ण योगदान पुर्याएको बताउनुभयो ।
बडादशैँले भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबिचको सामाजिक एकतालाई थप सुदृढ गर्नुका साथै सांस्कृतिक एकता र पहिचानलाई अक्ष्ॉण्ण राख्न मदत पुर्याएको उहाँको भनाइ छ ।
दशैँमा पारिवारिक जमघट एवम् पुनर्मिलन भई खुसीयाली र हार्दिकता साटासाट गरिने उल्लेख गर्दै राष्ट्रपतिले पारिवारिक, समाजिक, धार्मिक, सांस्कृतिक एवम् राष्ट्रियताका हिसाबले दशैँको अत्यन्तै महत्त्व रहेको पनि बताउनुभयो ।
देशका विभिन्न भागमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गर्दै उहाँले बिपद्मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।
राष्ट्रपतिले बाढी प्रभावित व्यक्तिको पुन:स्थापनाका लागि एकताबद्ध भई अघि बढ्न सबै पक्षलाई अपिल गर्नुभएको छ ।





