तेलअभिभ । इजरायलले गरेको आक्रमणको जवाफमा इरानले इजरायलको मध्यक्षेत्रमाथि हमला गरेको छ ।
पछिल्लो आक्रमणमा कम्तीमा आठ जनाको मृत्यु भएको तथा एक सय जनाभन्दा घाइते भएको इजरायली आपतकालीन सेवाले पुष्टि गरेका हुन् ।
तेलअभिभ महानगर क्षेत्रभित्र पर्ने बटयाममा गरिएको मिसाइल प्रहारमा एउटा भवन प्रत्यक्ष रूपमा लक्षित भएको देखिएको छ । घटनास्थलमा उद्दारकर्मी घाइतेलाई भग्नावशेषबाट निकाल्ने प्रयासमा जुटिरहेका छन् ।
इजरायली आपतकालीन सेवा मगेन डाभिद अदोम (एमडिए) का अनुसार बटयाम सहरमा १० वर्षीया बालिका, ६९ वर्षीया महिला र ८० वर्षीया महिलाको मृत्यु भएको छ । करिब १०० जना मानिस घाइते भएका छन् ।
इजरायली सञ्चारमाध्यमका अनुसार उत्तर इजरायलको टामरा सहरको एउटा बस्तीमा आक्रमण हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।
इजरायली रक्षा बल (आइडिएफ) ले अहिले केही मध्य र उत्तरी क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँ छाड्न अनुमति दिएको जनाएको छ ।
यसअघि आइडिएफले सतर्कताबारे सूचना पाउनासाथ सुरक्षित ठाउँमा जान र थप सूचना नआएसम्म त्यहीँ बस्न भनेको थियो ।
देशभरका विभिन्न स्थानमा प्रहार भएका मिसाइलको खोज र उद्धारको कामका लागि टोली पठाइएको आइडिएफले जनाएको छ ।
यता, इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्सले शनिबार रातिको आक्रमणसम्बन्धी एक वक्तव्य सार्वजनिक गरेको छ ।
कर्प्सका अनुसार इजरायलका लडाकु विमानको इन्धन उत्पादन गर्ने कारखाना र ऊर्जासम्बन्धी केन्द्रलक्षित थिए । वक्तव्यमा यदि इजरायली हमला जारी रह्यो भने इरानको प्रत्याक्रमण झन् तीव्र हुने भनिएको छ ।
कर्प्सले इरानमाथि प्रहार गरिएका तीन क्रुज मिसाइल, १० ड्रोन र दर्जनौँ साना युएभी (मानवरहित हवाई सवारी) नष्ट गरिएको दाबी गरेको छ । (एजेन्सी