कोलम्बो । श्रीलंका क्रिकेट एसएलसीले आफ्ना खेलाडीहरूलाई पाकिस्तानमै रहन वा ‘औपचारिक छानविन’मा सह्योग पुर्याउन निर्देशन दिएको छ ।
मंगलबार पाकिस्तानको राजधानी इस्लामाबादमा भएको आत्मघाती बम विस्फोटपछि श्रीलंकाका क्रिकेट टोलीका सदस्यहरूले सुरक्षाप्रतिको चिन्ता व्यक्त गर्दै पाकिस्तानका भ्रमण समयभन्दा पहिले नै समाप्त गरेर स्वदेश फर्किने योजना व्यक्त गरेका थिए। खेलाडीहरूले आफ्नो सुरक्षालाई लिएर डर व्यक्त गरेका छन् ।
मंगलबार पाकिस्तानको राजधानी इस्लामाबादस्थित विशिष्ट अदालत बाहिर आत्मघाती बम विस्फोट भएको थियो । जसमा १२ जनाको मृत्यु र २७ जना घाइते भएका थिए । सो घटनाप्रति श्रीलंकाका खेलाडीहरू त्रसित भएका हुन् ।
बुधबार एसएलसीले एक बयान जारी गर्दै केही खेलाडीहरू घर फर्किन चाहेको भए पनि टोलीलाई पाकिस्तानको वर्तमान भ्रमण तालिका अनुसार अघि बढ्न निर्देशन दिएको छ ।
“यदि कुनै खेलाडी, खेलाडीहरू वा समर्थन कर्मचारीको सदस्य एसएलसीको निर्देशनको बावजुद फर्किन्छन् भने, औपचारिक समीक्षा गरिनेछ र उपयुक्त निर्णय गरिनेछ ।”