काठमाडौँ । कूटनीतिज्ञ हिरण्यलाल श्रेष्ठले छिमेकीलाई चिढ्याएर अमेरिकालाई बोलाउने ब्लन्डर मिस्टेक नगर्न सरकारसित आग्रह गर्नुभएको छ ।
विश्व ट्रेड युनियन महासङ्घ (डब्लुएफटियु) ले २०८२ चैत २७ गते अबेर रातिसम्म सम्पन्न गरेको भर्चुअल कार्यक्रममा मन्तव्य राख्दै उहाँले सो आग्रह गर्नुभएको हो ।
उहाँले भन्नुभयो– ‘छिमेकीलाई चिढ्याउने, अमेरिकालाई बोलाउने ब्लन्डर मिस्टेक हामीले गर्नुहुँदैन ।’
एसपिपीको प्रसङ्ग जोड्दै उहाँले त्यो प्रस्ताव पारित भएमा नेपालमा चीन र भारत विरुद्ध अमेरिकालाई खेल्न दिएको अर्थ लाग्ने बताउनुभयो ।
‘इन्डिया र चाइना विरुद्ध हाम्रो देशको भूमिमा अरूलाई खेल्न दिनुहुँदैन’ उहाँको भनाइ थियो ।
कुनै पनि देशको कमजोर पक्ष हुने उदाहरण दिँदै उहाँले चीनको तिब्बत, भारतको कस्मिर, श्रीलङ्काको जाफना, बङ्गलादेशको चकमा र नेपालको तराई कमजोर पक्ष रहेको बताउनुभयो ।
उहाँले यी कमजोर तर संवेदनशील स्थानमा कसैलाई पनि खेल्न दिन नहुने विचार राख्नुभयो ।
पछिल्लो समयमा अमेरिकाले आवश्यकताभन्दा ठुलो दूताबास नेपालमा राखेर यहीँबाट चीन र भारतको विरुद्ध निगरानी गरिरहेको उहाँको आरोप थियो ।
‘हङकङ चीनको नियन्त्रणमा पुगेपछि चीन र भारतलाई वाच गर्न अमेरिकाले नेपाललाई उपयुक्त स्थान बनाएको छ’ श्रेष्ठले भन्नुभयो– ‘त्यसैले आवश्यकताभन्दा ठुलो दूताबास काठमाडौँमा बनाएको छ ।’
उहाँले नेपालले भारत र चीनसित समनिकटताको सिद्धान्तअनुसार कूटनीतिक सम्बन्ध राख्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
भुटानी शरणार्थी क्याम्प विघटन गर्ने तर तिब्बती शरणार्थी क्याम्प राख्ने असमान तरिका बन्द गर्नुपर्ने आवश्यकतामा जोड दिँदै उहाँले नेपालमा दुई छिमेकी देशको विरुद्धमा हुने सबै प्रकारका गतिविधि नियन्त्रण गर्नुपर्ने उहाँको धारणा थियो ।

क्युबाप्रति ऐक्यबद्धता
क्युबामा सन् १९५९ मा क्रान्ति भएपछि नै हालसम्म अमेरिकाले निरन्तर हस्तक्षेप र नाकाबन्दी गरिरहेको श्रेष्ठले बताउनुभयो ।
सन् १९६२ मा रुसी मिसाइल क्युबा पुगेर अमेरिकालाई हस्तक्षेप नगर्न आवाज उठाएको घटना उहाँले यस सन्दर्भमा स्मरण गर्नुभयो ।
‘विभिन्न देशमा आफ्नो स्वार्थमा सरकार गठन गर्ने अमेरिकाको पुरानै रणनीति हो’ उहाँले भन्नुभयो– ‘अहिले क्युबाको सरकार कब्जा गर्न अमेरिकाले त्यहाँ कठोर नाकाबन्दी लगाएको छ ।’
नाकाबन्दीका कारण त्यहाँ मानवीय सङ्कट उत्पन्न भएको र त्यहाँ बिरामीले उपचार गर्नसमेत नपाएको तथ्य उहाँले यस सन्दर्भमा उद्धृत गर्नुभयो ।
‘जलपरिवेष्ठित मुलुक क्युबामा अन्य देशले प्रत्यक्ष सहयोग गर्नुपर्दछ भने हामीले यहाँबाट क्युबाली जनताप्रति ऐक्यबद्धता व्यक्त गर्दछौँ’ उहाँको भनाइ थियो ।
रुसका पूर्व राजदूतसमेत रहिसक्नुभएका श्रेष्ठले नेपालमा असंलग्न परराष्ट्रनीतिलाई क्युबाले समर्थन गरेको स्मरण गर्दै अहिले नेपालले पनि ब्युबालाई समर्थन गर्नुपर्ने बताउनुभयो ।
अप्रिल ६–१२ सम्म ‘क्युबा ऐक्यबद्धता सप्ताह’ सञ्चालन गरेकोमा सोही सिलसिलामा यो कार्यक्रम आयोजना गरेको आयोजकले जानकारी दिएको छ ।
‘भूराजनीतिक परिस्थिति र क्युबाली जनताप्रतिको ऐक्यबद्धता’ शीर्षकको सो कार्यक्रमको अध्यक्षता महासङ्घको नेपाल च्याप्टरका अध्यक्ष प्रेमलकुमार खनालले तथा सञ्चालन महासचिव लोकराज भुसालले गर्नुभएको थियो ।
मणिरत्न श्रेष्ठले स्वागत गर्नुभएको उक्त कार्यक्रमको अन्तमा प्रश्नोत्तर पनि भएको थियो ।

