काठमाडौँ । अखिल (छैठौं) का अध्यक्ष सुवास जिसीले विद्यार्थी सङ्गठनमाथि सरकारद्वारा लगाइएको प्रतिबन्ध तानाशाही प्रकारले सत्ता सञ्चालनको ध्येयका साथ भएको ठोकुवा गर्नुभएको छ ।
युगदर्शन मिडियाका लागि कार्यकारी सम्पादक प्रकाश थापामगरसित २०८३ वैशाख ५ गते शनिबार भिडियो अन्तर्वार्ता दिँदै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।
‘उनीहरूले मूल रूपमा आफ्नो विरुद्धमा कोही नआओस् भन्ने चाहान्छन्’ उहाँले भन्नुभयो– ‘एक प्रकारले तानाशाही प्रकारले सत्ता सञ्चालन गर्न सकियोस् भन्ने उनीहरूको मूल ध्येय हो ।’
सय बुँदे कार्यसूचीमा विद्यालय हाताभित्रका दलीय सङ्गठनका संरचना हटाउने उल्लेख गरिएको सन्दर्भमा उहाँले भन्नुभयो– ‘जे भने पनि यसको मूल आसय विद्यार्थी सङ्गठनमाथि कमप्ल्टिली प्रतिबन्ध लगाउने हो ।’
अध्यक्ष जिसीले अहिलेको सरकार फागुन २१ गतेको चुनावअघि देखि नै विद्यार्थी सङ्गठनको विरुद्धमा रहेको विचार व्यक्त गर्नुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावअघि देखि नै स्वतन्त्र विद्यार्थी युनियन वा दलसम्बद्ध विद्यार्थी सङ्गठन खारेज गर्न चाहेकोमा अहिले बहुमतको सरकारसँगै यस्तो तानाशाही नीति अगाडि सारिएको उहाँले बताउनुभयो ।
अहिले सरकारको नेतृत्वमा रहेकाहरू विद्यार्थी सङ्गठनबाट नआएको बरु अमेरिकी दूताबासबाट तालिमप्राप्त भएको आरोप उहाँले अन्तर्वार्ताको क्रममा लगाउनुभयो ।
उहाँले भन्नुभयो– ‘स्वयम् अहिलेका प्रधानमन्त्री, शिक्षामन्त्रीहरू युथ काउन्सिलबाट तालिमप्राप्त व्यक्तिहरू हुनुहुन्छ ।’
मुख्यत: अमेरिकी दूताबासको युथ काउन्सिलबाट प्रशिक्षित रहेकाले स्ववियुप्रति अहिलेको सरकारले नकारात्मक धारणा राखेको उहाँको जिकिर थियो ।
‘उनीहरूको मूल नियत हिजोका विद्यार्थी सङ्गठनलाई खत्तम गर्ने’ उहाँले भन्नुभयो– ‘त्यसपछि विभिन्न एम्बेसीका नामबाट गठन भएका तालिमप्राप्त मान्छेलाई स्थापित गर्ने र यसरी राज्यसत्ताका सबै कुरा कब्जा गर्ने, नियत त्यो हो ।’
आवधिक रूपमा स्ववियुको निर्वाचन हुने गरेकोमा रास्वपाको आफ्नो विद्यार्थी सङ्गठन नहुँदा पनि उनीहरू विद्यार्थी सङ्गठनप्रति नकारात्मक रहेको धारणा उहाँले राख्नुभयो ।
स्ववियु वा दलसम्बद्ध कतिपय सङ्गठनमा विकृति रहेको स्वीकार गर्दै अखिल (छैठौं) भने यस सन्दर्भमा निष्कलङ्क रहेको अध्यक्ष जिसीको दाबी थियो ।
स्ववियुका विकृति वा कमजोरीलाई समाप्त गर्न सरकारले विद्यालय प्रशासनले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।
‘राज्य तहबाटै, विश्वविद्यालय तहबाटै विद्यार्थी वा विद्यार्थी सङ्गठनलाई व्यवस्थित गर्ने, सुदृढ गर्ने, परिवर्तन गर्ने, यिनीहरूलाई नयाँ ढङ्गले, नयाँ उचाइमा कसरी पुर्याउन सकिन्छ ? यस्तो सोचाइको आवश्यकता छ’ उहाँले सरकारसामु विकल्प प्रस्तुत गर्नुभयो ।
देश युथ काउन्सिलतिर
विद्यार्थी सङ्गठनले देशलाई यहाँसम्म ल्याइपुर्याउन योगदान दिएको स्पष्ट पार्दै अध्यक्ष जिसीले सरकार त्यसको साटो देशलाई दूताबासद्वारा सञ्चालित युथ काउन्सिललाई सुम्पिन तयार भएको बताउनुभयो ।
‘अमेरिकन युथ काउन्सिलले झन्डै ८० हजार सदस्य काठमाडौँ भ्यालीभित्र बनाएको छ’ उहाँले भन्नुभयो– ‘अहिले अमेरिकी युथ काउन्सिल त छोडिदिनुस्, यहाँ त युरोपियन युनियनले सम्म युथ काउन्सिल बनाइरहेका छन् ।’
यसका पछाडिको स्पष्ट उद्देश्य सिङ्गो नेपालीी राज्यसत्ता नै कब्जा गर्ने रहेको उहाँले प्रष्ट पार्नुभयो ।
सरकारको यस्तो नीतिबारे आफूहरू स्पष्ट रहेको बताउँदै उहाँले भन्नुभयो– ‘यो ठुलो षड्यन्त्र हो । गम्भीर षड्यन्त्रपूर्वक विद्यार्थी सङ्गठन र स्ववियुमाथिको आक्रमण हो भन्नेमा हामी सबै विद्यार्थी सङ्गठनको बुझाइ हो ।’
अध्यक्ष जिसीले परिवर्तनको आन्दोलनबाट आएका विद्यार्थीप्रति सरकारको यस प्रकारको गलत बुझाइको आलोचना गर्नुभयो ।
उहाँले प्रश्न गर्नुभयो– ‘हामी यो देशमा विभिन्न सङ्घर्ष, आन्दोलनबाट स्थापित भएका विद्यार्थी सङ्गठनले स्कुलकलेजमा सङ्गठन गर्न नपाउने तर सीमित काम र कानुनका लागि आएका दूताबासले जनता, विद्यार्थी र युवाको लेबलमा काम गर्ने ? यो कस्तो खालको कुरा हो ?’
