• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

बालेन को हुन् ? चिन्नका लागि बुझ्नैपर्ने १६ परिघटना यी हुन्


  •   सोमबार, माघ १२, २०८२ मा प्रकाशित
  • १. बालेन ‘साह’ कि ‘शाह’ ?

    Advertisement

    बालेनले आफ्नो थरमा मधेसीले प्रयोग गर्ने ‘साह’ कहिल्यै लेखेनन् । त्यसको सट्टा ठकुरी वा राजखलकले प्रयोग गर्ने ‘शाह’ लेखे । उनले स्पष्ट रूपमा आफू मधेसको तेली साह होइन, सूर्यवंशी राजाको सन्तान हुँ, प्योर राजा हुँ भनेका थिए (सेतोपाटी, २०७९ जेठ) । यसो भनिरहँदा उनको स्वरमा तेज थियो । हाउभाउ पनि एकदमै उद्वेलित देखिन्थ्यो ।

    उनले सुनाएको सूर्यवंशी राजपरिवारको विवरण र त्यसले काठमाडौँ, मिथिला, हेटौँडालगायतका ठाउँमा राज्य गरेको कुरा हाम्रो इतिहाससँग मेल खाँदैन । लिच्छवि आफूलाई सूर्यवंशी भन्छन तर त्यो हजार वर्षभन्दा पुरानो इतिहास हो । आफूलाई सूर्यवंशी लिच्छविको खलक भन्ने अहिलेसम्म कोही देखिएका छैनन् । त्यसपछि अर्को कुनै सूर्यवंशी खलकले यो भूभागमा राज्य गरेको देखिँदैन ।

    नेवारबहुल काठमाडौँ महानगरको मेयरका रूपमा बालेनले आफ्नो मधेसी पहिचान लुकाउनु स्वाभाविक थियो । उनले राजनीतिमा आउनुअघि पनि कहिल्यै आफूलाई मधेसीका रूपमा नचिनाएको उनका निकट बताउँछन् । झन् काठमाडौँको मेयर उठ्ने बेला त आफूलाई मधेसी भनेर चिनाउनुमा राजनीतिक लाभ केही थिएन । मधेसी पहिचान बोकेका भए सायद उनलाई काठमाडौँको मेयर जित्न गाह्रो पर्न सक्थ्यो तर मधेसको राजधानीमा गएर संसदीय राजनीतिक यात्राको सुरुआत गर्दै गर्दा उनलाई त्यही मधेसी पहिचान आवश्यक परेको छ किनभने आज रास्वपा अरू प्रदेशको तुलनामा मधेसमै सबभन्दा कमजोर छ ।

    २. सङ्घीयताको समर्थन

    बालेनले काठमाडौँको मेयरका रूपमा सङ्घीयता स्वीकार गरेका थिएनन् । स्वीकार नगरेको मात्र होइन, उनले २०७९ सालको संसदीय निर्वाचनमा भोट हाल्दा प्रतिनिधिसभाका लागि मात्र मतदान गरेका थिए । प्रदेशसभाको निम्ति त उनले मतपत्र लिनसमेत अस्वीकार गरेका थिए । यसरी प्रदेश सरकारको अस्तित्व अस्वीकार गर्दै आएका बालेनले मधेसको राजधानीमा गएर प्रदेश सरकारलाई बलियो बनाउनुपर्छ र ‘काठमाडौँ अधिकार माग्न होइन, घुम्न जाने हो’ भन्नु आफैमा अर्थपूर्ण छ ।

    जुन प्रदेशसभाको निम्ति बालेनले २०७९ सालको चुनावमा भोटसमेत हालेनन्, त्यही प्रदेशसभालाई संविधानमा स्थापित गर्न ज्यानको आहुति दिएका मधेस आन्दोलनका सहिदको शालिकमा माल्यार्पण गरेर उनले आफ्नो संसदीय राजनीतिक अभियान सुरु गरे ।

    जनकपुरको कार्यक्रममा उपस्थित हुनुअघि एकाबिहानै बालेन सिराहाको लहानमा रहेको सहिदपार्क जानु र मधेस आन्दोलनका सहिदको शालिकमा माल्यार्पण गर्नुले राजनीतिक अर्थ बोकेको छ । बालेनले यसरी सङ्घीयताको पक्षमा आफूलाई प्रस्तुत गर्नु कति निर्वाचन प्रयोजनका लागि हो र कति उनले नेपालमा सङ्घीयता चाहिँदो रहेछ भनेर बुझेका हुन् र मनैदेखि यसको राजनीतिक महत्त्व स्वीकार गरेका हुन् भन्ने यकिन छैन ।

    ३. जनकपुरमा पर्यटन

    बालेनले जनकपुरका जनतामाझ एक करोड पर्यटक भित्र्याउने सपना त सुनाए तर यो सपना कति रुमानी छ भन्ने नेपालमा पर्यटक आगमनको वार्षिक आँकडाले नै देखाउँछ ।

    पर्यटन बोर्डका अनुसार नेपालमा वार्षिक १० लाखभन्दा केही बढी पर्यटक मात्र भित्रिन्छन् । यसमा भारतीय पर्यटकको सङ्ख्या करिब ३ लाख छ । भारतीय पर्यटक सबभन्दा बढी आउने काठमाडौँ, पोखरा घुम्न हो भने तेस्रो देशका पर्यटक धेरैजसो हिमाल आरोहण र पदयात्राका लागि आउँछन् । यस्तो आँकडा अगाडि राखेर जनकपुरमा मात्रै वर्षको एक करोड पर्यटक भित्र्याउन सकिन्छ भन्नु कति हावादारी हो भन्ने सजिलै थाहा हुन्छ ।

    जनकपुर आउने भनेका बहुसङ्ख्यक भारतीय पर्यटक हुन् । भारतीयको करिब ३ लाख सङ्ख्यालाई ह्वात्तै बढाएर १ करोड पुर्‍याउने कहिले ? कसरी ? बालेन शाहसँग त्यस्तो के जादुको छडी छ, जुन घुमाएर उनी एकैचोटी १ करोड लक्ष्य हासिल गर्न सक्छन् ?

    ४. कहाँ पुग्यो काठमाडौँको फोहर व्यवस्थापन योजना ?

