प्रकाश थापामगर/गोविन्दकुमार शर्मा, काठमाडौँ ।
राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले आफू सांसद हुँदा सुरु गरेको त्रिदेशीय भीमगिठे सडक पूरा गर्न नपाएकोमा दुःख व्यक्त गर्नुभएको छ ।
युगदर्शन मिडियालाई २०८२ असार २१ गने शनिबार अन्तर्वार्ता दिँदै उहाँले सो अभिव्यक्ति दिनुभएको हो ।
‘तीन देशलाई नै मदत पुग्ने, उताबाट कोइलाबास, प्युठान, यता बागलुङ, गुल्मी पनि जोडिएको अवस्था थियो । त्यसरी कोरलासम्म पुग्ने, ढोरपाटन हुँदै जाने धेरै विशाल त्रिदेशीय योजना थियो’ उहाँले भन्नुभयो– ‘त्यो भीमगिठे बाटोको महत्त्वलाई अरूले बुझिदिनुभएन, जसले गर्दा त्यो अस्तव्यस्त अवस्थामा रह्यो । त्यो योजना पूरा गर्न नपाएकोमा अलिकति दुःख लागेको छ ।’
उहाँले भीमगिठे सडकलाई पूरा गर्दा देशको अर्थतन्त्र र पर्यटनमा मदत पुग्ने धारणासमेत राख्नुभयो ।
आफू सांसद हुँदा प्युठानभरिका पालिकाबाट प्रस्ताव मगाएर प्राथमिकताको आधारमा योजना छनोट गरेको उहाँले स्मरण गर्नुभयो ।
आजभोलि योजना चयनमा असन्तुलन कायम हुन थालेकोमा असन्तुष्टि व्यक्त गर्दै उपाध्यक्ष पौडेलले भन्नुभयो– ‘एकदम सन्तुलित प्रकारले गरेका थियौँ, विकास बजेट विनियोजन गर्दाखेरि । अहिले त सरकारले पनि बजेट विनियोजन सन्तुलित प्रकारले गरेको अवस्था छैन ।’
सरकारले बजेट विनियोजन गर्दा मनपरी ढङ्गले काम गरेको उहाँको आरोप थियो ।
उहाँले भन्नुभयो– ‘जहाँ विकास बढी भएको छ, त्यो ठाउँमा डबल होइन नि । जहाँ विकास भएको छैन, त्यहाँ डबल हालेर बराबर र सन्तुलित प्रकारले अगाडि लैजानुपर्ने हो । त्यस्तो गरेन सरकारले पनि ।’
आफू सांसद हुँदा ओखरकोट ग्रामीण पर्यटन विकास समिति बनाएरै प्युठानमा पर्यटन विकासको पक्षमा पहल गरेको उहाँले दाबी गर्नुभयो ।
यस सन्दर्भमा प्युठानको पर्यटनको सन्दर्भमा उहाँले ढाडको रकगार्डेन निर्माणमा भएको कमजोरी औल्याउनुभयो ।
‘अहिले गाउँपालिकाले पनि त्यतापट्टि ध्यान दिन सकेको छैन । धेरै चिज अस्तव्यस्त भएको अवस्था छ । रकगार्डेन जस्तो बन्नुपर्ने हो, त्यस्तो बनिरहेको अवस्था छैन’ उहाँले रकगार्डेनलाई एसियाकै नमुना संरचना बनाउन खोजेको खुलासा गर्नुभयो ।
त्यस्तै, बौद्ध पुरातात्त्विक सहर निर्माण समितिको समेत नेतृत्व गर्नुभएकी राजमो प्रवक्ता पौडेलले त्यसका लागि काम सुरु भइसकेको जानकारी दिनुभयो ।
‘लुम्बिनी, तिलौराकोट, नवलपरासीका बुद्धसित सम्बन्धित अवशेष भएका धेरै चिज जुन छन्, यी तीनओटै जिल्लालाई लिएर एउटा बुद्ध पुरातात्त्विक सहरको रूपमा निर्माण गरेर जाँदाखेरि लुम्बिनीलाई झन् स्थापित गरेर जान सक्छौँ’ उहाँले भन्नुभयो– ‘पर्यटन प्रवर्द्धनको हिसाबले पनि हामीले यो तयारी गरेका हौँ ।’
