काठमाडौँ । नेपाललाई डिजिटल रूपमा जोड्नु हो व्यक्तिहरूदेखि व्यवसायसम्म–नवप्रवर्तन, सहकार्य र विश्वस्तरीय प्रतिस्पर्धात्मकता बढाउने उद्देश्यले नेपालकै पहिलो एआई प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ सार्वजनिक भएको छ । नेपालमै विकास गरिएको यस सामाजिक प्लेटफर्मले डिजिटल रूपान्तरण, व्यावसायिक सशक्तीकरण र समावेशी प्राविधिक विकासलाई एकैसाथ अघि बढाउने महत्वाकांक्षासहित औपचारिक यात्रा सुरु भएको बताइएको छ ।
व्यवसाय, व्यक्तित्व र सरकारी निकायलाई सशक्त बनाउने उद्देश्यले तयार पारिएको यस प्लेटफर्ममा सम्पर्क, व्यापार र अवसरहरूलाई एउटै प्लेटफर्ममा समेटिएको छ । नेपाली आइटी विज्ञ युवाले आफ्नै लगानी र ज्ञानको उपयोग गर्दै सिर्जना गरेको यस प्लेटफर्ममा एआई सञ्चालित बुद्धिमत्तासँग, ग्लोबल डायरी विश्वसनीय जडान, सस्तो डिजिटल उपस्थिति र दिगो वृद्धि सुनिश्चित गरिएको ग्लोबल डायरीका प्रमुख कार्यकारी अधिकृत भगवानदास अग्रहरि बताएका छन् ।
अग्रहरिका अनुसार ग्लोबल डायरी नेपालको माटो मै बनाइएको भए तापनि यसको उद्देश्य, कार्यशैली र पहुँच भने अन्तर्राष्ट्रिय मापदण्डअनुसार तयार गरिएको छ । यस प्लेटफर्मले व्यक्तिगत प्रयोगकर्ता, व्यावसायिक संस्था तथा सरकारी निकायलाई एउटै डिजिटल संरचनामा जोडेर सम्पर्क, व्यापार, सेवा तथा अवसरलाई सजिलै पहुँचयोग्य बनाउने उद्देश्य बोकेको छ ।
नेपालको टुक्रिएको डिजिटल संरचनालाई सम्बोधन गर्दै एउटै एआई–सञ्चालित बहुपक्षीय प्लेटफर्ममार्फत सबै पक्षलाई सशक्त बनाउने लक्ष्यसहित ग्लोबल डायरीको निर्माण गरिएको अग्रहरिको भनाइ छ ।
नेपालको टुक्रिएको डिजिटल प्रणालीलाई समाधान गर्नु र व्यक्तिहरू, व्यवसायहरू तथा सरकारी निकायलाई एउटै कृत्रिम बुद्धिमत्ता (एआई) चालित डिजिटल मञ्चमार्फत सशक्त बनाउनु ग्लोबल डायरी निर्माणको मुख्य उद्देश्य रहेको संस्थाका अध्यक्ष शेखर अर्यालले जानकारी दिएका छन् ।
अर्यालका अनुसार विभिन्न डिजिटल उपकरणमा छरिएका जानकारीको सट्टा, ग्लोबल डायरीमा प्रयोगकर्ताले आफ्नो परिचय, व्यवसाय पृष्ठ र व्यावसायिक विवरण सहजै व्यवस्थापन गर्न सक्छन् । ग्लोबल डायरीलाई सस्तो र विस्तारयोग्य (स्केलेबल) बनाइएको छ, जसले साना व्यवसाय र व्यक्तिहरूलाई पनि आधुनिक डिजिटल उपकरणहरू प्रयोग गर्ने अवसर प्रदान गर्नेछ ।
व्यक्तिहरूले आफ्नो सीप, उपलब्धिहरूको संकलन (पोर्टफोलियो), उपलब्धि तथा सेवाहरू प्रस्तुत गर्न सक्छन्, जसले नेटवर्क विस्तार, रोजगारी र स्वतन्त्र पेसागत (फ्रिलान्स) अवसरहरू बढाउने हुँदा यसले प्रयोगकर्ताको सशक्तीकरण गर्ने बताइएको छ ।
साना व्यवसाय, नवउद्यम (स्टार्टअप) तथा ठूला कम्पनीहरूले विपणन उपकरण, विश्लेषणात्मक सुविधा, ग्राहक संलग्नता प्रणाली र भर्ती (हायरिङ) मञ्चमार्फत प्रभावकारी रूपमा विस्तार गर्नसक्ने अध्यक्ष अर्याल बताउछन् । साथै, देशमै विकास गरिएको डिजिटल मञ्चका रूपमा, यसले नेपालमा आधारित आवश्यकता, मापदण्ड र राष्ट्रियस्तरको डेटा सुरक्षालाई प्राथमिकता दिने उनले जानकारी दिए ।
यस प्लेटफर्ममा एआई–चालित सुझाव प्रणाली भएकाले नेटवर्किङ, रोजगारी वा व्यवसाय वृद्धि लागि उपयुक्त अवसरहरू सिफारिस गर्न, व्यक्तिहरू, व्यवसाय र सरकारी निकायलाई एउटै प्लेटफर्ममा जोड्ने सुविधा प्राप्त गर्न सकिनुका साथै व्यवसायहरूका लागि डिजिटल मार्केटिङ, विज्ञापन र ग्राहक संलग्नता उपकरण, व्यवसाय र व्यक्तिगत प्रोफाइलको प्रदर्शन, पहुँच र प्रभाव मूल्याङ्कन गर्ने सुविधा पनि प्राप्त गर्न सकिन्छ । सजिलै सम्पर्क, प्रोफाइल र सेवा साझा गर्न क्युआर कोड आदानप्रदान गर्न, व्यवसाय र व्यक्तिहरूले आफ्ना सेवा वा उत्पादनहरू सूचीबद्ध गर्न, नयाँ अवसर, समाचार वा सूचना सही समयमा प्राप्त हुने सुविधा उपलब्ध हुन सक्दछ ।