बेइजिङ । चिनियाँ विशाल प्रविधि कम्पनी साओमीले उच्चस्तरीय स्मार्टफोन चिप्स विकास गर्न ५० अर्ब युआन (६.९ अर्ब अमेरिकी डलर) लगानी गर्ने भएको छ ।
स्मार्टफोनदेखि भ्याकुम क्लिनर र विद्युतीय सवारी साधनसम्मका सामान बिक्री गर्ने साओमी चीनको सबैभन्दा प्रमुख उपभोक्ता लक्षित विद्युतीय फर्ममध्ये एक हो ।
स्थापनाको पन्ध्रौँ वर्ष मनाउँदै गर्दा संस्थापक लेई जुनले सामाजिक सञ्जालमा भन्नुभएको छ– ‘चिप्स निर्माण साओमीको लागि अत्याधुनिक प्रविधिमा अन्तर्निहित कामका लागि एउटा नयाँ मार्ग हो । त्यसैले यसको उत्पादनको नयाँ सुरुआतका लागि हामी निश्चित रूपमा सबै प्रयास गर्नेछौँ ।’
साओमीको सेमीकन्डक्टर बनाउने महत्त्वाकाङ्क्षालाई पछ्याउँदै फर्मले कम्तीमा १० वर्षको र ५० अर्ब युआन लगानी गर्ने योजना विकास गरेको छ ।
साओमीले सन् २०१७ मा कम्पनीको पहिलो आन्तरिक चिप सर्ज एस १ को उत्पादन गरेसँगै स्मार्टफोनका लागि सेमीकन्डक्टरमा प्रारम्भिक कदम चालेको थियो तर प्राविधिक र वित्तीय अवरोधका कारण समूहले चिपको उत्पादन रोक्न बाध्य भएको थियो र त्यसपछि यसले अन्य समानका साथै विद्युतीय सवारी साधनमा पुनः ध्यानकेन्द्रित गरेको छ ।
‘यो हाम्रो अँध्यारो इतिहास होइन । हामीले यात्रा गरेको बाटो यही हो’ लेईले सोमबार लेख्नुभयो ।
साओमीको चिप विकास कार्यक्रमले सन् २०२१ देखि दुई हजार ५०० भन्दा बढी कर्मचारीको टोलीका लागि अनुसन्धान र विकास कोषमा १३.५ अर्ब युआन प्राप्त गरेको अर्बपति उद्यमी लेईले बताउनुभयो ।
चीन र अमेरिका दुवैले सबैभन्दा उन्नत क्षेत्रमा पहुँच सुनिश्चित गर्न खोजिरहेका बेला यो घोषणा आएको हो।
‘साओमीले सधैँ चिप उत्पादनको सपना’ देखेको छ’ लेईले लेख्नुभएको छ– ‘म सबैलाई यस मार्गमा हाम्रो निरन्तर अन्वेषणलाई समर्थन गर्न थप समय र धैर्य दिन हार्दिक अनुरोध गर्दछु ।’
धेरै चिनियाँ फर्म विदेशी आपूर्तिकर्तामाथिको निर्भरताबाट आफूलाई मुक्त गर्ने उद्देश्यका साथ चीन आफ्नै चिप्स विकासका लागि पहल गरिरहेको छ ।
सन् २०२३ मा साओमी र यसको प्रतिस्पर्धी हुवावेले चिपले सुसज्जित उच्च प्रदर्शन स्मार्टफोन अनावरण गरेको थियो, जुन विशेषज्ञले विदेशी प्रविधिबिना उत्पादन गर्न असम्भव हुने बताएका थिए, जसले अमेरिकी प्रतिबन्धको प्रभावकारिताको बारेमा प्रश्न उठाएको थियो ।
‘यो कदमले क्वालकमजस्ता अमेरिकी कम्पनीसँग प्रतिस्पर्धा गर्न सक्षम नयाँ च्याम्पियनको उदय हुन सक्छ’ परामर्शदाता फर्म उबिकका सिइओ पास्कल वियाउडले भन्नुभयो ।
बेइजिङले कम्पनीलाई विदेशी प्रविधिमा निर्भरता घटाउन पनि दबाब दिएको छ ।
गत महिना चिनियाँ राष्ट्रपति सी चिनफिङले यस क्षेत्रमा आत्मनिर्भरता कायम गर्न आग्रह गर्नुभएको थियो । (रासस/एएफपी)