    सबभन्दा अगाडि आउँछ, फोहोर व्यवस्थापन योजना । बालेनले फोहोर व्यवस्थापनका अल्पकालीनदेखि दीर्घकालीन योजनासम्म अघि सारेका थिए । उनले भनेका थिए– ‘काठमाडौँ महानगरमा दैनिक ६ सय टन फोहोर निस्किन्छ । तीमध्ये ७० प्रतिशत कुहिने खालका हुन्छन् । त्यस्ता कुहिने खालका फोहोरबाट जैविक मल बनाउने र त्यसलाई काठमाडौँभित्र मात्र होइन, धादिङ, काभ्रेलगायतका जिल्लामा बिक्री गर्ने मेरो योजना छ ।’ उनले कतिपय टेलिभिजन अन्तर्वार्तामा त यस्तो जैविक मल देशैभरि निर्यात गर्न सकिने, त्यसपछि काठमाडौँले विषादीरहित तरकारी खान पाउने, देशभरका युवाले रोजगारी पाउने र विदेश जानुनपर्ने बताएका थिए । काठमाडौँमा जैविक मल उत्पादन र निर्यातको बालेनयोजना कहाँ पुग्यो ?

    बालेनले बाँकी बचेका ३० प्रतिशत फोहोर जलाउन इन्सिनेरेटर मेसिन जडान गर्ने भनेका थिए । काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन गर्न निर्माण गरिएको बञ्चरेडाँडा डम्पिङ साइटमा पहिले यस्तै इन्सिनेरेटर राख्नेबारे छलफल भएको थियो । वातावरणद्लिे इन्सिनेरेटरमा फोहोर जलाउँदा प्रदूषणको समस्या आउन सक्ने भनेपछि कार्यान्वयन भएन ।

    वातावरणविद्का अनुसार कुहिने फोहोरबाट जैविक मल बनाउन सम्भव भए पनि इन्सिनेरेटर मा जलाउनु एकदमै जटिल प्रक्रिया हो किनभने बर्खाका बेला काठमाडौँमा जम्मा हुने फोहोर भिजेको हुन्छ । त्यसलाई जलाउँदा तापक्रम हजार डिग्री सेल्सियस आसपास हुनुपर्छ । तापक्रम ठ्याक्कै मिलाउन सकिएन भने स्वास्थ्यका लागि हानिकारक विषाक्त ग्याँस निस्किन्छन् ।

    यो योजना चीन, सिङ्गापुरलगायत विकसित देशमा राम्ररी सञ्चालन भए पनि भारतमा भने प्रदूषणको समस्या देखिएकाले विरोध हुँदै आएको थियो । भारतले करिब एक दशकअघि सयओटा जति इन्सिनेरेटर मेसिन राख्ने योजना ल्याएको थियो । केही ठाउँमा जडान भएका थिए तर राम्ररी चलेनन् । दिल्लीकै विभिन्न ठाउँमा रहेका यस्ता मेसिनमा समस्या देखिएपछि बन्द गरिए । भारतको प्राविधिक क्षमता हाम्रो दाँजोमा निकै सबल छ तर उनीहरूले पनि आगोमा फोहोर जलाउने विधि सफल रूपमा प्रयोग गर्न सकिरहेका छैनन् भने नेपालमा हचुवा भरमा इन्सिनेरेटर प्रयोग गर्नु घातक हुन सक्ने वातावरणविद्को राय थियो ।

    प्राविधिक जटिलता भनेको कठोर यथार्थ हो । बालेनले त्यो कठोर यथार्थलाई सामान्यीकरण गर्न खोजे । यसमा आफूले जतिसुकै हावादारी कुरा गरेको भए पनि त्यस विपरीतका तथ्य स्वीकार नगर्ने र आफ्नै कुरामा अड्डी कसिराख्ने उनको स्वभाव झल्किन्छ । आखिरमा त्यति बेला उनले ‘दिल्लीले गर्न नसकेको काम हामी गरेर देखाउँछौँ’ भनेर देखाएको आत्मविश्वास पानीको फोका साबित भयो । उनले तीन वर्षको कार्यकालमा एकचोटी पनि इन्सिनेरेटरको नाम लिएनन् ।

    फोहोरमैला व्यवस्थापनकै सवालमा बालेनले घरघरमै कुहिने र नकुहिने फोहोर अलग अलग राख्ने प्रणाली लागु गर्छु भनेका थिए । यी दुई खालका फोहोर उठाउन महानगरले फरक फरक दिन गाडी पठाउने योजना सुनाएका थिए । व्यावहारिक रूपले कार्यान्वयन गर्न चुनौतीपूर्ण भए पनि यो योजना सम्भव थियो । यसका लागि काठमाडौँ महानगरपालिकाले सूचना पनि निकालेको थियो । त्यही सूचनाका आधारमा काठमाडौँवासीले केही समयसम्म कुहिने र नकुहिने फोहोर अलग अलग राख्न सुरु पनि गरेका थिए तर त्यसरी अलग अलग राखिएको फोहोर अलग अलग सङ्कलन गर्ने गाडी कहिल्यै आएन । कार्यान्वयन गर्न सम्भव योजना साकार पार्न पनि बालेन कहिल्यै गम्भीर देखिएनन् ।

    काठमाडौँको फोहोरमैला समस्या आज पनि उस्तै छ, जस्तो तीन वर्षअघि थियो तर धेरैलाई बालेन आउनेबित्तिकै काठमाडौँबाट फोहोरको डुङ्गुर हटेर सहर सफा भयो भन्ने भ्रम छ । यस्तो भ्रम फैलिनुका पछाडि कारण छ । बालेनको निम्ति सुखद संयोग यो हो– सङ्घीय सरकारले काठमाडौँ उपत्यकाका लागि निर्माण गरेको बञ्चरेडाँडा डम्पिङ साइट ठ्याक्कै त्यही बेला तयार भयो, जब बालेन चुनाव जितेर मेयर भएका थिए । त्यही भएर उनी आउनुभन्दा अगाडि काठमाडौँमा थुप्रिएको फोहोरमैला स्वत: उठ्न थाल्यो र बञ्चरेडाँडामा व्यवस्थापन गरिन थाल्यो ।

