काठमाडौँ । निजी विद्यालयहरूले सञ्चालन गर्दै आएको अनलाइन कक्षा र दूरशिक्षा मार्फत् हुँदै आएको पठनपाठन साउन १ गतेदेखि बन्द गर्ने भएका छन् । निजी स्कुल सञ्चालकहरूको सङ्गठन प्याब्सन र एनप्याब्सनले बुधबार एक विज्ञप्ती प्रकाशित गर्दै बिहीबारदेखि पठनपाठन रोक्ने जनाएका हुन् ।
प्याब्सन र एनप्याब्सलले आफूहरूले राखेका माग पूरा गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय गम्भीर नबनेको र विद्यालय सञ्चालनका लागि आर्थिक सङ्कट परेको बताउँदै अनलाइन कक्षा बन्द गर्ने र शिक्षक र कर्मचारीलाई बेतलबी बिदा दिने निर्णय गरेको बताएका छन् । उनीहरूले सरकारले भौतिक रूपमा विद्यालय सञ्चालनको अनुमति दिएपछि मात्रै विद्यालय प्रशासन खुल्ला हुने उल्लेख गरेका छन् ।
चार महिनादेखि विद्यालय बन्द हुँदा वैशाखदेखि २ लाख ५० हजार शिक्षक कर्मचारीलाई तलब खुवाउन नसकेको घरभाडा, बैङ्कको किस्ता तथा ब्याज, बिमा, टेलिफोन, बिजुली, इन्टरनेट इत्यादि खर्च धान्न नसक्ने गरी विद्यालयको आर्थिक अवस्था जर्जर रहेको उनीहरूको दावी छ । उनीहरूले शिक्षक, कर्मचारीलाई तलब दिन र अन्य विद्यालयका गतिविधि सञ्चालनका लागि अनलाइन कक्षाको शुल्क लिन पाउनुपर्ने माग राखेका थिए ।
‘दुवै सङ्गठनका तर्फबाट असार १४ गते समस्या समाधानार्थ शिक्षा मन्त्रालयसमक्ष पेश गरेको ज्ञापनपत्रमा उल्लेखित विषयको सम्बन्धमा असार २१ गते मन्त्रालयमा भएको भद्र सहमतिको एक साता बितिसक्दा पनि कुनै ठोस निकास नआएको र थप अन्यौल बढ्दै गएको यस परिस्थितिमा थप गतिविधि सञ्चालन गर्न हामीलाई आर्थिक तथा व्यावसायिक सङ्कट आइपरेकाले अनिश्चिताबिच विद्यालयका प्रशासनिक कार्यालय खोली गतिविधि सञ्चालन गर्नुभन्दा कार्यालय बन्द गरी बस्नु नै उचित विकल्प हो भन्ने हामीलाई महशुस भएको छ’ प्याब्सन अध्यक्ष टिकाराम पुरी र एनप्याब्सन अध्यक्ष ऋतुराज सापकोटाद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ– ‘तसर्थ २०७७ साउन १ गतेदेखि सबै वैकल्पिक शिक्षण सिकाइका क्रियाकलाप स्थगन गरी आफ्ना शिक्षक–कर्मचारीलाई बेतलबी घरबिदा दिने अप्रिय निर्णय गर्न बाध्य भएका छौँ ।’
कोरोनाको महामारी रोकथामका लागि २०७६ चैत ११ गतेदेखि मुलुकभर जारी लकडाउनको कारणले शिक्षण संस्था लगातार पूर्ण रूपमा बन्द रहेका छन् । निजी विद्यालयले वैशाखबाटै अनलाइन कक्षा सञ्चालन गरेको भए पनि सरकारले असार १ गते ‘वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण निर्देशिका’ जारी गरेको थियो । त्यसपछि अनलाइन र वैकल्पिक शिक्षाले मान्यता पाएको थियो ।