काठमाडौँ । २५ वर्ष सरकारी जागिर गरेका एक जना जागिरेले यस अवधिमा काठमाडौँ र सिन्धुलीमा गरी ४७ कित्ता जग्गा खरिद गरेको पाइएको छ । उनी हुन्– नापी कार्यालय कलङ्कीका सर्वेक्षक सुबिन्द्र श्रेष्ठ । निजामती सेवाको अमिन र सर्वेक्षक पदमा रहेर उनले यति जग्गा जोडेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा सुबिन्द्र र उनकी श्रीमती कमला श्रेष्ठले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ४० कित्ता र सिन्धुलीको रतनचुरामा सात कित्ता गरी कुल ४७ कित्ता जग्गा आफ्नो कब्जामा पारेको देखिएको छ ।
नापीनक्सा र भूकारोबार पहुँचको दुरुपयोग गर्दै अस्वाभाविक सम्पत्ति जोडेको अभियोगमा अख्तियारले सुबिन्द्र र उनकी श्रीमती कमला विरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारको विस्तृत विश्लेषणअनुसार उनीहरूले जाँच अवधिभर प्राप्त गरेको वैध आम्दानीको तुलनामा चार करोड ७४ लाख ४६ हजार आठ सय १३ रुपैयाँ ४९ पैसा बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेका छन् ।
मुख्य प्रतिवादी ५५ वर्षीय सुबिन्द्र काठमाडौँ मच्छेगाउँ–७ का स्थायी बासिन्दा हुन् । उनी हाल चन्द्रागिरी नगरपालिका–११ एट्खामा बस्छन् ।
राजपत्राङ्कित प्रथम श्रेणीका सर्वेक्षक श्रेष्ठ २०५३ साउन २७ गते अमिन पदबाट ६ नम्बर नापीगोश्वारा काठमाडौँबाट निजामती सेवामा प्रवेश गरेका थिए । २०६४ माघ १ गते सर्वेक्षक पदमा बढुवा भएका उनले कैलाली, डिल्लीबजार, रसुवा, नापी विभाग तथा नापी कार्यालय कलङ्कीमा जागिर गरिसकेका छन् ।
अख्तियारले उनको सेवा प्रवेश मिति २०८१ असार २९ गतेदेखि सम्पत्ति विवरण पेस गर्दासम्मको अवधिलाई जाँच अवधि कायम गरी अनुसन्धान गरेको थियो । निजका श्रीमती ५५ वर्षीय कमलाको नाममा घरजग्गा खरिद गर्न तथा बैङ्क खातामार्फत लुकाउन र प्रयोग गर्न संलग्न पाइएकाले उनलाई पनि प्रतिवादी बनाइएको छ ।
जाँच अवधिमा श्रेष्ठ परिवारले पारिश्रमिक बचत, घरभाडा, बैङ्क ब्याज, जग्गा बिक्रीबाट प्राप्त वैध लाभ र छोरीको कमाइसमेत गरी कुल सात करोड ७५ लाख ७८ हजार आठ सय ४० रुपैयाँ वैध आम्दानी गरेको देखिन्छ तर सोही अवधिमा उनीहरूले घरजग्गा खरिद, घरनिर्माण, सवारीसाधन, अध्ययन खर्च तथा सापटी लेनदेनसमेत गरी कुल १२ करोड ५० लाख २५ हजार छ सय ५४ रुपैयाँ खर्च तथा लगानी गरेका छन् ।
यसरी वैध आयको तुलनामा उनीहरूको खर्च र लगानी घटाउँदा चार करोड ७४ लाख ४६ हजार आठ सय १३ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत खुल्न नसकेको र यो कुल व्ययको ६१।१६ प्रतिशत रकम अस्वाभाविक तथा गैरकानुनी रहेको अख्तियारले बताएको छ ।
सुबिन्द्र र निजकी पत्नी कमलाले २०६२ सालदेखि काठमाडौँको सतुङ्गल, मच्छेगाउँ, थानकोट, दहचोक, मातातीर्थ, कीर्तिपुर, बाहिरीगाउँ र बलम्बुमा विभिन्न मितिमा जग्गा खरिद गरेको देखिन्छ । त्यस्तै २०८१ सालपछि सिन्धुलीको रतनचुरामा जग्गा खरिद गरेको पाइएको छ । जग्गा खरिदबाहेक उनीहरूले आवास निर्माण र अन्य क्षेत्रमा समेत ठुलै लगानी गरेको देखिन्छ ।
श्रेष्ठ परिवारका नाममा नौओटा बैङ्कका १३ ओटा खातामा कुल १६ लाख २२ हजार चार सय ३० रुपैयाँ ८३ पैसा नगद मौज्दात रहेको छ ।
त्यस्तै सुबिन्द्रका नाममा मध्यभोटेकोशी, रसुवागढी, सान्जेन र अपर तामाकोशी हाइड्रोपावर कम्पनीको कुल २६ हजार रुपैयाँ बराबरको प्राथमिक सेयर छ ।





