काठमाडौंँ । अबदेखि विद्यार्थीहरूलाई सार्वजनिक यातायातमा छुट नमिल्ने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सो घोषणा गरेको हो ।
राज्यले व्यवसायीलाई दिँदै आएको कर सहुलियत फिर्ता नभएसम्म कुनैपनि हालतमा विद्यार्थी छुट कार्यान्वयन नगर्ने महासंघले अडान लिएको छ । यातायात व्यवस्था विभागले विद्यार्थी छुट उपलब्ध गराउन भनी पठाएको पत्रको प्रत्युत्तरमा महासंघले सो धारणा घोषणा गरेको हो ।
‘विगतमा ४५ प्रतिशत विद्यार्थी छुट दिएबापत व्यवसायीले वार्षिक कर, रुट परमिट र जाँचपासमा ६० प्रतिशत छुट पाउने सम्झौता थियो ।’ महासंघले बताएको छ, ‘तर, देश संघीयतामा गएपछि सरकारले व्यवसायीले पाउँदै आएको त्यो ६० प्रतिशत सहुलियत २०७३ सालदेखि नै हटाएर अन्याय गरेको छ ।’
महासचिव डेकनाथ गौतमले हस्ताक्षर गरेको पत्रमा कोशी प्रदेशबाहेक अन्य क्षेत्रमा व्यवसायीले कुनै पनि सहुलियत नपाएको उल्लेख गर्दै सरकारले व्यवसायीलाई टाट पल्टाउन खोजेको आरोप छ ।

