बेनी । म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसङ्ख्यक थकाली समुदायमा तोरनल्ह (फागुपूर्णिमा) पर्वको रौनक छाएको छ ।
नेपालका विभिन्न क्षेत्रमा ११ हजार जनाको सङ्ख्यामा बसोबास गर्ने थकाली समुदायले हरेक वर्ष फागुपूर्णिमाको अवसरमा परम्परागत तोरनल्ह पर्व मनाउने गर्दछन् ।
फागुपूर्णिमाको अघिल्लो दिन सुरु हुने तोरनल्ह तीन दिनसम्म मनाउने चलन रहेको थकाली सेवा समिति बेनी क्षेत्रका अध्यक्ष सुन्दरमान शेरचनले बताए ।
‘तीन दिन सबैरे उठेर चोखो निष्ठ भएर पितृलाई सम्झिएर पूजाआजा गर्ने र फूलप्रसाद चढाउनुपर्छ’ उहाँले भन्नुभयो– ‘आफन्तलाई बोलाएर मिठामिठा परिकार खुवाउने र आर्चरी (तारो हान्ने) खेल्ने चलन छ ।’
मुस्ताङको थासाङ गाउँपालिकाको कोबाङ थकाली समुदायको उद्गमस्थल मानिन्छ । घरपझोङ र थासाङ गाउँपालिकामा थकाली समुदायको बाहुल्य बसोबास छ । म्याग्दीको दाना, भुरुङ तातोपानी, बेनी, दरबाङलगायत बजार क्षेत्रमा थकाली समुदायको बसोबास छ ।
तोरनल्ह मनाउन घरबाहिर र विदेशमा रहेका थकालीय आफ्नो जन्मथलो फर्किएका छन् । तोरनल्हमा थकाली समुदायले घर सिगारपटार गरेका छन् ।
तोरनल्ह पर्वको अवसरमा थकाली समुदायका पुरुष परम्परागत तारो हान्ने खेल खेलेर रमाइलो गर्दछन् । महिला भने मौलिक भेषभूषामा सजिएर नाचगान गर्ने, गोटा खेल्ने र शुभकामना साटासाटा गरेर तोरन्ह मनाउँछन् ।
थकाली सेवा समिति बेनी क्षेत्रको आयोजनामा बेनीमा आइतबारदेखि तारो हान्ने प्रतियोगिता सुरु भएको छ । यस वर्ष चुनावको समय भएकाले निर्वाचन आचारसंहिताको पालना गरेर थकाली समुदायका सदस्य मात्र भेला भएर तोरन्लह पर्व मनाउन लागिएको थकाली सेवा समितिका शङ्करमान शेरचनले बताए ।