भरतपुर । चितवनको कालिका नगरपालिकाले नगरप्रमुखको गाडी किन्ने बजेटबाट शववाहन खरिद गरेको छ ।
Advertisement
गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा नगरप्रमुखको सहित तीनओटा गाडी डढेको थियो । प्रमुखले मोटरसाइकल प्रयोग गरेर शववाहन खरिद गरिएको हो ।
नगरप्रमुख विनोद रेग्मीले ३१ लाख रुपैयाँमा शववाहन खरिद गरिएको बताए । उनले भने– ‘नगरपालिकामा एउटा पनि गाडी छैन । नगरप्रमुखका लागि गाडी खरिद गर्ने भनेर बजेट छुट्याइएको थियो । त्यसबाट शववाहन खरिद गरियो ।’
जिल्लाको पहाडी भूभागसमेत पर्ने नगरपालिकाका विपन्न समुदायले मृत्युपछि अन्त्येष्टिका लागि लैजान सवारीमा खर्च गर्न नसक्ने भएकाले नि:शुल्क सञ्चालन गर्न शववाहन खरिद गरेको रेग्मीले बताए ।
कतिपय खाडी मुलुकबाट काठमाडौँसम्म ल्याएको शवसमेत ल्याउन समस्या हुने गरेकाले शववाहनलाई प्राथमिकता दिएको उनको भनाइ छ ।