प्रकाश थापामगर/गोविन्दकुमार शर्मा, काठमाडौँ ।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार आनन्द शर्माले अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका साथीहरू कुशल व्यावसायिक र सिर्जनशील हुनुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।
२०८२ पुस ५ गते शनिबार बागबजारको हार्दिक होटलमा आयोजित व्यापार सङ्घको तेस्रो उपत्यका प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले सो अभिव्यक्ति दिनुभएको हो ।
नेता शर्माले भन्नुभयो– ‘आर्थिक गतिविधिमा लाग्नुभएका उद्योग व्यापार सङ्घका साथीहरूमा कुशल व्यावसायिकता र सिर्जनशीलता हुनुपर्दछ ।’
‘अहिले देशमा राष्ट्रिय पुँजीको निर्माण जरुरी छ’ उहाँले भन्नुभयो– ‘यही आवश्यकतालाई मध्येनजर गरेर नै अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घ स्थापना गरिएको हो ।’
उहाँले कतिपय साथीहरूमाझ पैसा कमाउनेलाई पार्टीले गलत तरिकाले हेर्दछ भन्ने भ्रामक दृष्टिकोण रहेको स्पष्ट पार्नुभयो ।
‘कतिपयलाई लागेको हुन सक्छ, पैसा कमाउने साथीहरूलाई पार्टीले गलत तरिकाले हेर्दछ तर त्यो झुटो हो’ उहाँले भन्नुभयो– ‘व्यवसाय गर्न व्यावसायिकता चाहिन्छ तर कैयौँ साथीहरूमा त्यस्तो व्यावसायिकता र सिर्जनशीलताको अभाव छ ।’
आर्थिक गतिविधिमा लागेका साथीहरूलाई नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चाले कहिल्यै गलत नजरले नहेरेको उहाँको दाबी थियो ।
उहाँले भन्नुभयो– ‘जुन साथीहरू पेसेवर रूपमा पार्टीको काम गरिरहनुभएको छ, उहाँका परिवार पनि आर्थिक गतिविधिमा लागेका छन् भने त्यसका लागि छुट्टी दिने गरिन्छ ।’
देशमा राष्ट्रिय पुँजी निर्माण गर्दै सामाजिक समानता र समृद्धि कायम गर्नका लागि पनि व्यावसायिक दृष्टिकोण आवश्यक रहेको उहाँको भनाइ थियो ।
‘राष्ट्रिय पुँजीको विकास, प्रोत्साहन र संरक्षण गर्ने स्पष्ट नीति अपनाएको कुनै पार्टी देशमा छ भने त्यो नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चा मात्रै हो’ उहाँले ठोकुवा गर्नुभयो ।
देशमा व्यापक सम्भावना रहेको तर राष्ट्रिय पुँजी निर्माणको सन्दर्भमा सरकारको बेवास्तापूर्ण नीतिको विरोध गर्दै उहाँले पुँजी लगानी गर्न सबैसित आग्रह गर्नुभयो ।
उहाँले उत्पादन र व्यापार–व्यावसायमा लागेका साथीहरूलाई आह्वान गर्दै भन्नुभयो– ‘व्यावसायिक रूपमा कुशल, र सिर्जनात्मक बन्दै छरिएर रहेका पुँजीलाई एकत्रित गर्न साथीहरूले ध्यान दिनैपर्दछ ।’
मन्तव्यको क्रममा उहाँले उत्पादन र व्यापार–व्यवसायको क्षेत्रमा खुट्टा तान्ने वा निरुत्साही गर्ने प्रवृत्तिको विरुद्धमा सङ्घर्ष गर्न आह्वान गर्नुभयो ।
अर्कोतर्फ उहाँले भन्नुभयो– ‘उद्योग व्यापार सङ्घका काम गर्ने साथीहरूले आफूलाई व्यवसायी हुँ भन्न हिच्किचाउनु हुँदैन ।’

