तेहरान । इरानको आणविक र सैन्य सुविधालाई लक्षित गरी इजरायलले गरेको आक्रमणपछि इरानले शनिबार इजरायलमा जवाफी आक्रमण गरेको छ ।
शनिबार इजरायली सेनाले बासिन्दालाई सुरक्षित आश्रयमा शरण लिन आह्वान गर्दै इरानबाट दर्जनौँ क्षेप्यास्त्र प्रहार गरिएको बताएको छ ।
इरानले इजरायलका दर्जनौँ लक्ष्यमा आक्रमण गर्दा तेलअबिबको डाउनटाउनका भवनमाथि धुवाँ उडिरहेको जनाएको छ ।
इजरायली अग्निशमन सेवाले आफ्नो टोलीले इरानी क्षेप्यास्त्र आक्रमणको प्रतिक्रियामा प्रतिक्रिया दिँदै भवनमा फसेका मानिसलाई उद्धार गर्ने काम गरिरहेको बताएको छ ।
इजरायली मिडिया रिपोर्टका अनुसार गुस दान क्षेत्रबाट ३४ जना घाइतेको उद्धार गरेको उद्धारकर्ताले बताएका छन् । उनीहरुका अनुसार तीमध्ये एक महिलाको उपचारको क्रममा मृत्यु भएको थियो ।
इरानको राजधानी तेहरानमा शनिबार मेहराबाद विमानस्थलबाट आगो र भारी धुवाँ निस्किएको जनाइएको छ भने स्थानीय मिडियाले उक्त क्षेत्रमा विस्फोट भएको रिपोर्ट गरेका छन् ।
यसअघि इरानले आफ्नो हवाई रक्षाप्रणाली सक्रिय गरेको र राजधानीभरि विस्फोटको आवाज सुनिएको बताएको थियो ।
दर्जनौँ मानिस आफ्नो देशको सैन्य प्रतिक्रियालाई उत्साहित गर्न तेहरानको सडकमा राष्ट्रिय झन्डा फहराउँदै इजरायल विरोधी नारा लगाएको जनाइएको छ ।
संयुक्त राष्ट्र सङ्घका लागि इरानी राजदूतले शुक्रबार इजरायलले गरेको आक्रमणमा ७८ जनाको मृत्यु हुनुका साथै ३२० जना घाइते भएको बताउनुभयो ।
आक्रमणपछि राष्ट्र सङ्घका प्रमुख एन्टोनियो गुटेरेसले दुई राष्ट्रलाई युद्धविराम गर्न आह्वान गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल एक्समार्फत युद्ध रोक्ने समय आएकाले कूटनैतिक समाधानको बाटोमा जानुपर्ने बताउनुभयो । (रासस/एएफपी)





