काठमाडौं, जेठ २८ । जल तथा मौसम विज्ञान विभागले मनसुन २०८३ सम्बन्धी अद्यावधिक जलवायु आँकलन सार्वजनिक गर्दै यस वर्ष देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा र बढी तापक्रम रहने सम्भावना यथावत् रहेको जनाएको छ।
विभागका अनुसार १८ जेठदेखि १४ असोजसम्मको मनसुन अवधिमा विशेषगरी पश्चिम नेपालमा वर्षा कमी हुने सम्भावना बढी छ। कर्णाली, लुम्बिनी, मधेश तथा कोशी प्रदेशका केही क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको छ।
यस्तै, देशका अधिकांश भूभागमा अधिकतम तथा न्यूनतम तापक्रम पनि सरदरभन्दा माथि रहने अनुमान गरिएको छ। यसले गर्मीको प्रभाव बढ्नुका साथै पानीको माग, स्वास्थ्य जोखिम र कृषि क्षेत्रमा चुनौती थपिन सक्ने विज्ञहरूको भनाइ छ।
विज्ञहरूले समग्र वर्षा कम हुने अनुमान गरिए पनि छोटो अवधिमा हुने तीव्र वर्षाले बाढी, पहिरो र डुबानको जोखिम कायमै रहने चेतावनी दिएका छन्। जलवायु परिवर्तनका कारण वर्षाको वितरण असन्तुलित बन्दै गएको र खडेरी तथा विपद्को जोखिम एकैसाथ बढ्न सक्ने उनीहरूको भनाइ छ।
नेपालको करिब ८० प्रतिशत वार्षिक वर्षा मनसुनमा निर्भर रहने भएकाले कृषि, खानेपानी, जलस्रोत तथा जलविद्युत् क्षेत्रमा सम्भावित असर न्यूनीकरणका लागि समयमै तयारी गर्न सरोकारवालाले सुझाव दिएका छन्।

