काठमाडौँ । रक्तिम सांस्कृतिक अभियान केन्द्रीय समिति र राष्ट्रिय जनमोर्चा जिल्ला समिति नवलपुरको संयुक्त आयोजनामा सम्पन्न ४ दिने देउसी भैलो समापन गरिएको छ । समापन पश्चात अभियानका केन्द्रीय अध्यक्ष गिरीप्रसाद बुढाले देउसीभैलोलाई सहयोग पुर्याउने सम्पूर्ण किसान, मजदुर, उद्योगी, व्यापारव्यावसायी लगायतका विभिन्न तह र तप्काका जनमुदायलाई धन्यवाद प्रकट गर्नुभएको छ ।
कार्तिक ८ गते शनिबार अध्यक्ष बुढाले एक वक्तव्य जारी गरी धन्यवाद प्रकट गर्नुभएको हो । बुढाले देशको विषम राजनीतिक परिस्थितीका बिच रक्तिम सांस्कृतिक अभियान केन्द्रीय समितिको पदचापलाई पछ्याउँदै देशका अन्य जिल्लाका साथै विदेशका कयौँ भुभागमा देउसीभैलो सम्पन्न पार्ने सम्पूर्णलाई पनि धन्यवाद प्रकट गर्नुभएको छ ।
‘देउसीभैलो कार्यक्रममा रक्तिमले समाजमा भएका विकृति, विसंगति, भ्रष्टाचार र अन्धविश्वासको विरुद्ध जनचेतना जगाउनुका साथै सामान्ती तथा साम्राज्यवादी पाश्चात्य संस्कृतिको विरोध गरेको छ ।’ बुढाले वक्तव्यमार्फत भन्नुभएको छ– ‘यहाँहरूबाट प्राप्त सहयोगले हामीलाई जनवादी सांस्कृतिक आन्दोलनको यात्रामा अगाडि बढ्न थप प्रेरणा मिलेको छ । यहाँहरूबाट प्राप्त सहयोगलाई हामीले फजुल खर्च गरेर दुरुपयोग गर्ने छैनौँ ।’
अध्यक्ष बुढाले वक्तव्यमार्फत देउसीभैलोबाट प्राप्त सहयोगलाई क्षमताले भ्याएसम्म प्रगतिशील तथा जनवादी संस्कृतिको सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुएको छ ।