उहाँले आगामी हिउँदमा बुटवल र काठमाडौँमा बृहत् गोष्ठी गरेर यससम्बन्धी ठोस काम अगाडि बढाउने जानकारी दिनुभयो ।
यस योजनामा केन्द्र सरकार र लुम्बिनी प्रदेश सरकार सकारात्मक भएको उहाँको प्रतिक्रिया थियो ।
दुई कार्यकाल प्रतिनिधिसभाको सांसद रहेकोमा सङ्क्षिप्त स्मरण सुनाउँदै एउटा मात्र सांसद हुँदा काममा कठिनाइ हुने उहाँको स्वीकारोक्ति थियो ।
‘म आफै एक्लै सङ्घर्ष गरेर आएको’ पूर्व सांसद पौडेलको भनाइ थियो– ‘उत्तिखेरै बजेट आउँछ । उत्तिखेरै निर्णय दिनुपर्छ । उत्तिखेरै बोल्नुपर्छ । लाइन विपरीत बोल्नु हुँदैन, लाइनअनुसार बोल्नुपऱ्यो । उत्तिखेरै संशोधन हाल्नुपर्छ धेरै अप्ठ्यारा थिए ।’
विश्व महिला सम्मेलन
अन्तर्वार्ताको क्रममा उहाँले आगामी मङ्सिरमा अन्तर्राष्ट्रिय सेमिनार हुन थालेको जानकारी दिनुभयो ।
ट्युनिसियामा सम्पन्न तेस्रो विश्व महिला सम्मेलनले नेपालमा अन्तर्राष्ट्रिय सेमिनार गर्ने निर्णय गरेको र सोहीअनुसार काठमाडौँमा सो कार्यक्रम हुन थालेको उहाँले बताउनुभयो ।
‘तेस्रो विश्व महिला सम्मेलनका प्रतिनिधि सबैले निश्चित गरेको नेपाललाई हो । त्यसमा महिला र वातावरण, साम्राज्यवाद र महिला—यस्ता धेरै विषय छन्’ उहाँले भन्नुभयो– ‘ती विषयलाई लिएर हामीले सेमिनार गर्दैछौँ, मङ्सिरको ११ देखि १४ गतेसम्म ।’
अन्तर्वार्ताको क्रममा उहाँले अफगानिस्तानको तालिबान शासकको महिला विरोधी नीतिलाई ‘क्रुरता’ को सङ्ज्ञा दिनुभयो ।
‘अहिलेको एक्काइसौँ शताब्दीमा पनि महिलालाई छ कक्षाभन्दा बढी पढ्न दिनुहुँदैन भनेर भन्ने । यिनलाई बन्दी बनाएर बुर्का लगाएर बाहिर आउन नदिने । महिलाको हरेक क्रियाकलाप छुट्टै प्रकारको बनाएर राख्ने । यो एकदम क्रुर प्रकारको तरिका हो’ महाशक्ति राष्ट्र रुसले अफगानिस्तानलाई समर्थन गरेको प्रसङ्ग जोड्दै उहाँले भन्नुभयो– ‘यसलाई सबैले विरोध गरिरहेको अवस्थामा रुसजस्तो देशले किन समर्थन गऱ्यो ? त्यो गलत हो ।’
नेपालको महिला आन्दोलन
आफ्नो नेतृत्वमा २०५७ सालतिर महिला अधिकारपत्र निर्माण अभियान सञ्चालन गरेको स्मरण गर्दै त्यसको जगमा अहिले महिलाले धेरै अधिकार प्राप्त गरेकोमा उहाँले खुसी व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो– ‘महिलाहरूले लड्नका लागि कानुनी हतियार पनि बनाइसकेको अवस्था छ । यो सकारात्मक पक्ष हो । यस सन्दर्भमा विगतमा भन्दा केही प्रगति भएको छ ।’
सम्पत्तिमा समान अधिकार, गर्भपतनको स्वतन्त्रताजस्ता विषयमा संसद्भित्रै प्रवेश गरेर आफूहरूले आन्दोलन गरेको घटना उहाँले स्मरण गर्नुभयो ।
‘हामीले महिलालाई सम्पत्तिमा समान अधिकार हुनुपर्दछ, गर्भपतनको अधिकार महिलालाई हुनुपर्दछ भनेर सदनभित्र छिरेर त्यसरी नारा लगाएको नेपालको त पहिलो रेकर्ड नै हो, सायद अन्यत्र त्यस्तो रेकर्ड छैन होला’ नेतृ पौडेलको भनाइ थियो ।
