काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ५ जम्बुस्थित याल्मो खोलामा आएको बाढीबाट बेपत्ता हुनेहरुको पहिचान खुलेको छ । बाढीले ११ घर बगाएको छ । बेपत्ता भएकामध्ये बाह्रबिसे ५ का २० वर्षीय निकेश बस्नेत र उनकी डेढ वर्षीया छोरी निउनाको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्ज्वल महर्जनका अनुसार बेपत्ता हुनेमा बाह्रबिसे ५ का भीमबहादुर वाइवा, चीनमाया वाइवा, लीलामाया वाइवा, पासाङ डोल्मा वाइवा, निमाडोल्मा वाइवा, लक्ष्मण वाइवा, सुनमाला वाइवा, जनकबहादुर थिङ, सबिना तामाङ, आकास तामाङ, मध्यभोटेकोसी आयोजनाका सुरक्षागार्ड हिमेश शर्मा, जापानी सहयोग नियोग ९जाइका०का इन्जिनियर आकास केसी, बाह्रबिसेका तोकबहादुर तामाङ, सलिनी तामाङ, सुवेश तामाङ र युक्तबहादुर तामाङ छन्।
बाढीबाट बाह्रबिसे ५ का माधव बस्नेत, भोटेकोसी ५ मार्मिङका मिङमार तामाङ, सुवेश तामाङ, सविता बस्नेत तामाङ घाइते भएका छन् । यस्तै भोटेकोसी गाउँपालिका ५ बुलकुटे झ्यालेस्थित बुलकुटे खोलाको बाढीले स्थानीय निमादोर्जे तामाङ, मन्जु तामाङ, पासाङ नर्वु तामाङ र साहिल तामाङ बेपत्ता भएका छन्। बाढीबाट फुर्वा तामाङ र उनकी छोरी घाइते छन्।
बाह्रबिसेमा लक्ष्मण वाइबा, भीमबहादुर वाइबा, जनकबहादुर थिङ, आकाश केसी, तोकबहादुर तामाङ, प्रेमदास श्रेष्ठ, गोपाल बस्नेत, देवी तामाङ, सुवास राउत, कृष्णबहादुर रुम्बा, नितेश बस्नेत र खिलबहादुर अधिकारीको घरमा क्षति पुगेको छ ।
जम्बुबाट बेपत्ता हुनेहरु
१. भीमबहादुर वाईवा
२. चीनमाया वाइवा
३. लीलामाया वाईवा
४. पासाङ डोल्मा वाइवा
५. निमाडोल्मा वाईवा
६. लक्ष्मण वाईवा
७. सुनमाला वाईवा
८. जनकबहादुर थिङ
९. सबिना तामाङ
१. आकास तामाङ
११. हिमेश शर्मा
१२. आकास केसी
१३. तोकबहादुर तामाङ
१४. सलिनी तामाङ
१५. सुबेश तामाङ
१६. युक्तबहादुर तामाङ
बुलकुटे खोलाको बाढीबाट बेपत्ता हुनेहरु
१७. निमा दोर्जे तामाङ
१८. मन्जु तामाङ
१९. पासाङ नर्वु तामाङ
२०. साहिल तामाङ
बाढीबाट घाइतेलाई हेलिकोप्टरमा काठमाडौं ल्याइयो
त्यस्तै,सिन्धुपाल्चोकको बाह्रबिसेमा बाढीले बगाएर घाइते भएका एक जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ । उनलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्ज्वल महर्जनले जानकारी दिए । बाह्रबिसे नगरपालिका ५ जम्बुकी सविना बस्नेतको उद्धार गरिएको हो । उनको काठमाडौंको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ ।
अर्का घाइते सुवेश वाइवालाको उद्धार गर्न हेलिकोप्टर सिन्धुपाल्चोक गएको छ। बाह्रबिसेमा बाढीले बगाउँदा २ जनाको ज्यान गएको छ भने १८ जना बेपत्ता भएका छन् । बाढी पहिरोमा परी घाइते भएका ई उद्धार गरेर राखिएको छ। अहिले मौसममा सुधार आएको छ ।
मध्यभोटेकोशी आयोजनामा क्षति, एक चिनियाँ प्राविधिक बेपत्ता
बाढीले निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजनामा क्षति पुगेको छ । एकजना चिनियाँ प्राविधिक बेपत्ता भएको आयोजनाका सीईओ मणिकुमार काफ्लेले जानकारी दिए । आयोजनाका उपकरण राखेको भण्डार गृह बाढीले बगाएको छ ।
आयोजनाका महँगा उपकरण टर्बाइन रनर, जीआईएस र जीटी बाहेक सबै उपकरण त्यहाँ राखिएको थियो । ती सबै बाढीले बगाएको अनुमान गरिएको छ । आयोजनाको विद्युत गृहमा माटो भरिएको छ ।(रासस)