काठमाडौँ । बिमा बोर्डले दाबी भुक्तानी नगर्दा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले स्वास्थ्य बिमाको सेवा नै बन्द गर्ने निर्णय गरेको छ ।
आगामी माघ १ गतेदेखि स्वास्थ्य बिमाअन्तर्गतका सम्पूर्ण उपचार सेवा बन्द गर्ने अस्पतालले जनाएको हो ।
बिमा बोर्डले अस्पताललाई ४० करोड भुक्तानी दिन बाँकी छ । अस्पतालले मासिक करिब पाँच करोड रुपैयाँभन्दा बढी खर्च ब्यहोर्दै आएकोमा बिमा बोर्डबाट ५० प्रतिशत मात्र दाबी स्वीकृत हुँदै भएको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालले उपचार दररेटमा बिमा बोर्ड र अस्पतालबिच ठुलो अन्तर रहेको, पटक पटक ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएको जनाएको छ ।
‘विगत दुई वर्षदेखि आफ्नै आन्तरिक स्रोतबाट दैनिक खर्च धान्दै आएको अस्पतालले अब थप घाटा बिमाको सेवा दिन सक्दैनौँ’ सूचनामा भनिएको छ ।
अस्पतालले विभिन्न आर्थिक वर्षमा दाबी गरेको रकममध्ये ठुलो हिस्सा भुक्तानी हुन बाँकी रहेको अस्पतालका सूचना अधिकारी डा. गोपाल सेढाईंले बताए ।
भुक्तानी अभावले अस्पतालको आन्तरिक स्रोतबाट खर्च धान्न कठिनाइ भएको बताइएको छ ।
बोर्डका अनुसार सूचीकृत स्वास्थ्य संस्थालाई ११ अर्बभन्दा बढी भुक्तानी दिन बाँकी छ । लामो समयदेखि बिमितको उपचार गरेबापतको रकम भुक्तानी नपाएपछि अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम केही हप्ताभित्रै बन्द गर्ने चेतावनी दिएका छन् ।