सिलीगुडी (भारत) । सिक्किमका कवि अमर बानिया लोहोरोद्वारा लिखित अङ्ग्रेजी भाषाको कवितासङ्ग्रह ‘द डिमाइस अफ अरिजिनलिटी’ लोकार्पण गरिएको छ ।
२०८२ असोज २५ गते शनिबार सिलिगुडीस्थित किताब क्याफेमा सो कार्यक्रम सम्पन्न भएको हो ।
सिक्किमका साहित्यकार मेघनाथ दाहाल र नवीन लामिछाने, नेपालका हर्कमान तामाङ, सिलिगुडी चिकित्सक डा. शिवराज शर्मा तथा कवि स्वयम् लोहोरोले कृतिको लोकार्पण गरेका थिए भने सिलिगुडीका साहित्यकार कृष्ण प्रधानले लोकार्पण भएको घोषणा गरेका थिए ।
अनुवादक नरेश के शाहीले कृतिको समीक्षा गरेका थिए भने प्रकाशक बुकान्टका राजा पुनियनीले अध्यक्षता र सञ्चालन गरेका थिए ।
कार्यक्रममा नेपालबाट ईरानराई, जेबी थुलुङ, बादल चाम्लिङ, दीप मङ्ग्रातीको आतिथ्य रहेको थियो ।
सो अवसरमा सिलिगुडीका गायक राकेश बराइलीले चारओटा नेपाली गीत गाएका थिए भने दार्जिलिङका कविहरू प्रभात राई चिसो, सकाल देवान, आशिष प्रियदर्शी राई, पल्लविब राई तथा सिलिगुडीका रेतेससिंह क्षेत्री आआफ्ना तथा दार्जिलिङकी कवयित्री अनुराग शर्माले कृतिभित्रको ‘म्यानकाइन्ड’ शीर्षकको अङ्ग्रेजी कविता वाचन गरेका थिए ।
लोकार्पित कृति कवि लोहोरोको सन् २०१४ मा प्रकाशित कवितासङ्ग्रह ‘मानव’ को अनुवाद हो । कृतिको अनुवादक दार्जिलिङकासाहित्यकार दलसिंह अकेलाले र सम्पादन सिलिगुडीका गेहेन्द्र प्रियदर्शी प्रधानले गरेका हुन् ।
कृतिमा ४५ ओटा कविता सङ्गृहीत छन् ।
