बाँके, २५ जेठ । नेपालगन्ज–१५ जमुनाहस्थित सुरेन्द्र सिंहको घर सामान्य घरभन्दा फरक छ । यहाँको वातावरण हेर्दा घरभन्दा पनि कुनै सुरक्षा ब्यारेकझैँ अनुभूति हुन्छ । कारण हो—सिंह परिवारका धेरै सदस्य नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा आबद्ध भएर राष्ट्रसेवामा समर्पित छन् ।
शिख समुदायका सिंह परिवारमा हुने जमघटमा अधिकांश सदस्य बर्दीमै देखिन्छन्। देशसेवामा समर्पित सुरक्षाकर्मीहरूको उपस्थिति हुँदा त्यो घर सामान्य आवासभन्दा पनि एउटा संगठनात्मक सुरक्षा इकाइझैँ देखिने गर्छ ।
तीन पुस्तादेखि निरन्तर सुरक्षासेवामा समर्पित यस परिवारमा करिब एक दर्जन सदस्य विभिन्न सुरक्षा निकायमा कार्यरत छन्। परिवारका सदस्यहरू नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा आबद्ध भई देशको शान्ति, सुरक्षा र सीमा सुरक्षामा योगदान दिँदै आएका छन्।
हालै सशस्त्र प्रहरी बलबाट प्रहरी नायब निरीक्षक पदबाट अवकाश लिएका सुरेन्द्र सिंहका अनुसार यस परिवारमा सुरक्षासेवाको यात्रा उनका बुबा जबर सिंहबाट सुरु भएको हो । नेपाल प्रहरीमा कार्यरत रहेका बुबाको देशसेवाप्रतिको समर्पणले आफूलाई पनि सशस्त्र प्रहरीमा प्रवेश गर्न प्रेरित गरेको उनी बताउँछन् । अहिले उनका छोरा अङ्कित सिंह नेपाल प्रहरीमा कार्यरत रहेर हजुरबुबा र बुबाको पदचाप पछ्याइरहेका छन् ।
“सुरक्षा निकायमा हाम्रो परिवारका करिब एक दर्जन सदस्य संलग्न छन्, त्यसैले हाम्रो घर नै ब्यारेकजस्तै बनेको छ,” सुरेन्द्र सिंह मुस्कुराउँदै भन्छन्, “देशको सेवा गर्न पाउँदा गर्व लाग्छ । बुबादेखि छोरा–नातिसम्मको निरन्तरता हेर्दा अझ बढी गर्व महसुस हुन्छ।”
परिवारका अन्य सदस्यहरू पनि विभिन्न तहमा देशसेवामा सक्रिय छन् । काका शरण सिंहले नेपाल प्रहरीमा लामो समय सेवा गरेका थिए भने विनोद, दीपक, बलदेव र नारायण सिंह हाल सशस्त्र प्रहरी बलमा कार्यरत छन् । त्यस्तै, नातामा भाइ पर्ने शंकर सिंह सशस्त्र प्रहरी बलबाट प्रहरी नायब उपरीक्षक पदबाट अवकाश प्राप्त गरिसकेका छन् ।
यस परिवारको इतिहास केवल सेवा र रोजगारीमा मात्र सीमित छैन । द्वन्द्वकालमा प्रहरी निरीक्षक पदमा कार्यरत कन्हैया सिंहले कर्तव्यपालनका क्रममा वीरगति प्राप्त गरेका थिए । परिवारका लागि त्यो क्षण अत्यन्त पीडादायी भए पनि उनको बलिदानले राष्ट्रसेवाप्रतिको समर्पणलाई अझ मजबुत बनाएको परिवारजन बताउँछन्।
अवकाशपछि पनि देशप्रतिको दायित्व समाप्त नहुने विश्वास सुरेन्द्र सिंहको छ । उनी भन्छन्, “बर्दी फुकाले पनि देशप्रेम कहिल्यै समाप्त हुँदैन । सुरक्षाकर्मीका रूपमा सेवा गरेँ, अब सामाजिक कार्यमार्फत देश र समाजको सेवा निरन्तर गर्छु।”
नेपालगन्ज–१५ का वडाध्यक्ष मदनविक्रम शाहका अनुसार सिंह परिवार राष्ट्रसेवा, त्याग र समर्पणको ज्वलन्त उदाहरण हो । एउटै परिवारबाट यति धेरै सदस्य देशको सुरक्षामा समर्पित हुनु स्थानीय समुदायका लागि पनि गर्वको विषय बनेको उनले बताए ।