    उनले काठमाडौँको मेयरका रूपमा कुहिने/नकुहिने फोहोर छुट्टयाउने काम नगरेकाले अहिले पनि यी दुवै फोहोर लगेर बञ्चरेडाँडामा थुपारिँदै आएको छ । यसले बञ्चरेडाँडा डम्पिङ साइट भरिन लागेको छ । कुहिने फोहोर छुट्टयाएर नकुहिने फोहोर मात्र लगेको भए बञ्चरेडाँडा यति चाँडै भरिँदैनथ्यो । दुर्गन्ध र प्रदूषणको समस्या आउँदैनथ्यो । त्यही समस्याले आज पनि बञ्चरेडाँडा काठमाडौँसँग रुष्ट छ । बेला बेला फोहोरका गाडीको बाटो छेक्छ । असन्तुष्ट बञ्चरेडाँडा फेरि पहिलेजस्तै आन्दोलित भएको दिन काठमाडौँ पनि पहिलेजस्तै फोहोरले दुर्गन्धित हुनेछ । फोहोरको यो समस्या बालेनले थाती राखेर आफूपछिका मेयरको टाउकोमा सारिदिएका छन्।

    बालेनले काठमाडौँ धुलोमुक्त गर्न सहरमा छिर्ने गाडीलाई थानकोटतिर धोइपखाली गराउने र सहरका सडक निरन्तर सरसफाइ गर्ने घोषणा पनि गरेका थिए । सहरका सडक सरसफाइ गर्नु नयाँ काम भएन, जहाँसम्म काठमाडौँ भित्रिने गाडी धोइपखालीको योजना छ, त्यो पनि आजसम्म कार्यान्वयन भएको छैन ।

    ५. काठमाडौँको सम्पदा र संस्कृति संरक्षण

    काठमाडौँ कोरसिटीको सम्पदा र संस्कृति पुरानै स्वरूपमा फर्काउने पनि बालेनको योजनामा थियो । उनी न्युरोड र बसन्तपुरदेखि ठमेल र थँहिटीसम्मका भित्री बस्तीका सडकमा ढुङ्गाको सट्टा इँटा छाप्छु भन्थे । भित्री बस्तीमा सवारीसाधन निषेध गर्ने र त्यहाँका प्रत्येक घरपरिवारलाई आफ्नो अगाडि स्थानीय परिकारको व्यवसाय गर्न प्रोत्साहित गर्ने योजना पनि सुनाएका थिए । स्थानीय जात्रापर्व मनाउन पैसाको कमी भएकाले सबै जात्रापर्व र गुठीलाई जाने खर्च बढाउने र यहाँका जात्रामा सिङ्गो काठमाडौँ सरिक हुने वातावरण बनाउने बाचा गरेका थिए । उनले भक्तपुरले जस्तै काठमाडौँका सम्पदास्थल जनसहभागितामा स्थानीय कालीगढबाटै बनाउने योजना सुनाएका थिए ।

    काठमाडौँमा संस्कृति र सम्पदा संरक्षणको काम विशिष्ट होइन भन्ने भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति र ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गरेका कामले नै देखाउँछ । आज पनि बसन्तपुर दरबार क्षेत्रको दाँजोमा पाटनको मङ्गलबजार दरबार क्षेत्र र भक्तपुर दरबार क्षेत्र कता हो कता सुन्दर छ । काठमाडौँका मान्छेधरि साँझको समय मङ्गलबजार घुम्न जाँदा ‘आहा’ भन्छन् । बिदाको दिन भक्तपुर गए मोहित हुन्छन् ।

    कोरसिटी संरक्षणमा पनि काठमाडौँभन्दा पाटन र भक्तपुर धेरै अगाडि छ, सम्पन्न छ । भक्तपुरले त कोरसिटीका निजी घरमा समेत मल्लकालीन आर्किटेक्चरलाई पुनर्जीवन दिएको छ । यो काम काठमाडौँमा पनि गर्न सकिन्थ्यो । बालेनले यो सङ्घीय राजधानी सहरको संस्कृति र सम्पदालाई जति समृद्ध बनाएका छन्, त्योभन्दा कम होइन बरु बढी नै समृद्ध पाटन, भक्तपुर वा बुङमती बनेका छन् ।

    ६. ट्राफिक व्यवस्थापन

    बालेनले ट्राफिक व्यवस्थापनका योजना पनि अघि सारेका थिए । घाटामा चलिरहेका डिपार्टमेन्टल स्टोर र मल भाडामा लिएर तिनलाई बहुतले पार्किङस्थलमा परिणत गर्ने उनको योजना थियो । ट्राफिक व्यवस्थापनका लागि विभिन्न अफिस खुल्ने र बन्द हुने समय पनि अदलबदल गर्छु भनेका थिए ।

    ‘अहिले काठमाडौँ एकैचोटी जाग्छ, एकैचोटी सुस्ताउँछ । यो समय तालिका फेरेर बिहान ८ बजेभित्र सबै स्कुल खुल्यो भने त्योभन्दा अगाडि नै स्कुलका गाडी विद्यार्थी छाडेर आआफ्नो ठाउँमा फर्किसक्छन् । त्यसको दुई घन्टापछि सरकारी कार्यालय खुल्छन् । त्यसपछि बजार, सपिङ कम्प्लेक्स, न्युरोडका सुनपसल, कपडा पसल दिउँसो १२ बजेतिर मात्र खोल्ने हो भने ट्राफिक समस्या केही हदसम्म हल हुन्छ’ उनले भनेका थिए ।

    त्यस्तै, आइटी (सूचना प्रविधि) कम्पनी र त्यस्तै किसिमका अरू कार्यालय दिउँसो २–३ बजेतिर मात्र खुल्ने हो भने पनि सवारी चाप खुकुलो हुने उनको भनाइ थियो । सहरलाई जागा राख्न नगर प्रहरी थपेर सुरक्षाको प्रबन्ध मिलाउने र सहरभरि दशौँ हजार सिसिटिभी क्यामरा जडान गरेर चौबिसै घन्टा निगरानी गर्ने उनले बताएका थिए तर काठमाडौँ अहिले पनि आफ्नै गतिमा उठ्छ, आफ्नै गतिमा सुत्छ । बालेनले भनेजस्तो न सहरको समय तालिका फेरियो, न यो सहर रातभरि जागा हुन सक्यो ।

    ७. सार्वजनिक यातायात

    काठमाडौँको अर्को मुख्य समस्या सार्वजनिक यातायात हो । थोत्रा गाडीमा कोचाकोच यात्रा गर्न जनता बाध्य छन् । यसलाई हल गर्ने उपाय पनि बालेनले घोषणा गरेका थिए ।

