नयाँ दिल्ली (भारत) । मूलप्रवाह अखिल भारत नेपाली एकता समाजले कोरोना संक्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण भारतबाट स्वदेश फर्किएका नेपालीहरुप्रति विभेद र अपहेलना गरिएको भन्दै खेद प्रकट गरेको छ । समाजका अध्यक्ष दुर्गाबहादुर केसीले एक वक्तव्य जारी गरि प्रवासी नेपाली मजदुरप्रति गरिएको दुर्व्यवहारप्रति आपत्ति जनाउनुभएको छ ।
आफ्नै घरमा होम क्वारेन्टिनमा बस्ने वातावरण हुँदाहुँदै प्रवासीलाई कैयौं हप्तासम्म क्वारेन्टिनमा राखिएको, खानपिन र बस्ने व्यवस्था राम्रो नभएको, उचित स्वास्थ्य उपचार र परीक्षण नगरिएको तथा संक्रमित र स्वस्थ व्यक्तिलाई एकै ठाउँमा राखिएको अध्यक्ष केसीले बताउनुभएको छ ।
वक्तव्यमा भनिएको छ, ‘कोरोना भाइरसको कारणले विश्वकै अर्थतन्त्रमा एवं सामाजिक क्षेत्रमा निकै असर पारेको छ । होटल–रेस्टुरेन्ट एवं पर्यटन व्यवसायका साथै औद्योगिक क्षेत्रमा समेत प्रत्यक्ष असर परेको छ । करोडौं व्यक्तीहरूको रोजगार गुमेको छ । श्रमिकहरूको सामु भोकमरीको स्थिति देखिएकोले शहरबाट पलायन भएर गाउँघरमा पुगेका छन् । नेपाली श्रमिक पनि लाखौंको संख्यामा भारत लगायत तेस्रो मुलुकबाट नेपालमा पुगेका छन् र पुग्ने क्रम जारी छ । नेपालमा संक्रमित हुनेमा अधिकांश व्यक्तिहरू भारतबाट नेपाल भित्रिएकाहरूको छ । त्यसले गाउँघरमा भारतबाट भित्रिनेहरूप्रति नकारात्मक दृृष्टिकोण भेदभावको सिकार भएको समेत पाइएको छ । वेरोजगार भएर नेपाल फर्किनेहरूमा ठूलो संख्या भारतबाट पलाएन भएकाहरूको छ । यो अवस्थामा संक्रमितहरूको संख्यामा भारतबाट फर्किनेहरूको हुनु स्वभाविक नै हो । संक्रमितहरूप्रति दया, स्नेह, सदभाव भन्दा पनि हेला र विभेद गरिनु दुःखद र खेद जनक छ ।’
अध्यक्ष केसीले आफूहरुले सुरुदेखि नै भारतबाट नेपालीहरूलाई वैधानिक एवं व्यवस्थित रूपमा भित्राई चेकजाँच गरि आवश्यकता अनुसार आइसोलेसन तथा क्वारेन्टिनको व्यवस्था गर्न माग गर्दै आएको स्मरण गराउँदै लामो समय पछि मात्र सरकारले औपचारिक निर्णय गरि भित्राउने काम गरेका कारण ठूलो संख्यामा नेपालीहरु लुकीछिपी नेपाल प्रवेश गरेका बताउनुभएको छ ।
‘उनीहरू त्यसरी नेपाल प्रवेश गर्नु रहर थिएन, वाध्यता नै थियो’ वक्तव्यमा भनिएको छ, ‘अहिले सरकारले व्यवस्थित रूपमा भित्राउने काम गरेको छ, त्यसलाई हामीले त्यसलाई स्वागत पनि गरिसकेका छौं, तर क्वारेन्टिन सेन्टरहरूबाट आएका रिर्पोटहरूले हामीलाई निराश तुल्याएको छ । क्वारेन्टिन सेन्टरमा आवश्यक मापदण्ड तथा सावधानीको अभावमा पनि संक्रमण बढेको हुन सक्छ ।’
कैयौं स्थानमा तेस्रो मुलुकबाट जाने व्यक्तीहरू र भारतबाट जाने व्यक्तीहरू सबैलाई एकै स्थानमा राखिएको, समदूरीको सिद्धान्तको पालाना नभएको, कैयौं व्यक्तीहरू आफ्नै खाली घरमा होम क्वारेन्टिन बस्न सक्ने वातावरण हुँदाहुँदै पनि कतिपय स्थानमा त्यसको अनुमति नदिएको कारणले सामुदायिक क्वारेन्टिनमा बस्न बाध्य भएको मूलप्रवाहले जनाएको छ ।
अध्यक्ष केसीले प्रवासीलाई सम्मान गर्दै आग्रह गर्दै भन्नुभएको छ, ‘अहिले भारत लगायत तेस्रो मुलुकबाट गएका नेपाली श्रमिकहरूलाई आफ्नै गाउँघरमा समेत अपराधी जस्तो बनाई हेलाको दृष्टीले व्यवहार गरिएका घटनाहरु आइरहेका छन् । कैयौं व्यक्तीहरूले समाजिक सञ्जालमा त्यसप्रकारका टिका टिप्पणी गरेका छन् । त्यसले कस्तो असर पर्छ वास्तै छैन । सामाजिक संजालमा सम्पे्रषण गरेका सामग्रीले कसैको मानव अधिकार हनन् गर्नेदेखि लिएर भ्रम श्रृजना हुने गर्छ । त्यस प्रकारका भ्रमले कहीं कतै अपृय घटनाहरु घटन पनि सक्ने सम्भावनाहरुलाई पनि अस्वीकार गर्न सकिँदैन । भ्रम छर्ने विषयमा केही मिडियाकर्मीहरू पनि पछि छैनन् । सत्यतथ्य एवं समाजमा पर्ने असरको परवाह नगरि सम्प्रेषण भएका समाग्रीहरूले विश्वका कैयौं देशहरुमा साम्प्रदायिक रूप लिई कैयौं दंगा समेत भएका घटनाहरूलाई हामीले भुल्न हुँदैन । त्यसैले यसप्रकारका गतिविधिहरुलाई रोक्न सरकार र सरकारको सम्बन्धित पक्षहरुले समयमै ध्यान पुर्याउनु पर्ने आवश्यकता छ ।’

