न्युयोर्क । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले गाजामा सर्वसाधारणको ज्यान गएको र घाइते भएकोमा निन्दा गर्नुभएको छ ।
खाना खोज्दा गोली हानेर मारिएको घटनाको सन्दर्भ जोड्दै उहाँले यसको निन्दा गर्नुभएको हो ।
महासचिवका लागि उपप्रवक्ता फरहान हकले महासचिवले यी सबै रिपोर्टको तत्काल र स्वतन्त्र अनुसन्धान र जवाफदेहिताका लागि आह्वान गरिरहनुभएको बताउनुभयो ।
आफ्नो दैनिक पत्रकार सम्मेलनमा हकले गाजामा प्यालेस्टिनी जनसङ्ख्याको आधारभूत आवश्यकता अपार भएको तर अझै पनि पूरा नभएको बताउनुभयो ।
उहाँले अन्तर्राष्ट्रिय मानवीय कानुनअन्तर्गत आवश्यक पर्ने सबै नागरिकलाई मानवीय राहत प्रदान गर्न र सुविधा प्रदान गर्न इजरायलको स्पष्ट दायित्व रहेको उल्लेख गर्नुभयो ।
उहाँले तत्काल, व्यापक र निर्वाध मानवीय पहुँच पुनःस्थापना गर्नुपर्ने कुरामा पनि जोड दिनुभयो ।
राष्ट्र सङ्घ र सबै मानवीय अभिनेतालाई सुरक्षित रूपमा र मानवीय सिद्धान्तको पूर्ण सम्मानमा काम गर्न अनुमति दिन आवश्यक रहेको कुरामा समेत उहाँको जोड थियो ।
मानवीय मामिला समन्वयका लागि राष्ट्र सङ्घको कार्यालयले मङ्गलबार स्वास्थ्य साझेदारले दक्षिणी गाजाको खान युनिसमा सहायताको प्रतीक्षामा रहेका ६० जना बढी व्यक्ति सहिद भएको र दुई सय ८० भन्दा बढी घाइते भएको रिपोर्ट गरेको छ । (रासस/क्युएनए)