काठमाडौं । चितवनको नारायणगढ-मुग्लिन सडक खण्डमा पर्ने १७ किलो भन्ने ठाउँमा सडक भासिएपछि सवारी साधन सञ्चालनमा समस्या भएको छ । सोमबार राति सडक भासिएपछि सवारी साधन एकतर्फी सञ्चालनमा आएका छन् ।
सडक भासिएपछि सोमबार बिहान ग्राबेल हालेर यातायात सञ्चालनमा ल्याइएको थियो । तर, राति पुनः सडक धसिएसँगै सवारी साधन एकतर्फी गरिएको डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीले जानकारी दिनुभयो ।
‘सडक थप धसिएपछि खतरा बढेकाले सवारी सञ्चालन रोकेका छौँ,’ उहाँले भन्नुभयो, ‘सोमबार बिहान यसअघि धसिएको ठाउँमा थप धसिएपछि ग्राबेल हालेर सवारी सञ्चालनमा ल्याइएको थियो । तर, सडक धसिने क्रम थपिएपछि सडकमा ड्रम राखेर एकतर्फी बनाइएका छौँ ।’
नारायणगढ मुग्लिङ सडकखण्डको १७ र २६ किलो भन्ने स्थानमा सडक विस्तार गरेको एक वर्ष नपुग्दै धसिएको थियो । अधिकारीका अनुसार १७ किलोमा तीनदेखि तीन दशमलव पाँच मिटर फराकिलो ३५ मिटर लामो क्षेत्रमा एक फिटभन्दा बढी सडक धसिएको छ ।
त्यस ठाउँमा सडक नौ मिटर फराकिलो छ । सोही ठाउँमा २०६० मा सडकमुनिबाट एङ्कर पर्खाल दिएर निर्माण गरिएको थियो । त्यसैमा समस्या आएको अधिकारीले बताउनुभयो ।
तलबाट त्रिशूली नदीले काटेका कारण एङ्कर पर्खालले काम गर्न छाडेको उनको भनाई छ । दुई वर्षअघि सडक विस्तारको काम सकिएको थियो । सडक निर्माण गरिएको एक वर्ष नपुग्दै सो ठाउँ र २६ किलोमा छ दशमलव पाँच मिटर फराकिलो सडक ७० मिटर लामो भाग धसिएको छ । ती दुवै ठाउँमा मर्मतका लागि बोलपत्र आह्वान गरिएको भए पनि बोलपत्र नपरेको सडक विभागले जनाएको छ ।
अधिकारीले धसिएको ठाउँ बढ्दै गएमा थप जोखिम हुने बताउनुभयो । भित्तापट्टि अग्लो पहाड भएकाले विस्तार गर्न कठिन छ । अविरल वर्षा भइरहेकाले सडकको ठाउँठाउँमा पहिरो खस्ने र पन्छाउने काम जारी रहेको उहाँले भन्नुभयो । यो सडक राजधानी काठमाडौं भित्रने र बाहिरिने प्रमुख मार्ग हो ।
दाउन्नेमा पहिरो खस्दा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ मा पर्ने विश्वकर्मा बाबाको मन्दिर नजिक पहिरो खस्दा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।
मन्दिर नजिकैको घिउखोलामा आज बिहानै पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वले जनाएको छ । पहिरोसँगै खसेको रुखले बा१४च ७०२० नंको कार र ना६ख १५५९ नंको ट्रक च्यापिएको प्रहरीले जनाएको छ ।
सो स्थानमा खसेको पहिरोका कारण कुनै पनि मानवीय क्षति भने हुन नपाएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताउनुभयो । सुरक्षा निकाय र सडकको टोलीले पहिरो पन्छाएर अवरुद्ध सडक खुलाउने प्रयास गरिरहेको खाँणको भनाइ छ । पहिरोका कारण सडक अवरुद्ध हुँदा सडकमा सवारी साधनको लामो लाइन लागेको छ । रासस