    सबै सार्वजनिक गाडीलाई एउटा कम्पनी मातहत ल्याउने र त्यही कम्पनीले एउटै ब्रान्डका रूपमा गाडी चलाउने उनको योजना थियो । यसो गर्दा प्रिपेडकार्ड प्रणाली लागु गर्न सकिने र दैनिक, साता वा महिनावारी पैसा तिरेर एउटै कार्डले सहरभरि यात्रा गर्न सकिने उनले बताएका थिए । ‘महानगर आफैले बिजुली गाडी प्रवद्र्धन गर्नेछ’ उनले भनेका थिए– ‘अहिले सार्वजनिक यातायातमा संलग्न व्यवसायीलाई पनि पुराना गाडी थन्क्याएर बिजुली गाडी किन्न प्रोत्साहन गरिनेछ ।’

    सार्वजनिक यातायात प्रणाली सुधार गर्ने बालेनयोजना कति पूरा भयो, कति भएन ? त्यो काठमाडौँ नगरवासीलाई राम्ररी थाहा छ । काठमाडौँ घुम्न मात्र आउनेले पनि भोगेकै छन् ।

    ८. स्रोतसाधन भएर पनि हुन सकेन काम

    स्रोतसाधनकै अनुपातमा हेर्ने हो भने बरु काठमाडौँ महानगरले आफूसँग भएको बजेटको दाँजोमा धेरै कम काम गर्‍यो । सङ्घीय राजधानीको हैसियतमा काठमाडौँसँग विकास बजेटको कमी छैन । काम गर्न नसकेर अर्बौं बजेट यसै थन्किएर बसेको छ । यो बालेन मेयर भएर आएपछिको समस्या होइन, त्योभन्दा अगाडिदेखिकै हो तर बालेनजस्तो तिलस्मी योजना लिएर आएका र स्ट्रक्चरल इन्जिनियर भएकाले विकास निर्माणको राम्रो ज्ञान भएको दाबी गर्ने मेयरले पनि विकास खर्च बढाउन सकेनन् ।

    देशका अन्य महानगरको तुलनामा विकास बजेट सबभन्दा कम खर्च गर्ने काठमाडौँ नै हो । बालेनले आफ्नो कार्यकाल सुरु गरेको वर्ष काठमाडौँ महानगरको पुँजीगत बजेट १४ अर्ब ४८ करोड रुपैयाँ थियो, जसमध्ये ३ अर्ब ७५ करोड मात्र खर्च भयो । त्यसै वर्ष ललितपुर महानगरले ५ अर्ब ११ करोड बजेटमध्ये २ अर्ब ५३ करोड खर्च गरेको थियो भने भरतपुर महानगरले ३ अर्ब १८ करोड बजेटमध्ये २ अर्ब ३४ करोड खर्च गरेको थियो ।

    गत आर्थिक वर्ष २०८१/८२ सम्म आइपुग्दा पनि पुँजीगत खर्चमा काठमाडौँले खासै प्रगति गरेको देखिँदैन । यस अवधिमा काठमाडौँले १५ अर्ब बजेटमध्ये जम्मा ६ अर्ब ७३ करोड खर्च गरेको थियो । यसको तुलनामा ललितपुरले साढे ४ अर्ब बजेटमध्ये २ अर्ब ७० करोड खर्च गर्‍यो भने भरतपुरले २ अर्ब ७२ करोडमध्ये १ अर्ब ६८ करोड खर्च गरेको तथ्याङ्क छ ।
    जान्ने मान्छे राम्रो हो तर कहिलेकाहीँ धेरै जान्ने वा सबै जान्ने मान्छे धेरै राम्रो होइन । बालेनले आफ्नो तीन वर्षको कार्यकालमा यसलाई प्रमाणित गरेर गएका छन् ।

    ९. साना व्यवसायीमाथिको दमन र बालेनको नगरप्रहरीको दम्भ

    बालेनको सबभन्दा अँध्यारो पक्ष हो, उनी शक्तिको आडमा अमानवीय तुजुक देखाउँछन् । उनले काठमाडौँ महानगरको मेयरका रूपमा देखाएका अमानवीय तुजुकका दर्जनौँ उदाहरण छन् । उनले धनीगरिब दुवैमाथि समान रूपले यस्तो तुजुक देखाएका छन्, आफ्ना प्रतिद्वन्द्वीमाथि पनि तुजुक देखाएका छन्।

    पछिल्लो तीन वर्षमा बालेनको निर्देशन र उनले काठमाडौँ महानगरको नगर प्रहरी प्रमुख बनाएका राजु पाण्डेको नेतृत्वमा सडककिनार व्यापार गर्ने साना व्यवसायीका ठेला लखेटी लखेटी खोसेका थिए । त्यस्ता धेरै भिडिओ सामाजिक सञ्जालमा भाइरल छन् । काठमाडौँका जनताले ती घटना प्रत्यक्ष देखे–भोगे नै, काठमाडौँबाहिरका जनताले पनि सामाजिक सञ्जालमा त्यस्ता भिडिओ हेर्न सक्छन् ।

    तरकारी बेच्ने, खानेकुरा बेच्ने, खिद्रीमिद्री सामान बेच्ने साना र निर्वाहमुखी व्यवसायीमाथि बालेनले गरेका धरपकडका कति दृश्य हृदयविदारक नै छन् । ती व्यवसायी हात जोडेर बिन्ती गर्छन्, आँसु झार्छन् तर नगर प्रहरीको अमानवीयताका अगाडि उनीहरूको कुनै जोर चल्दैन ।

    आफ्नो थातथलो छाडेर रोजीरोटीका लागि राजधानी सहर आएका सडक व्यवसायीको ठेला र त्यसमाथि उनीहरूले बसालेको व्यवसायको जग उखेलेर बालेनले उनीहरूको उठिबास लगाउन कुनै कसर छाडेनन् । ती भिडिओ हेर्दा हामीलाई बालेन शाह ‘परपीडक’ जस्ता लाग्छन्, जो काठमाडौँमा जीविका गरिरहेका गरिबलाई रुवाइरहेका छन् र काठमाडौँको सौहार्द, समावेशी र सहभागितामूलक सभ्यता मार्दैछन् ।

    भिडिओमा काठमाडौँका नगर प्रहरीमा पलाएको दम्भ र अहङ्कार पनि झल्किन्छ, जो सहरका नागरिकको मुखैनिर औँला तेस्र्याएर धम्क्याउँछन् । नागरिकलाई धकेलाधकेल गर्छन् । उनीहरूसँग घम्साघम्सीमा ओर्लिन्छन् । नगर प्रहरीमा जागेको यो हदसम्मको दम्भ र अहङ्कारको स्रोत स्वयम् बालेन हुन्, जसले ती सडक व्यवसायीमाथि कहिले पनि दया, माया वा सहानुभूति देखाएनन् ।

