काठमाडौं । कोरोना भाइरसका कारण विश्वभर १४३ नेपालीको ज्यान गएको गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ । शनिबार साँझसम्म १४ देशमा गरी १ सय ४३ गैरआवासीय नेपालीको मृत्यु भएको हो ।
समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विदेशमा कोरोना संक्रमित गैरआवासीय नेपालीको संख्या २८ हजार ९ सय १८ पुगेको छ भने तीमध्ये २५ हजार २ सय २६ जना भने निको भइसकेका छन् ।
संक्रमणका कारण विदेशमा यो साता मात्रै थप १३ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले दिएको जानकारीअनुसार यूएईमा ६, भारतमा ५, ओमानमा १ र कुवेत १ गरी यो साता थप १३ नेपालीको मृत्यु भएको हो ।
समितिका अनुसार बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड, स्विडेन, ओमानलगायत देशमा कोरोनाका कारण नेपालीको ज्यान गएको हो।
कोरोनाका कारण विश्वभर मृत्यु हुनेको संख्या ५ लाख २५ हजार तीन सय ८२ पुगेको छ भने एक करोड १० लाख ५७ हजार सात सय ९७ जनामा संक्रमण भएको छ ।

