काठमाडौं । श्रीमतीको हत्या गरी सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका पूर्व डिआइजी रञ्जन कोइराला सर्वोच्चको आदेशमा जेलबाट छुटेपछि पीडित परिवार आक्रेशित भएका छन् ।
पूर्व डिआइजी कोइराला बिहीबार रिहा भएपछि पीडित गीता ढकालका बुवा हरेराम ढकालले यो फैसलाले समाजमा राम्रो सन्देश नदिने बताउनुभयो । मान्छे मारेको घटनामा जन्मकैद तोकिएका व्यक्तिलाई सर्वोच्च अदालतले नै ८ वर्षमा सजाय पुरा हुने फैसला गरेपछि समाजमा अपराध बढ्ने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मान्छेलाई मरेपनि हुने रहेछ भन्ने सन्देश गयो अब । के डर भयो र? जघन्य अपराधमा कानूनले तोकेको सजाय सर्वोच्चले घटाउँदै जान्छ भने । यस्तो न्यायालयको त्रृटीले समाजमा राम्रो सन्देश जाँदैन् ।’
सर्वस्वसहित जन्मकैदको फैसला साढे ८ वर्षमा पुरा हुने भए किन २०, २५ वर्ष राख्नुप¥यो भन्दै उहाँले प्रश्न गर्नुभयो । श्रीमती गीता ढकालको हत्या अभियोगमा २०६८ साल माघ ८ गते पक्राउ परेका कोइरालालाई घटनाको प्रकृति, प्राप्त प्रमाण लगायत प्रहरीको अनुसन्धानलाई हेरेर जिल्ला अदालत काठमाडौंले २०७१ वैशाख ७ गते सर्वश्व सहित जन्मकैदको फैसला सुनाएको थियो ।
उनले उच्च अदालत पाटनमा पुनरावेदन दिएपछि २०७२ मंसिर २३ गते जिल्लाकै फैसला सदर गरेको थियो । फेरी उनी सर्वोच्च पुगेका थिए ।
तर, सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश तेजबहादुर कार्कीको संयुक्त इजलासले पूर्व डिआइजी कोइरालालाई तोकिएको सर्वस्वसहितको जन्मकैद फैसला उल्ट्याएर साढे ११ वर्ष कैद मिनाहा गरेपछि उनी बिहीबार छुटेका छन ।