काठमाडौँ । सरकारी निर्णयको असरस्वरूपमा नेपालमा प्रतिबन्धित सामाजिक सञ्जाल बन्द हुन थालेका छन् ।
भदौ १९ गते सूचना, विज्ञान तथा प्रविधि मन्त्रालयले २६ ओटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णयसँगै भदौ २० गते दिउँसोदेखि सामाजिक सञ्जाल कार्यान्वयन हुन थालेको हो ।
मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र लेख्दै तत् तत् सामाजिक सञ्जाल बन्द गर्न भनेको थियो ।
दूरसञ्चार प्राधिकरणको सूचनापछि इन्टरनेट सेवाप्रदायक कम्पनीहरू सुबिसु, वर्ल्डलिङ्क, भायोनेटलगायतले प्रतिबन्धित सामाजिक सञ्जाल बन्द गरेका छन् ।
सरकारले प्रतिबन्ध लगाएका सामाजिक सञ्जालमध्ये बढी प्रचलनमा रहेकाहरू फेसबुक, फेसबुक म्यासेन्जर, ह्वाटसेप, इन्स्टाग्राम, एक्स, युट्युब, लिङ्क्डइन, रेडिटलगायत छन् ।
टिकटक, भाइबर, निम्बुज, विटक र पोपोलाइभजस्ता सामाजिक सञ्जाल भने दर्ता भइसकेकाले सुचारु रहनेछन् ।
सर्वोच्च अदालत केही महिनाअघि अदालतको मानहानिसम्बन्धी मामिलामा सामाजिक सञ्जाल दर्ता गर्दै त्यसका सामग्रीको अनुगमन गर्न सरकारको नाममा आदेश जारी गरेको थियो ।
सरकारले सो आदेशसमेतको कार्यान्वयनका लागि यो कदम उठाएको बताएको छ ।