विदेशी दूताबासले तालिम, नेतृत्व, सिप विकासको नाममा जुन युथ काउन्सिल खोलिरहेका छन्, त्यो काम सरकारले नै गर्नुपर्ने उहाँको सरकारलाई सुझाव थियो ।
सत्तारूढ दलको गलत धारणा
विद्यार्थी तथा ट्रेड युनियनको सवालमा सत्तारूढ रास्वपामा अत्यन्तै पश्चगामी विचार रहेको उहाँले अन्तर्वार्तामा प्रस्तुत गर्नुभयो ।
‘आफूलाई घण्टी ग्याङ भन्नेहरूले भनिरहेका छन्’ उहाँले भन्नुभयो– ‘कतिपय मानिसले, त्यो साँच्चिकै त्यो ग्याङका मान्छेले विद्यार्थी सङ्गठन खारेज गराएर निर्दलीयतातिर, तानाशाहीतिर, सकभर बालेनलाई राजा घोषणा गर्ने, भएन भने ज्ञानेन्द्रलाई भए पनि राजा घोषणा गरेर जानुपर्छ भन्ने टाइपका मान्छेहरू छन् ।’
रास्वपा र सरकारको यस खालको पश्चगामी सोचाइको आधारमा नै विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाइएको उहाँको भनाइ थियो ।
अखिल (छैठौं) को भूमिका
अध्यक्ष जिसीले अखिल (छैठौं) साङ्गठनिक रूपमा सानो भए पनि वैचारिक रूपले अग्रगामी सङ्गठन रहेको दाबी गर्नुभयो ।
‘वैचारिक हिसाबले हामी जहिल्यै पनि अगाडि रहने गरेका छौँ’ उहाँले भन्नुभयो– ‘साँच्चिकै राजनीतिक, वैचारिक विषयमा हाम्रो सङ्गठनले नेतृत्वदायी भूमिका निर्वाह गर्यो ।’
अन्तर्वार्ताको क्रममा उहाँले आफ्नो सङ्गठनले गत कालमा सीमा अतिक्रमण, लागुऔषध, अन्धविश्वास, युवाविद्यार्थीको विदेश पलायनका विरुद्ध अभियान सञ्चालन गर्दै आएको बताउनुभयो ।
सरकारले मुद्दा डाइभर्ट गर्यो
अन्तर्वार्ताको क्रममा उहाँले सरकारले प्राथमिकताको मुद्दा डाइभर्ट गरेको आरोप लगाउनुभयो ।
‘उहाँले के गर्नुपथ्र्यो ? ३० दिनभित्र विद्यालय शिक्षा विधेयक, ६० दिनभित्र उच्च शिक्षा विधेयक र ९० दिनभित्र यो देशको शिक्षा प्रणालीमिा आमूल परिवर्तन गर्छौं भन्नुपर्दैन ?’ अध्यक्ष जिसीले अगाडि भन्नुभयो– ‘तर उहाँहरूको ध्यान विद्यार्थी सङ्गठन खारेज गर्नेतिर छ ।’
सरकारले षड्यन्त्रपूर्वक जनताका मुद्दालाई डाइभर्ट गरिरहेको उहाँको दाबी थियो ।
जिसीले भन्नुभयो– ‘मुद्दा डाइभर्ट गर्ने, भयङ्कर षड्यन्त्रपूर्वक जनताका जेनुइन मुद्दालाई डाइभर्ट गर्नका लागि जनतासँग रिलेसन नै नभएका विषय उठाइदिने, जे गर्दा स्टन्ट हुन्छ वा चर्चा हुन्छ, त्यही काम गर्ने । सरकारको दृष्टिकोण यस्तो देखियो ।’
उहाँले करिब दुईतिहाइ बहुमत भएको सरकारले देश र जनताको खास मुद्दामा ध्यानकेन्द्रित गर्न सरकारसित अनुरोध गर्नुभयो ।
(अध्यक्ष जिसीसित अन्तर्वार्ताको पूर्ण पाठ अध्ययन गर्नका लागि युगदर्शन मिडियाको युट्युब च्यानल वाच गर्न अनुरोध गर्दछौँ ।)