    कुनै पनि सहरमा दुई किसिमको अर्थतन्त्र समानान्तर रूपले चलिरहेको हुन्छ : एउटा– समृद्ध वर्गको अर्थतन्त्र, जो ठुल्ठुला मल र डिपार्टमेन्टल स्टोरमा किनमेल गर्छ† अर्को– न्यूनमध्यम वर्ग र गरिबको अर्थतन्त्र, जसको उपभोग्य आवश्यकता सडक व्यापारीले सस्तोमा पूर्ति गर्छन् । बालेनले सडक व्यवसायीको ठेला खोसेर, रोजगारविहीन बनाएर उनीहरूको पेटमा मात्र होइन, काठमाडौँमा बसोबास गर्ने तमाम न्यूनमध्यम वर्ग र गरिबको जीवनमा धावा बोलेका थिए ।

    १०. “गरिबको चमेली बोल्दिने कोही छैन”

    काठमाडौँका सडक व्यापारीका लागि जीवनको एउटा ठुलो विडम्बना यो हो : उनीहरूको सङ्घर्ष, उनीहरूको विवशता र उनीहरूको आँसुको मूल्य, जुन र्‍यापगायक बालेनले बुझेका थिए, महानगरको घुम्ने कुर्सीमा बसेका मेयर बालेनले बुझेनन् । राजनीतिमा आउनुभन्दा अगाडि बालेनले धेरै र्‍याप गाए । तीमध्ये एउटा र्‍याप बालेनको बिम्ब बन्यो : गरिबको चमेली बोल्दिने कोही छैन ।

    पञ्चायत विरुद्ध राजनीतिक आन्दोलन क्रममा राल्फा समूहले सिर्जना गरेको यो गीतले गरिबलाई सदियौँदेखिको गरिबी र उत्पीडनबाट मुक्त गर्ने भाव बोकेको छ । बालेनले गरिबी र उत्पीडन विरुद्धको त्यो आगोलाई र्‍यापमार्फत् नयाँ पुस्तामा पुर्‍याए । सायद त्यसले पनि उनलाई महानगरको कुर्सीमा पुर्‍याउन मदत गर्‍यो तर मेयरका रूपमा बालेनका कृत्यले काठमाडौँ सहरलाई गरिबीबाट होइन, गरिबबाट मुक्त गर्न खोज्यो । उनको अभियानले सदियौँदेखि गरिबलाई आश्रय र बाँच्ने आशा दिँदै आएको काठमाडौँ सहरको आत्मा नै मार्‍यो ।

    पछिल्लो समय सडक व्यवसायीमाथिको धरपकड कम भएको छ । यसको कारण बालेनमा पलाएको संवेदना होइन, यी लगायतका केही सामाजिक अभियानीले सडक व्यवसायीका पक्षमा उठाएको आवाज हो । सञ्चारमाध्यमले निरन्तर उठाएको आवाज हो । स्वयम् सडक व्यवसायीले महानगर विरुद्ध छेडेको आन्दोलन हो । त्यही आन्दोलनका कारण अहिले काठमाडौँका सडकमा एकाबिहानै र राति ९ बजेपछि सडक व्यवसाय गर्न पाइने नियम लगाइएको छ ।

    यति सामान्य कुराको निम्ति पनि बालेनले तीन वर्षमा धेरैको आँसु बगाए, धेरैको रोजीरोटी खोसे, धेरैका पेटमा लात मारे जबकि यही नियम ललितपुर, भक्तपुरलगायत स्थानीय तहमा पहिल्यै थियो ।

    ११. बालेनको डोजर आतङ्क

    बालेनले देखाएको अर्को अमानवीय तुजुक हो, सुकुम्बासीका झुप्रो उखेल्न डोजर लिएर जानु । गैरकानुनी रूपले नदीकिनारको जग्गा अतिक्रमण गरेर बसेका नक्कली सुकुम्बासी हटाउनुपर्छ भन्नेमा कुनै दुबिधा छैन तर उनीहरूलाई हटाउने नाममा सक्कली सुकुम्बासीको पनि उठिबास लगाउनु न्यायोचित होइन ।

    बालेनले भने काठमाडौँको मेयरका रूपमा सक्कली र नक्कली सुकुम्बासी छुट्याउने विधिप्रक्रिया बेवास्ता गरे र “मै अदालत हुँ, मै राज्य हुँ, न्याय दिने पनि मै, दण्डित गर्ने पनि मै” भन्ने भावमा सिङ्गो सुकुम्बासी बस्तीलाई डोजरमुनि पेल्न खोजे ।

    लगभग देशका सबै महानगरमा सुकुम्बासी समस्या छ । सबै महानगरमा सक्कली र नक्कली सुकुम्बासी छन् । यसको समाधान गर्न को सुकुम्बासी हुन् र को होइनन् भनेर छुट्याउन जरुरी छ । त्यसका लागि सुकुम्बासी बस्तीमै गएर लगत सङ्कलन गर्नुपर्छ । त्यो अरूको होइन, महानगरकै जिम्मेवारी हो । काठमाडौँका हकमा बालेनकै जिम्मेवारी थियो ।

    राज्यले सही सुकुम्बासी पहिचान गरेर तिनलाई बसोबास व्यवस्थापन गर्ने नीति बनाएको छ । उनीहरूप्रति आफ्नो जिम्मेवारी हुन्छ भनेर राज्यले मानेको छ। सामाजिक न्यायका दृष्टिले पनि यो राज्यको आधारभूत जिम्मेवारी हो ।

    आज भरतपुर, वीरेन्द्रनगरलगायत धेरै महानगर/नगरपालिका सुकुम्बासीको लगत सङ्कलन गरेर समस्या समाधानमा अघि बढिसकेका छन् । काठमाडौँ महानगर भने अहिलेसम्म सुकुम्बासीको लगत सङ्कलन गर्न तयार नै छैन । उसको अडान छ : सबै अतिक्रमणकारी भएकाले लगत सङ्कलन नगर्ने । सबैलाई डोजर र प्रहरी लगाएर बलप्रयोग गर्दै रक्तपातपूर्ण भिडन्तबाट भए पनि हटाउनुपर्ने बालेन शाहको जिकिर रह्यो । त्यसैका लागि उनले धेरैपटक प्रयत्न गरे । हरेकपटक सुकुम्बासीसँग मुठभेड भएपछि काठमाडौँ महानगर पछाडि हट्न बाध्य भयो ।

