वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गरेपछि रुस–युक्रेनमाझ तत्काल शान्तिवार्ता सुरु गर्ने तर बिनाशर्त युद्धविरामको आह्वान अस्वीकार गरिएको समाचार आएको छ ।
रिपब्लिकन राष्ट्रपति ट्रम्पले चुनावी अभियानमा २४ घण्टाभित्र समाधान गर्ने वाचा गरेको द्वन्द्व अन्त्य गर्ने सम्झौताको खोजी गरिरहेको बेला उहाँले दुई घण्टाको कुराकानीलाई सफलताका रूपमा प्रस्तुत गर्नुभयो ।
रुसी राष्ट्रपति पुटिनले अधिक संयमित स्वर अपनाउनुभयो । उहाँले सन् २०२२ फेब्रुअरीमा मस्कोले सुरु गरेको युद्ध अन्त्य गर्नेतर्फको ज्ञापनपत्रमा काम गर्न किएभसँग तयार रहेको तर दुवै पक्षबाट सम्झौता गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
ओभल अफिसमा भड्किएको विवादपछि अमेरिकी राष्ट्रपतिसँगको सम्बन्ध सुल्झाउनुभएका युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले ट्रम्पलाई अलग्गै फोनवार्तामा हामीबिना कुनै पनि निर्णय नगर्न आग्रह गर्नुभयो ।
पुटिनले सम्झौता गर्न अस्वीकार गरेकोमा बढ्दो निराशा देखाउँदै ट्रम्पले द्वन्द्व अन्त्य गर्ने आशा पुटिनसँगको व्यक्तिगत सम्बन्धमा राख्नुभएको छ ।
‘मलाई विश्वास छ, यो कुराकानी धेरै राम्रो भयो’ सोमबार पुटिनसँगको कुराकानीपछि ट्रम्पले आफ्नो ट्रुथ सोसल नेटवर्कमा भन्नुभयो– ‘रुस र युक्रेनले तुरुन्तै युद्धविराम र अझ महत्त्वपूर्ण रूपमा युद्धको अन्त्यका लागि वार्ता सुरु गर्नेछन् ।’
पछि ट्रम्पले पुटिन युद्धविरामका लागि तयार रहेको आफूले सोचेको बताउनुभयो ।
‘मलाई लाग्छ, उहाँ यसलाई समाप्त पार्न चाहनुहुन्छ’ ट्रम्पले ओभल अफिसमा पत्रकारलाई भन्नुभयो– ‘यदि राष्ट्रपति पुटिन यसलाई समाप्त गर्न चाहनुहुन्न भन्ने मलाई लागेको भए, म यसबारे कुरा नै गर्दिनथेँ ।’ (रासस/एएफपी)