सो गौरवशाली महिला आन्दोलनका बाबजुद देशमा महिलाको अवस्था सन्तोषजनक नरहेको उहाँले स्पष्ट पार्नुभयो ।
निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको प्रसङ्ग उठाउँदै उहाँले प्रहरीप्रशासनकै मिलेमतोमा सो घटना दबाइएको विचार व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो– ‘स्वयम् पुलिस प्रशासन पनि मुचुल्का बनाउँदाखेरि प्रमाण जुटाउनेमा लाग्छन् तर सिभिल ड्रेसका महिला प्रहरीहरू गएर निर्मला पत्नको सलबारलाई पखालिराखेको थियो । त्यो भनेको त प्रमाण मेट्न खोजेको हो नि ।’
‘कामरेड जलजला’ उपन्यास
नेकपा (मसाल) का महामन्त्री तथा प्रगतिवादी साहित्यकार मोहनविक्रम सिंहकी जीवनसाथी रहनुभएकी पौडेलले बहुचर्चित उपन्यास ‘कामरेड जलजला’ प्रकाशन गर्न पाउँदा उत्पन्न सुखद अनुभूति साट्नुभयो ।
आफ्नो नेतृत्वमा जनशिक्षा गृह सञ्चालन गर्नुभएकी पौडेलले भन्नुभयो– ‘कामरेड जलजला’ उपन्यास निकालेपछि मलाई धेरै खुसी अनुभव भयो । आफूलाई आत्मसन्तुष्टि मिल्यो । यति ठुलो किताब पनि पार त लगाइयो भन्ने भयो । एकदम ठुलो बोझ थियो । हुन्छ कि हुन्न भन्ने भएको थियो ।’
उहाँले आगामी दिनमा सो उपन्यासका प्रुफ मिस्टेकलाई सच्याएर परिष्कृत रूपमा अर्को संस्करण निकालिने जानकारी दिनुभयो ।
‘प्रुफ मिस्टेक जुन थिए, ती कुरा पनि आए । त्यसैले त्यो सबै चिज एकदम राम्रो प्रकारले एउटा सुझावजस्तै आयो । जसले त्यो किताबलाई अझै परिष्कृत बनाउन हामीलाई धेरै ठुलो सपोर्ट पुग्नेछ’ उपन्यास प्रकाशनपछिको प्रतिक्रियाबारे उहाँको भनाइ थियो– ‘पछिल्लो संस्करण निकाल्यौँ भनेदेखि त्यसलाई शुद्धाशुद्धिसहित परिष्कत बनाएर निकाल्नेछौँ ।’
कुलिङ पिरियड
अहिले प्रतिनिधिसभामा निजामति कर्मचारीसित सम्बन्धित विषय कुलिङ पिरियडबारे धारणा राख्दै उहाँले सांसदको पनि त्यसमा कमजोरी रहेको औल्याउनुभयो ।
उहाँले भन्नुभयो– ‘सदनमा आइसकेपछि सांसदका पनि कमीकमजोरी देखिन्छ । सदनमा आइसकेपछि कस्तो आएको छ त ? त्यसलाई पास गर्नुभन्दा अगाडि हामीले पास गरेको जे हो, त्यही आएको छ कि छैन भनेर एक चोटी अध्ययन गर्नुपर्ने हो । त्यो अध्ययन गरेपछि मात्रै त्यसलाई पास गर्नुपर्ने हो ।’
राजमो नेतृ पौडेलले राज्यव्यवस्था समिति मिनीसंसद् भएको बताउँदै त्यसलाई उल्ट्याउनुलाई गम्भीर कमजोरी रहेको बताउनुभयो ।
‘मिनीसंसद् हो नि राज्यव्यवस्था समिति त । राज्यव्यवस्था समितिमा उहाँहरूले निर्णय गरेको ठ्याक्कै उल्ट्याइदिएर त्यसरी ल्याएर प्रतिनिधिसभामा पास गर्नु भनेको त भयङ्कर कमजोरी हो नि’ उहाँले भन्नुभयो ।
अन्तर्वार्ताको पूर्ण पाठका लागि युगदर्शन मिडियाको युट्युब च्यानल https://www.youtube.com/@yugdarshan2076 वाच गर्नुहोला ।