काठमाडौँ । राष्ट्रिय जनमोर्चाका नेता तिलक जिसीले फागुन २१ गतेको चुनावको मौन अवधिको समयमा मत परिवर्तन भएको दाबी गर्नुभएको छ ।
युगदर्शन मिडियाका लागि प्रकाश थापामगरसित २०८२ फागुन २८ गते फोनवार्ता गर्दै उहाँले सो दाबी गर्नुभएको हो ।
‘प्युठानमा हाम्रो पक्षमा राम्रो जनलहर आएको थियो’ उहाँले भन्नुभयो– ‘तर मौन अवधिको दुई दिनमै एकाएक मत परिवर्तन भयो । त्यसले गर्दा नसोचेको चुनावी परिणाम आयो ।’
नेता जिसीले पछिल्ला चुनावको तुलनामा उत्साह भने नभएको रिपोर्टिङ गर्नुभयो ।
उहाँले भन्नुभयो– ‘यसपालिको चुनावमा जनतामाझ खासै उत्साहको भावना थिएन । सरकारले चुनाव घोषणा गरिहाल्यो, त्यसैले भोट हाल्न त जानैपर्यो भन्नेजस्तो मानसिकता जनतामा थियो ।’
पछिल्लो समयमा विदेशमा रहेका नेपालीले पनि राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा मत परिवर्तनमा ठुलो भूमिका खेलेको उहाँको बुझाइ थियो ।
‘विदेशमा बसेकाहरूले घर फोन गरेर भन्दा रहेछन्, पुराना पार्टीकै कारणले हामी विदेशमा छौँ, त्यसैले यसपालि तपाईंहरूले भोट घण्टीमा हाल्नुपर्दछ । यस खालको रिपोर्ट हामीले पाएका थियौँ’ उहाँले युगदर्शनसित जनताबाट पाएको रिपोर्टबारे जानकारी दिनुभयो ।
एकातिर पुराना पार्टीहरूले सत्तामा रहँदा कायम गरेका विकृति, विसङ्गति अर्कोतिर कथित नयाँप्रतिको भ्रमपूर्ण प्रचारले गर्दा राजमोको पक्षमा प्युठानबाट भोट नआएको उहाँको दाबी थियो ।
उहाँले भनुभयो– ‘यी कारणले गर्दा हामीलाई शुद्ध कार्यकर्ताको मात्र भोट पर्यो, न्युट्रल भोट हामीलाई परेन । अरूका भोट पनि हामीलाई परेन ।’
नेता जिसीले आफूहरूले लोकतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा तथा सङ्घीयता र भ्रष्टाचारको विरोधमा आफूहरू नै सही विकल्प रहेको तर्क जनतामाझ लगेको तर जनताले यसलाई नबुझेको स्वीकार गर्नुभयो ।
फोनवार्ताको क्रममा उहाँले नेपालको वर्तमान दलाल राज्यसत्ताभित्र राजमोजस्ता क्रान्तिकारी पार्टीले बहुमत पाउनु गाह्रो विषय भएको धारणासमेत व्यक्त गर्नुभयो ।
फागुन २१ गतेअघि चुनावी वातावरणको समीक्षा गर्दै उहाँले जनताले सही नीति, सिद्धान्त र इमान्दार नेतृत्व नहेरेको बताउनुभयो ।
‘जनताले खालि बालेन हेर्यो, चुनाव चिह्न घण्टी हेर्यो बरु रवि लामिछानेको त्यति कुरा गरेन, उनको कुरा दोस्रो थियो’ जिसीको भनाइ थियो ।
आगामी २०८४ सालमा सम्पन्न हुने स्थानीय निर्वाचनमा राजमो पुन: सक्रिय भएर लाग्ने दाबी उहाँले गर्नुभयो ।
‘जनताको भावना राष्ट्रवादी नै हुन्छ भन्ने हामीले बुझेका छौँ’ उहाँले भन्नुभयो– ‘जनतालाई विकास भए हुन्छ । उनीहरू स्वदेशमै बस्न पाए हुन्थ्यो भन्ने शुद्ध भावना हुन्छ । हामीले जनताको यो भावनालाई आत्मसाथ गरेर विकृति, विसङ्गतिको खबरदारी गर्नेछौँ । यही मुद्दाका साथ स्थानीय निर्वाचनमा जानेछौँ ।’
अहिले भएका कमीकमजोरीको समीक्षा गरेर राजमोले आगामी स्थानीय निर्वाचनको परिणाम हाम्रो पक्षमा पार्ने प्रयास गर्ने, त्यसका लागि सही राजनीति, सिद्धान्तको प्रचार गर्ने, जनताको पक्षमा इमानदारिपूर्वक काम गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो– ‘छिमेकीको भैँसी मर्यो, बल्ल खायोजस्तो व्यवहार हामी गर्दैनौँ ।’
पछिल्लो समयमा रास्वपाको विजयपछि जनतामा प्रशस्त आशङ्का उब्जिएको बताउँदै नेता जिसीले आफूहरूले शुद्ध मनले राम्रो काम होस् भन्ने चाहेको पनि बताउनुभयो ।
वर्तमान राजनीतिक व्यवस्थाभित्र केही सुधारका काम गर्न सकिन्छ भन्ने विषयमा आफूहरू स्पष्ट रहेको बताउँदै उहाँले जनतालाई साथमा लिएर लोकतन्त्र, राष्ट्रियता, सुशासन, जनजीविकाको पक्षमा तथा राजनीतिक विकृति, विसङ्गतिका विरुद्ध सङ्घर्ष गर्ने उद्घोष गर्नुभयो ।
जनतामा देश दुर्घटनामा नपरे हुन्थ्यो भन्ने भावना रहेको बताउँदै उहाँले आगामी सरकारलाई लक्षित गर्दै भन्नुभयो– ‘आगामी रास्वपा सरकारलाई हामीले गर्न सकेनौँ भन्ने छुट छैन । उनीहरूले राष्ट्रघात पनि गर्न पाउँदैनन् ।’
अमेरिकाले नेपालमा रास्वपामार्फत् कठपुतली सरकार गठन गर्न खोजेको प्रसङ्ग जोड्दै उहाँले आगामी सरकारका प्र्रत्येक गलत नीति तथा कार्यक्रमको विरुद्धमा आफूहरूले आवाज उठाउने प्रष्ट पार्नुभयो ।
(नेता जिसीसित युगदर्शन मिडियाले गरेको फोनवार्ताको पूर्ण पाठ सुन्नका लागि मिडियाकै युट्युब च्यानल वाच गर्न अनुरोध गर्दछौँ ।)