    बालेनले सुकुम्बासी समस्या समाधान गर्न भूमि आयोगसँग सम्झौतामा हस्ताक्षर नगरेका होइनन् । आफ्नो कार्यकालको सुरुआतमै गरेका थिए तर पछि गएर उनी आफूले हस्ताक्षर गरेको सम्झौताबाट आफै पछि हटे । सुकुम्बासी पहिचान गर्न राज्यले केही नगरेकाले म आफै अघि सरेँ भनेर नेतालाई गाली गर्न र जनतामा भ्रम छर्न उद्यत भए ।

    १२. सिंहदरबारको फोहोर उठाउने धम्की

    आफ्नो काम नगरी अर्कालाई गाली गर्ने र राज्यका नीतिकानुनको खिल्ली उडाउने छुट कसैलाई छैन, बालेनलाई पनि छैन । उनले कतिसम्म तुजुक देखाए भने सुकुम्बासीमाथि बलप्रयोग गर्न प्रहरी उपलब्ध गराइएन भनेर सिंहदरबारसँगै रिसिइबी मोले ।

    आफ्नो तीन वर्षे कार्यकालको एउटा समयमा सिंहदरबार र राष्ट्रपति भवनमा फोहोर उठाउन बन्द गर्ने निर्देशन दिएका थिए उनले । फोहोर उठाउन बन्द गरेको सूचना दिँदै आफ्नो फेसबुकमा लेखेका थिए– ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साँच्चिकै देश सफा गर्नुपरे त्यहाँका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ ।’ बालेनको त्यो अभिव्यक्ति र काम दुवै गैरजिम्मेवार र अराजक थिए । त्यसले पदीय मर्यादा र सीमाको धज्जी उडाएको थियो ।

    सार्वजनिक पदमा बसेको मानिसले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ र त्यो पदको गरिमा राख्नुपर्छ । सँगसँगै, सार्वजनिक पदमा बस्ने मान्छेले अरूको गरिमाको पनि ख्याल गर्नुपर्छ । सिंहदरबारमा सबै ‘चोर’ बस्छन् र सिसडोलमा फाल्नलायक छन् भन्नु बालेनको दम्भ र बहुलठ्ठीपनभन्दा बढ्ता अरू केही थिएन ।

    सिंहदरबार होस् वा बागदरबार, त्यहाँ बस्ने नेताका कमजोरी पनि हुन्छन्, सबल पक्ष पनि हुन्छन् । उनीहरूलाई यी दुवै ठाउँमा जनताले निर्वाचित गरेर पठाएका हुन् । सबै जना आआफ्ना सीमा र मर्यादामा बसेर मिलेर काम गरुन् अनि मुलुकका समस्या समाधान गरुन् भन्ने जनताको अपेक्षा हो । बालेनले भने आफू मात्र ठिक र अरू सबै ‘सिसडोलमा फाल्नलायक’ भन्ने मनोरोग देखाए ।

    उनले अरूको कामको आलोचना गर्न पाउँछन्, यसो गरौँ भनेर सुझाव दिन पाउँछन्, हात बढाउन पनि पाउँछन् तर अरूलाई गाली गरेर, अरूमाथि दोष थुपारेर उनी आफ्नो जिम्मेवारीबाट भाग्न पाउँदैनन् ।

    त्यति बेला उनले सिंहदरबारको फोहोर नउठाउने आफ्नो निर्णयको बचाउ गर्दै सङ्घीय सरकारका १४ ओटा मन्त्रालयले आफूलाई के के काममा असहयोग गरे भनेर फेहरिस्त सार्वजनिक गरेका थिए । उनले उठाएका बहुसङ्ख्यक विषय उनको कार्यक्षेत्रभित्रका थिएनन् । एक नागरिक र मेयरका रूपमा त्यसमा उनको सरोकार हुन सक्छ, उनले त्यसमा बोल्न र सुझाव दिन पनि पाउँछन् तर आफ्नो जिम्मेवारी नै नभएको विषयमा अरूले सहयोग गरेनन् भनेर प्रधानमन्त्री कार्यालय र राष्ट्रपति कार्यालयको फोहोर उठाउनबाट रोक्न पाउँदैनन् ।

    मेयरले सहयोग गरेनन् भनेर सङ्घीय सरकारले पनि काठमाडौँ महानगरपालिकामा जाने बजेट रोक्ने वा कर्मचारी नपठाउने काम जसरी अकल्पनीय र गैरजिम्मेवार हो, महानगरले प्रधानमन्त्री र राष्ट्रपति कार्यालयको फोहोर नउठाउने कुरा त्यति नै अकल्पनीय र गैरजिम्मेवार हो । बालेन शाहले आफ्नो कार्यकालमा यस्तै अकल्पनीय काम गरेका थिए ।

    १३. टुकुचा खोला प्रकरण

    काठमाडौँ महानगरपालिकाले उनकै कार्यकालमा हात्तीसारको जयनेपाल हलदेखि काठमाडौँ प्लाजासम्मका घरघरमा डोजर चलाएर जमिनको सतहभन्दा १५ फिटमुनि इँटाको गुम्बज शैलीको सुरुङभित्र बगिरहेको टुकुचाको भूमिगत अंश उत्खनन् गरेको थियो । नारायणहिटी दरबार सङ्ग्रहालय परिसरबाट बाहिर निस्केदेखि टुकुचा सतहमा देखिँदैन । यो भूमिगत बग्दै तीनधारा मार्गको काठमाडौँ प्लाजामुनि आइपुगेपछि मात्र बाहिर निस्किन्छ । यसबिचको करिब ५ सय मिटर खण्डमा टुकुचा जमिनमुनि बग्छ ।

    बालेनले टुकुचाको यो भूमिगत खण्ड उत्खनन् गर्दा यहाँ भूमिमाफियाले खोला पुरेर भौतिक संरचना खडा गरे भन्ने न्यारेटिभ बनाए । त्यही न्यारेटिभको आधारमा उनले कानुनअनुसार जग्गा किनेका र महानगरबाटै नक्सापास गरेर बनाइएका घरमाथि पनि गैरकानुनी डोजर चलाए । बालेनको उक्त कदमलाई सर्वोच्च अदालतले नै गैरकानुनी भन्दै रोक लगाएको थियो । त्यति बेला बालेनले रीतपूर्वक बसोबास गरेकाको घरमा डोजर चलाउने दुस्साहस मात्र गरेनन्, उनले काठमाडौँ सहरको एउटा ऐतिहासिक तथ्य नजरअन्दाज गरे ।

