दाङ । दाङ जिल्लाको एक मात्र पहाडी स्थानीय तह बंगलाचुली गाउँपालिकाका बासिन्दा स्थानीय चुनढुंगा कम्पनीबाट पीडित बनेका छन् । प्राकृतिक रुपमा सम्पन्न भएपनि त्यहाँको चुन ढुंगा उत्खननका कारण धुलो र हिलोले जनजीवन कष्टपूर्ण बनेको छ ।
हिउँदमा धुलाम्मे हुने यहाँको सडक वर्षामा हिलाम्मे बन्ने गरेको छ । त्यसले गर्दा यात्रुलाई निकै सास्ती हुने गरेको छ ।
उधोगका टिपरका कारण सडक अस्तब्यस्त भएको छ । सिमेन्ट उधोगले अनुमती लिँदा गरेका सम्झौताहरु कार्यान्वयन गरेको छैन । टिपरले उडाउने धुलोका कारण नागरिक रोगी बनेका छन् भने पानीका मुहान सुक्दै गएका छन् ।
स्थानीय मजदुरहरुलाई सस्तो दरमा काममा लगाउने गरिएको छ । अहिले पनि निरन्तर नयाँ कम्पनीहरुलाइ चुनढुङ्गा उत्खनन गर्ने अनुमति दिइएको छ । तर पहिलेका सम्झौता कार्यान्वयन गराउने कुरामा स्थानीय सरकारको खास भुमिका देखिँदैन ।
यसै सन्दर्भमा राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले लकडाउन खुल्ने बित्तिकै सो स्थानको निरीक्षण गर्नु भएको छ ।
ठूलो संख्यामा कोरोना संक्रमित बङंगलाचुली गाउँपालिकाका स्थानीयले सडकको समस्या लकडाउनको समयमा भोगेका पीडा, संक्रमित र क्वारेन्टिनमा रहँदा भोगेका समस्या तथा राज्यको लापरवाहीबारे जानकारी गराएका थिए ।
राजमोले स्थानीय जनतालाई संगठित गर्दै समस्या समाधानका लागि स्थानीय तह तथा सरकारलाई दबाब दिने योजना बनाएको अध्यक्ष आचार्यले बताउनुभयो ।