काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले विद्यार्थी संगठनहरूलाई खारेज गर्न नहुने निष्कर्ष निकालेको छ । पार्टीको केन्द्रीय कार्यसंयोजन समिति बैठकले यस्तो निष्कर्ष निकालको नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।
सरकारले विद्यार्थी संगठनहरू खारेज गर्ने तयारी गरेको छ । त्यसप्रति राजनीतिक दलनिकट विद्यार्थी संगठनहरूले आपत्ति जनाउँदै आएका बेला नेकपाले पनि यो विषय बेठिक भएको निष्कर्ष निकालेको हो ।
‘जनसंगठनहरू खासगरी युवा विद्यार्थी लगायतका विद्यार्थी संगठनहरूलाई कलेजमा प्रतिबन्ध गर्ने कुरा र ट्रेड युनियनलाई प्रतिबन्ध गर्ने कुरा बेठिक हो’ बैठकको निष्कर्षबारे सुनाउँदै नेता खतिवडाले भने, ‘यसले जनता र ट्रेड युनियनको अधिकारलाई कुण्ठित गरेको छ । यो गलत हो । यस्तो गर्न पाइँदैन भन्ने पार्टीले निष्कर्ष रह्यो ।’
नेकपाको केन्द्रीय कार्यसंयोजन समितिको अर्को बैठक ३ वैशाखमा बस्नेछ । उक्त बैठकका बाँकी निष्कर्ष र निर्णयहरू पनि त्यतिबेलै सार्वजनिक हुने नेता खतिवडाले जानकारी दिए ।