शंकर प्रसाद पोख्रेल
बुटवल, वैशाख । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले साम्राज्यवाद विरुद्धको लडाइँ अझै जारी रहेको बताउनु भएको छ । सिंहले बुटवलमा आयोजित नेपाल कम्युनिष्ट पार्टीको ७८औँ स्थापना दिवस तथा १५७औँ लेनिन जयन्तीको समारोहलाई सम्बोधन गर्दै राष्ट्रियता र स्वाधीनतामाथि बाह्य हस्तक्षेपको खतरा अझै समाप्त नभएको बताउनुभयो ।
प्रमुख अतिथिको आसनबाट बोल्दै महामन्त्री सिंहले विगतमा भारतीय साम्राज्यवाद विरुद्ध संघर्ष गर्दै, अहिले अमेरिकी साम्राज्यवादको चुनौती समेत थपिएको बताउनु भयो । ‘नेकपाको ७८ वर्षको इतिहास केवल उत्सव नभई संघर्षको निरन्तरता हो ।’ सिंहले अगाडि भन्नुभयो, ‘राष्ट्रिय स्वाधीनताको रक्षा बिना कुनै पनि राजनीतिक उपलब्धि दीर्घकालीन हुन सक्दैन ।’ सिंहले कालापानी लगायत सीमावर्ती क्षेत्रको विषय उठाउँदै राष्ट्रियताको सवालमा जनताको सचेत र सक्रिय भूमिका अपरिहार्य रहेकोमा जोड दिनुभयो ।
समाजवादको यात्रा सहज नभएको उल्लेख गर्दै सिंहले विश्वका केही देशहरू समाजवादबाट पुनः पूँजीवादमा फर्किएको उदाहरण प्रस्तुत गर्नुभयो । ‘हामीले प्राप्त उपलब्धिको रक्षा गर्दै अगाडि बढ्नुपर्छ, अन्यथा उपलब्धि गुम्ने खतरा सधैं रहन्छ,’ उहाँले थप्नुभयो।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कार्यक्रमका विशिष्ट अतिथिको आसनबाट मन्तव्य राख्नुभएको थियो । केसीले वर्तमान राजनीतिक अवस्थालाई ‘तरल र भ्रमपूर्ण’ भन्दै जनतालाई सचेत रहन आग्रह गर्नुभयो । केसीका अनुसार नयाँ शक्ति भन्ने नाममा आएका केही प्रवृत्तिहरू र पुराना दलहरूको कमजोरीका कारण जनताको विश्वास कमजोर बन्न पुगेको छ ।
‘जनताको चेतनालाई भ्रमित पार्ने काम भइरहेको छ। यस्तो अवस्थामा सही राजनीतिक विचार र राष्ट्रहितको पक्षमा उभिनु आजको आवश्यकता हो ।’ केसीले अगाडि भन्नुभयो, ॅलोकतान्त्रिक व्यवस्थामा देखिएका विकृति अन्त्य गर्न जनताको सक्रिय सहभागिता आवश्यक रहेको छ ।’
‘सिद्धान्तहरू अझै पनि सान्दर्भिक अझै पनि कमी छैन ।’ लेनिनको योगदानको चर्चा गर्दै केसीले भन्नुभयो, ‘सामाजिक न्याय, समानता र राष्ट्रिय स्वाधीनताको लक्ष्य हासिल गर्न लेनिनवादी विचारधारालाई आत्मसात गर्नु पर्दछ ।’
कार्यक्रममा अन्य वक्ताहरू नेपाली जनताले ऐतिहासिक रूपमा लामो राजतन्त्र र ३० वर्षे पञ्चायती व्यवस्था अन्त्य गरेको स्मरण गर्दै वर्तमान व्यवस्थामा देखिएका कमजोरी र विकृतिविरुद्ध पनि संगठित संघर्ष आवश्यक रहेको बताए ।
कम्युनिष्ट संग्रहालयका अध्यक्ष चेतनाथ आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन बद्रे आलमले गर्नुभएको थियो । कार्यक्रममा सहभागिहरूलाई गणेश गौतमले मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा राजमो कार्यवाहक अध्यक्ष रश्मिराज नेपाली, उपाध्यक्ष दुर्गा पौडेल, उद्योग ब्यापार संघका ढुण्डीराज शर्मा, बुद्धिजीवी संघका दुर्गानाथ खरेल, राजमो सल्लाहकार वासुदेव पोखरेल, पत्रकार श्यामलाल पोखरेल, अन्टुकका अध्यक्ष लोकराज भुसाल, राजमो केन्द्रीय सदस्य इन्द्र ज्ञवाली तथा लालबहादुर थापा लगायतका नेताहरूले आतिथ्यता ग्रहण गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, बुद्धिजीवी, पत्रकार तथा जनवर्गीय संगठनका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
