काठमाडौँ । श्वासप्रश्वाससम्बन्धी बिरामीलाई सर्वसुलभ विशेषज्ञ चिकित्सा सेवा प्रदान गर्न ललितपुर–१३ स्थित मानभवनमा नेसनल चेस्ट सेन्टर सञ्चालनमा ल्याइएको छ ।
पछिल्लो समय विभिन्न कारणले श्वासप्रश्वास (छाती) सम्बन्धी रोग दिनप्रतिदिन गम्भीर जनस्वास्थ्य समस्याका रूपमा बढ्दै गएसँगै स्वदेशमा नै यसैमा केन्द्रित भएर एकीकृत सेवा प्रदान गर्न पहिलोपटक छुट्टै सेन्टरको स्थापना गरिएको हो ।
सेन्टरबाट फोक्सोको कार्यक्षमता परीक्षण, डिजिटल एक्सरे तथा आवश्यक इमेजिङ सुविधा, एलर्जी तथा दमको परीक्षणसम्बन्धी सेवा, सिओपिडी, दम, क्षयरोग तथा अन्य दीर्घकालीन श्वासप्रश्वास रोगको समग्र उपचार, कोभिडपश्चात् फोक्सो परीक्षण क्लिनिक, धूमपान त्याग परामर्श सेवा, विशेषज्ञ परामर्शसहित नियमित फलोअप, अत्याधुनिक स्तरको प्रयोगशाला सुविधा, बिरामीलाई सहज रूपमा औषधी उपलब्ध गराउन आफ्नै फार्मेसी सञ्चालन, बिरामीलाई एकै स्थानबाट सम्पूर्ण सेवा प्राप्त गर्ने सुविधा प्रदान गरिने जनाइएको छ । यसले गर्दा बिरामीको समय र खर्च दुवै बचत गर्ने अपेक्षा गरिएको छ ।
सेन्टरद्वारा जारी विज्ञप्तिका अनुसार सेन्टरको उद्देश्य केवल उपचारमा मात्र सीमित छैन, यसको दीर्घकालीन लक्ष्य श्वासप्रश्वास रोगको रोकथाम र जनचेतना अभिवृद्धि गर्नु पनि हो ।
विज्ञप्तिमा भनिएको छ– “नियमित स्वास्थ्य परीक्षणको महत्त्वबारे जानकारी गराउने, वायु प्रदूषणबाट जोगिने उपायबारे सचेतना फैलाउने, सुर्तीजन्य पदार्थ त्याग्न प्रोत्साहन गर्ने तथा विद्यालय, कलेज र समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने सेन्टर योजना रहेको छ । श्वासप्रश्वास रोगको समयमै पहिचान र उपचार नगरेमा यसले दीर्घकालीन जटिलता निम्त्याउन सक्छ । प्रारम्भिक अवस्थामा नै परीक्षण तथा उपचार सुरु गर्न सकेमा रोग नियन्त्रण सम्भव हुन्छ र जीवनस्तर सुधार गर्न सकिन्छ । त्यसैले ‘रोकथाम नै उपचारभन्दा उत्तम’ भन्ने सिद्धान्तलाई आत्मसात गर्दै सेन्टरले समग्र, समन्वित र वैज्ञानिक सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।”
बढ्दो प्रदूषण, बदलिँदो जीवनशैली, धुमपान सेवन र महामारीपछिको अवस्थाले नेपालमा श्वासप्रश्वास रोगलाई गम्भीर चुनौतीका रूपमा उभ्याएको छ । यस्तो अवस्थामा विशेषज्ञ, प्रविधिसहितको तथा बिरामीमैत्री सेवा केन्द्रको आवश्यकता महसुस गर्दै यो पहल सुरु गरिएको छ ।
सेन्टर काठमाडौँ उपत्यकामात्र होइन, देशभरबाट आउने बिरामीलाई समेत सेवा प्रदान गर्ने लक्ष्य राखेको विज्ञप्तिमा उल्लेख छ ।