काठमाडौं । नेपाली जडीबुटी क्षेत्रले अन्तर्राष्ट्रिय बजारमा ऐतिहासिक सफलता हासिल गरेको छ। ‘हिमालयन शिलाजित फूड सप्लिमेन्ट्स ट्रेडिङ एलएलसी’ द्वारा उत्पादन गरिएको नेपाली शिलाजितले संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई नगरपालिकाको प्रयोगशालाबाट आधिकारिक गुणस्तर स्वीकृति प्राप्त गरेको छ।
कम्पनीका अनुसार, दुबईको कडा खाद्य सुरक्षा तथा गुणस्तर मापदण्ड सफलतापूर्वक पूरा गरी स्वीकृति पाउने यो उत्पादन विश्वकै पहिलो शिलाजित ब्रान्ड बनेको दाबी गरिएको छ। यससँगै नेपाली शिलाजित अब यूएईका प्रमुख सुपरमार्केट, फार्मेसी तथा अनलाइन प्लेटफर्ममार्फत कानुनी रूपमा बिक्री–वितरणका लागि खुला भएको छ।
नेपालको ५,००० मिटरभन्दा माथिका उच्च हिमाली क्षेत्रबाट संकलन गरिएको कच्चा पदार्थ प्रयोग गरी तयार गरिएको उक्त शिलाजितले दुबईमा व्यवसायिक इजाजतपत्र समेत प्राप्त गरेको छ। यसअघि कच्चा रूपमा मात्र निर्यात हुँदै आएको नेपाली शिलाजितले अब ब्रान्डेड उत्पादनका रूपमा अन्तर्राष्ट्रिय बजार प्रवेश गर्नु नेपाली जडीबुटी उद्योगका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ।
विशेषज्ञहरूका अनुसार, यो सफलताले नेपाली प्राकृतिक उत्पादनको गुणस्तर र विश्वसनीयतामाथि अन्तर्राष्ट्रिय विश्वास बढाउनेछ। साथै, यसले नेपालका जडीबुटीजन्य उत्पादनको निर्यात विस्तारमा नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।
कम्पनीले आगामी दिनमा आफ्नो उत्पादनलाई विश्वका १९० भन्दा बढी देशमा विस्तार गर्ने लक्ष्य राखेको जनाएको छ। यस उपलब्धिले नेपाली अर्थतन्त्र, ब्रान्ड पहिचान र निर्यात सम्भावनामा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।