बेलबारी (मोरङ) । इलाम, झापा, मोरङ र सुनसरीका प्रगतिशील लेखकले भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीमाथि सरकारले गरेको अन्धाधुन्द ज्यादतीको सिर्जना वाचन गरेर सिर्जनात्मक विरोध जनाएका छन् ।
प्रलेस केन्द्रीय अध्यक्ष डा. देवी दुलाल क्षेत्रीको प्रमुख आतिथ्य तथा कोशी प्रदेश समितिका अध्यक्ष विन्दु दाहाल ‘मूकदर्शक’ को अध्यक्षता २०८३ जेठ ३ गते आयोजित कार्यक्रममा स्रष्टाहरूले रचना वाचन गरेका हुन् ।
कविता वाचन गर्नेहरूमा इलामका डा. देवी दुलाल क्षेत्री, मोरङका ईरानराई, एकराज भट्टराई, खेम नेपाली, तिला लेकाली, बाबुराम पोखरेल, दीप मङ्ग्राती, भीम कोइराला, भवानीप्रसाद पोखरेल, शैलेन्द्र घिमिरे, झापाका विन्दु दहाल मूकदर्शक तथा सुनसरीका विमला पोखरेल र कृष्ण नेपाल हुनुहुन्थ्यो ।
सो अवसरमा मन्तव्य राख्दै प्रलेस केन्द्रीय अध्यक्ष क्षेत्रीले बालेन्द्र सरकारले गरिब भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीको घरबार विनामानवीयता भत्काइदिएको तथा देशभर आतङ्क सिर्जना गरेको हुनाले प्रलेसले सातैओटा प्रदेश, ६४ जिल्ला र १४ पालिकामा स्रष्टाले आआफ्नो सिर्जनामार्फत अपराह्न ३ बजे सडक साहित्य गोष्ठी कार्यक्रम गरी विरोध जनाइरहेको बताउनुभयो ।
सुकुना बहुमुखी क्याम्पस, सुन्दरहरैँचा मोरङको अगाडिपट्टिको सडकमा सो कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा करिब ४० जना प्रगतिशील स्रष्टाको सहभागिता रहेको थियो ।