अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को राष्ट्रपतीय निर्वाचनलाई बिथोल्ने प्रयास गरेको आरोप लागेका शीर्ष सहयोगीहरूलाई आममाफी दिनुभएको छ।
ट्रम्प प्रशासनका ‘पार्डन एटोर्नी’ एड मार्टिनले एक्समा भन्नुभएको छ, “राष्ट्रपतिका पूर्व वकिलहरू रुडी गिउलियानी र सिड्नी पावेल र ट्रम्पका पूर्व कर्मचारी प्रमुख मार्क मिडोजलगायत ७० भन्दा बढी व्यक्तिहरूको सूची सार्वजनिक गर्दै उनीहरूलाई ‘पूर्ण र बिना शर्त’ माफी दिइएको छ।”
सूचीमा रहेका नामहरू एरिजोना, जर्जिया र मिशिगन लगायतका व्यापक चुनावी प्रतिस्पर्धा हुने राज्यहरूमा मतदाता नामावली परिवर्तन गर्ने योजनामा मुछिएका थिए । ती राज्यहरूमा जो बाइडेनले सन् २०२० को राष्ट्रपति दौडमा विजय हाँसिल गर्न सफल हुनुभएको थियो।
ट्रम्प र उहाँका सहयोगीहरूको समर्थनमा रहेको त्यो षड्यन्त्रले प्रदर्शनलाई बढावा दिन मद्दत गरेको थियो र सन् २०२१ जनवरी ६ मा अमेरिकी क्यापिटल ९संसद भवन०मा आक्रमण गर्ने दङ्गाग्रस्त भीडमा परिणत भएको थियो।
चार पृष्ठको क्षमादानको पत्रमा नाम उल्लेख भएकाहरू मध्ये कसैलाई पनि संघीय स्तरमा आरोप लगाइएको थिएन तर यो निर्देशनले भविष्यका प्रशासनहरूलाई कथित सह–षड्यन्त्रमा संलग्न सहयोगीहरूलाई मुद्दा चलाउनबाट रोक्न सक्छ।
माफी पाएकाहरूमा चुनाव परिणामको प्रमाणीकरण रोक्नको लागि रणनीतिहरू प्रस्ताव गरेका जोन इस्टम्यान र लामो समयदेखि ट्रम्पका सल्लाहकार रहेका बोरिस एप्स्टेन पनि रहेका छन्।
ट्रम्पले लामो समयदेखि सङ्घीय अपराधका लागि आफुलाई नै माफी दिने शक्ति पनि उहाँसँग रहेको बताउँदै आउनुभएको थियो तर उहाँले अझै पनि यो सिद्धान्तको परीक्षण गर्नुभएको भने छैन ।
सन् २०२० को राष्ट्रपतीय निर्वाचनसँग सम्बन्धित वा मतदानमा धाँधली भएको पर्दाफास गर्ने प्रयासका लागि माफी दिने पत्रमा ट्रम्पले भन्नुभएको छ, “यो माफी अमेरिकी राष्ट्रपतिलाई लागू हुँदैन ।”