काठमाडौँ । प्रगतिशील लेखक सङ्घले क्यान्सरपीडित मधु क्षेत्रीलाई आर्थिक सहयोग गरेको छ ।
प्रलेसका महासचिव डा. पारस ढकाल नेतृत्वको प्रतिनिधिमण्डलले २०८३ असार ३ गते क्षेत्रीलाई नै भेटेर सहयोग हस्तान्तरण गरेको हो ।
सैतिस हजार पाँच सय रुपियाँ सहयोग हस्तान्तरण गर्न राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालय कपन पुगेको उक्त टोलीमा प्रलेसका उपाध्यक्ष समीर सिंह, सचिव कुशल बोगटी र कोषाध्यक्ष डा. कृष्ण सुवेदी सहभागी हुनुहुन्थ्यो ।
सो अवसरमा प्रगतिवादी साहित्यकार तथा प्रलेसका पूर्व उपाध्यक्ष रामप्रकाश पुरी, प्रलेसकै पूर्व केन्द्रीय सचिव प्रकाश थापामगर, राजमो नेता मदन शर्मालगायतको पनि उपस्थिति रहेको थियो ।
सो अवसरमा महासचिव डा. ढकालले स्रष्टा क्षेत्रीलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको थियो ।
त्यस्तै, स्रष्टा क्षेत्रीले आफूलाई सहयोग गर्ने प्रलेसप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
२०८२ वैशाखदेखि ब्लड क्यान्सरबाट पीडित क्षेत्रीले केन्द्रीय सदस्य, परिषद् सदस्यसहित प्रलेसका विभिन्न जिम्मेवारी वहन गरिसक्नु भएको छ ।