    टुकुचाको यो भूमिगत खण्ड कुनै भूमाफियाले बनाएको होइन, कुनै व्यक्ति वा समूहले यस्तो गुम्बज शैलीको सुरुङ खनेर त्यसमा खोला बगाउने काम गर्नै सक्दैन । राज्यको संलग्नताविना यो सम्भवै छैन । यति सानो कुरा पनि बालेनले स्वीकार गरेनन् वा गर्न चाहेनन् ।

    टुकुचा खोलाको त्यो भूमिगत खण्डको ऐतिहासिक यथार्थ हो– त्यो १९४९ सालमा राणा प्रधानमन्त्री वीर समशेरले बनाउन लगाएका हुन् । वीर समशेरले टुकुचा खोलालाई जमिनमुनि बगाएर त्यसमाथि पटाङ्गिनी अर्थात् खुला चौर बनाएका थिए । करिब ५ सय मिटर लामो सुरुङ संरचनाको डिजाइन र निर्माण तत्कालीन इन्जिनियर जोगवीर स्थापितले गरेका थिए । यसरी राणाकालमा बनेको पुरातात्त्विक संरचना खोतल्न वा भत्काउन पुरातत्व ऐनले पनि रोक लगाउँछ । बालेनले आफ्नो शक्तिको तुजुक देखाउन यो कानुनको धज्जी उडाए ।

    यति मात्र होइन, उनले टुकुचाको सुरुङ भत्काएर खोला खुला गर्ने र त्यसवरिपरि पार्क बनाउने तिलस्मी योजना पनि बेचे । उनको त्यो योजना कार्यान्वयन गर्न कम्तीमा ५० ओटा घर भत्काउनुपथ्र्यो, जसको लागत निकै ठुलो थियो । महानगरले नै ६ अर्ब रुपैयाँ बराबरका संरचना भत्काउनुपर्ने भनेको थियो ।

    टुकुचामा बालेनले निरर्थक तुजुक देखाएका हुन् भनेर यसकारण पनि भन्न सक्छौँ, उनले आफ्नो कार्यकालमा बागमती, विष्णुमती, धोबीखोलालगायत नदीखोलाको सरसफाइ र तिनलाई ढलबाट मुक्त गर्ने काम कहिल्यै गरेनन् । विगतमा बागमती नदी सरसफाइको जुन योजना काठमाडौँले सुन्दै आयो, त्यसलाई कार्यान्वयन गर्छु भनेर पनि बालेनले कहिल्यै भनेनन् ।

    टुकुचा पुनस्र्थापना नै गर्ने अभिप्राय थियो भने पनि करिब ६ किलोमिटरको टुकुचामा साढे ५ किलोमिटर त खुला छँदैछ । भूमिगत सुरुङ खोतल्न छाडेर जहाँ जहाँ सम्भव छ, त्यहाँ त्यहाँको पानी सरसफाइ गर्न सकिन्थ्यो । हात्तीसार क्षेत्र छाडेर सम्भव भएका बाँकी ठाउँमा पार्क बनाउने र त्यहाँ नौका विहार गराउने उनको योजना कार्यान्वयन गर्न सकिन्थ्यो । ती ठाउँमा काम गरेर देखाएपछि र त्यहाँ कलकल पानी बगाइसकेपछि बल्ल महानगरले सबैको विश्वास जित्न सक्थ्यो तर गर्न सकिने वा गर्नुपर्ने नदीखोला पुनस्र्थापनाका तमाम काम थाती राखेर बालेन एकोहोरो टुकुचाको त्यही ५ सय मिटर खण्ड खाली गराउने ढिपीमा लागिरहे । तबसम्म लागिरहे, जबसम्म सर्वोच्च अदालतले नै उनलाई रोक लगाइदिएन ।

    हात्तीसार मात्र होइन, उनले काठमाडौँका थुप्रै ठाउँमा राज्य र महानगरले नै स्वीकृति दिएर बनाइएका घर विनाक्षतिपूर्ति र ती घरधनीसँग विनासहमति भत्काएका थिए । कसैले बसोबास गरिरहेको वा व्यवसाय गरिरहेको ठाउँमा डोजर चलाउनुअघि उनले कानुनी रूपमा अपिल गर्ने मौका पनि दिएनन् । उनले विधि, कानुन, संस्था, प्रक्रिया केही पनि नमान्ने र आफूबाहेक अरू कसैलाई पनि नगन्ने अवैध तुजुक देखाए ।

    १४. सिंहदरबार जलाउने धम्की

    बालेन शाहको तुजुकको पराकाष्ठा त त्यति बेला झल्कियो, जब उनले आफ्नी पत्नी चढेको गाडी ट्राफिक प्रहरीले रोकेपछि सामाजिक सञ्जालमा सिंहदरबार जलाउने धम्की दिए । यो घटना २०८० भदौ १६ गतेको हो । शनिबारको दिन थियो । राति ९ बजेतिर ललितपुरको बालकुमारीबाट कोटेश्वरतिर सरकारी नम्बरप्लेटको गाडी तीव्र रफ्तारमा हुइँकिएको देखेपछि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले रोके । ती ट्राफिक प्रहरीले ‘बिदाको दिन सरकारी गाडी चलाउने अनुमतिपत्र बोक्नुभएको छ’ भन्दै सोधखोज गरे । त्यो नियमित ट्राफिक जाँच थियो । त्यस क्रममा सरकारी नम्बरप्लेटको गाडीमा काठमाडौँका मेयर बालेन शाहकी श्रीमती सवार छिन् भन्ने थाहा पाएपछि ट्राफिकले गाडी जान दिए ।

    बिदाको दिन गुडिरहेको सरकारी गाडीको नम्बरसमेत टिपिएन । त्यही झोँकमा बालेनले त्यसै रात सामाजिक सञ्जालमा आफ्नो रिस पोखे– ‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख् चोर सरकार ।’ फर्केर हेर्ने हो भने सिंहदरबार जलाइदिन्छु वा सिंहदरबार पनि जलाउन सकिन्छ भन्ने विचारको बिउ आम मानिसको मस्तिष्कमा रोपिएको त्यही बेला हो ।

    यसरी आफ्नी पत्नी चढेको गाडी रोकिएपछि बालेनले काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई राति नै फोन गरेका थिए र काठमाडौँ महानगरपालिकाको गाडीजाँच गर्नुको कारण सोधखोज गरेका थिए । यसरी काठमाडौँ महानगरको गाडीलाई सडकमा कसैले रोक्नै हुँदैन भन्ने मनसाय राख्नु आफैमा तुजुकको पराकाष्ठा हो ।

    ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई सबै गाडी रोकेर सोधपुछ गर्ने हक हुन्छ । यदि सर्वसाधारणका गाडी रोकिन्छन्, बिदाको दिन गुडिरहेका सरकारी नम्बरप्लेटका अरू गाडी रोकिन्छन् भने काठमाडौँ महानगरको गाडीलाई छुट दिनुपर्ने कुनै कारण छैन । यस्तोमा जिम्मेवार जनप्रतिनिधिका हैसियतमा बालेनले माफी माग्नु त परै जाओस्, उल्टै सरकारलाई ‘चोर’ भन्ने र सिंहदरबार जलाइदिन्छु भनी धम्की दिने दुस्साहस गरे ।

    आफ्नी श्रीमती चढेको गाडी ट्राफिक जाँचमा पर्‍यो भन्दैमा सिंहदरबार नै जलाइदिन्छु भन्ने यस्तो बहुलठ्ठी अभिव्यक्ति कसले दिन्छ ? कस्तो मानसिकताको व्यक्तिले दिन्छ ? यस्तो अभिव्यक्ति दिने व्यक्तिको दिमागमा शक्तिको कति ठुलो तुजुक सवार थियो भन्ने यसै छर्लंग हुँदैन र ?

    १५. तुजुकको सिकार आफ्नै प्रप्रअ पनि

    तुजुक देखाउने मामिलामा बालेनले आफ्नै कर्मचारीलाई पनि छाडेनन् । उनले काठमाडौँ महानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसँग पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ टावरको नक्सापासलाई लिएर रिसिइबी नै साधेका थिए । विवाद बढ्दै गएपछि गुरागाईंलाई कार्यालय छिर्न रोक लगाएका थिए ।

    काठमाडौँ टावरको नक्सापास गर्दा गुरागाईंले भ्रष्टाचार गरेको बालेनको आरोप थियो । त्यो उनको व्यक्तिगत आरोप मात्र थियो, कुनै छानबिनबाट पुष्टि भएको थिएन । सङ्घीय सरकारले बालेनको त्यो आरोप मानेन । गुरागाईंबाट भ्रष्टाचार भयो भन्ने प्रमाणित नभएकाले उनलाई नै काममा फर्काउनुपर्ने सङ्घीय सरकारको अडान रह्यो ।

    काठमाडौँ टावरको नक्सापास प्रकरणबारे खोजी गर्दा उक्त नक्सापास गर्न मेयरका रूपमा बालेनले नै स्वीकृति दिएको देखियो । नक्सापाससम्बन्धी निर्णयमा स्वयम् बालेनले हस्ताक्षर गरेका थिए । सुरुको सम्झौताअनुसार काठमाडौँ टावर २०७६ सालमै बनिसक्नुपर्ने थियो तर पटक पटक समय थप्दै निर्माण गरिएको काठमाडौँ टावरको नक्सापास नै नभएको तथ्य त्यति बेला फेला पर्‍यो, जब बालेन शाह काठमाडौँको मेयर निर्वाचित भएर महानगर छिरे ।

    नक्सापास नै नभएको फेला परेपछि बालेनले २०८० पुस २ गते ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द विकोई जेभीलाई पाँच लाख रुपैयाँ जरिवाना तोके । त्यही बेला जरिवानासँगै कानुनबमोजिम दस्तुर तिरेर काठमाडौँ टावरको नक्सा स्वीकृति दिने निर्णय पनि भएको थियो । निर्णयमा बालेनले नै हस्ताक्षर गरेका थिए ।

    यसरी आफैले हस्ताक्षर गरेको नक्सामा किचलो झिकेर बालेनले आफ्ना प्रमुख प्रशासकीय अधिकृत गुरागाईंमाथि भ्रष्टाचारको आरोप लगाउँदै महानगर छिर्न दिएनन् । यसले महानगरका कर्मचारीको तलबदेखि विकास निर्माणका काम ठप्प भएपछि वडाध्यक्ष र कर्मचारीले बालेनको निर्देशन विपरीत गुरागाईंलाई महानगर कार्यालय प्रवेश गराए । त्यति बेला गुरागाईंलाई कार्यालय प्रवेश गर्न नदिन बालेनले महानगर कार्यालय परिसरमा आफ्ना विश्वासपात्र राजु पाण्डेको नेतृत्वमा नगर प्रहरीको टोली नै परिचालन गरेका थिए ।

    १६. आफूबाहेक कसैलाई नगन्ने

    बालेनको तुजुक र आफूबाहेक अरू कसैलाई नगन्ने बानीको सबभन्दा पछिल्लो उदाहरण गत मङ्सिरमा देखिएको थियो, जब प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ उपत्यकाका मेयरलाई सामूहिक कुराकानी गर्न बालुवाटार डाकेकी थिइन् तर बालेन सहभागी भएनन् ।

    यति मात्र होइन, उपत्यकाका समस्या सामूहिक छलफलबाट समाधान गर्न र अनुभव आदानप्रदान गर्न गठन गरिएको मेयर फोरमका बैठकमा पनि बालेन आफ्नो कार्यकालभरि जम्मा तीनपटक सहभागी भए । एउटा बैठक त बिचैमा छाडेर निस्केका थिए अर्थात् उनले आफ्नो कार्यकालमा उपत्यकाका अन्य स्थानीय तहका प्रमुखसँग खासै सरसल्लाह र सहकार्य गरेनन् जबकि काठमाडौँका कतिपय समस्या उपत्यकाका अन्य नगरपालिकासँगको सहकार्यविना हल गर्न सम्भवै छैन ।

    यसरी काठमाडौँको मेयरका रूपमा तीन वर्षको कार्यकाल केलाउने हो भने आफूले देखेको, ठानेको सबै ठिक र अरूले सोचेको, भनेको सबै गलत अनि म ठिक, अरू सबै गलत भन्ने मनोवृत्तिबाट बालेन शाह ग्रसित देखिन्छन् ।

    (सेतोपाटी डट कममा २०८२ माघ ९ गते प्रकाशित यो सामग्री सम्पादक सुदीप श्रेष्ठद्वारा तयार पारिएको ‘स्टोरी’ को सम्पादित अंश हो । शीर्षक हामीले परिवर्तन गरेका छौँ ।)

    सोमबार, माघ १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • २.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ३.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ४.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ५.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ६.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ७.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ८.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.